पाँच वर्षअघि प्रधानमन्त्री ओलीले ‘ब्रेक थ्रु’ गरेको भेरी-बबई डाइभर्सनको काम अझै सकिएन

पाँच वर्षअघि प्रधानमन्त्री ओलीले ‘ब्रेक थ्रु’ गरेको भेरी-बबई डाइभर्सनको काम अझै सकिएन

सुर्खेत : २०७६ वैशाख ३ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ‘ब्रेक थ्रु’ गरे। भेरीगंगा नगरपालिकास्थित उक्त आयोजनाको काम तीन वर्षभित्र सक्नुपर्ने सम्झौता थियो। तर, अहिले पाँच वर्ष बितिसक्दा पनि आयोजनाको काम सकिएको छैन। 

३३ अर्ब १९ करोड ६६ लाख रूपैयाँ लागत लाग्न यो आयोजनाको काम हालसम्म ६५.९ प्रतिशत मात्रै पूरा भएको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाका सूचना अधिकारी पवन अधिकारीले जानकारी दिए। 

उनका अनुसार आयोजना समयमै पूरा नहुनुमा निर्माण प्रक्रिया ढिला सुरू हुनु, सुरूङपछि मात्र बाँध बनाउन थाल्नु, कोरोना महामारी र इरानी कम्पनीसँगको सम्झौता रद्द गर्नु यी चार मुख्य कारण हुन्।
 
‘टिबिएम मेसिनबाट काम हुने यो नेपालको पहिलो आयोजना हो,’ उनले भने, ‘एक ठाउँमा जमिनको सतह कम भएकाले सुरूङ नै सफल हुन्छ कि हुन्न भन्ने भयो। सम्झौता रद्द हुँदा कर्मचारीलाई तलब खुवाउनै समस्या भयो। अबको दुई वर्षमा सक्ने योजना छ।’

चिप्लेबाट बबईतर्फको हात्तिखालदेखि भेरीतर्फको चिप्लेसम्मको १२.२ किलोमिटर सुरूङ टिबिएम (टनेल बोरिङ मेसिन) प्रयोग गरेर खनिएको थियो। सुरूङ निर्माण गर्ने चाइना ओभरसिज इञ्जिनियरिङ ग्रुप लिमिटेड कोभेकले सम्झौता मितिअगावै काम सकेको थियो। 

०७४ कात्तिक २० देखि सुरूङको काम थालेको निर्माण कम्पनीसँग २०७६ चैत १५ सम्म काम सक्ने सम्झौता भएपनि कम्पनीले एक वर्षअघि नै सुरूङ हस्तान्तरण गरेको थियो।

०७० सालमा सुरू हुनुपर्ने काम कम्पनीहरूकै अवरोधले अघि बढेन। ०७२ सालमा निर्माण कम्पनीसँग सम्झौता भयो। सम्झौता भएको एक वर्षसम्म सुरूङ खन्ने काम भएन। सुरूङको काम गरेको कोभेकलाई ठेक्का पर्नुअघि अनुभव नभएको कम्पनीलाई जिम्मा दिन लागेको भन्दै विरोध भएपछि समयमै सम्झौता भएन। 

तीनपटक बोलपत्र आह्वान गर्दा पनि सुरूका दुई पटक बोलपत्र स्थगित भए। ०७१ सालमा बोलपत्रमा कोभेक छनौट भयो। टनेल बोरिङ मेसिन प्रविधिमा काम नगरेका अनुभवहीन निर्माण कम्पनी छानेको भन्दै फेरि उजुरी पर्यो। यसरी एक वर्षसम्म आयोजनाको काम कार्यान्वयन गर्नेमा अन्योलता छाएको हो। 

०७२ सालमा सरकारले कोभेकसँगै सम्झौता गर्यो। त्यसपछि नियमित काम भइरहेपनि पछिल्ला वर्षहरूमा कोरोनाका कारण उक्त आयोजना काम दुई वर्षपछि धकेलियो।

कोरोनाअघि बाँध लगायतका काम गर्ने गरी ग्वाङडोङ युयानटियान रमण जेभी र आयोजनाबीच सम्झौता भयो। ०७६ साउन ३० मा चार वर्षभित्र काम सक्ने गरी फेरि सम्झौता भयो। तर, कोरोनाका कारण निरन्तर काम हुन सकेन। पछिल्लो पटक थपिएको म्याद अनुसार ०८२ असोज १ भित्र काम पूरा गर्ने उल्लेख छ।

केही वर्ष अघिसम्म भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणमा परामर्शदाताका रूपमा काम गरिरहेको इरानी कम्पनी कालोसूचीमा पर्दा आयोजनाले सम्झौता रद्द गर्नुपरेको थियो। ०७६ असोजमा इरानी कम्पनी महब घोड्स कन्सल्टिङ इञ्जिनियरिङसँगको सम्झौता ०७९ माघमा रद्द भएको थियो। 

तत्कालीन समयमा अमेरिकाले इरानलाई आतंकवादको सूचीमा राख्दै आफ्नो कोष विभाग अन्तर्गत विदेशी सम्पत्ति नियन्त्रण कार्यालयमार्फत् एमजिसिईलाई कालोसूचीमा राखेको थियो। त्यस कम्पनीको खाता कुनै पनि बैंकले नखोलिदिएपछि आयोजनाले सम्झौता रद्द गर्नुपर्ने बाध्यता थियो। भेरी-बबई डाइभर्सन आयोजना लम्बिनुमा यी कारणहरूको प्रभाव परेको सूचना अधिकारी पवन अधिकारीको भनाई छ।

त्यस्तै, सुरूङपछिको महत्वपूर्ण संरचना बाँध बनाउने काम अहिलेसम्म पनि आधा भएको छैन। आयोजना अन्तर्गतकै बबईतर्फको हात्तिखालमा विद्युत उत्पादन गृहका लागि जग खन्ने काम सकिएको छ। विद्युत गृहका लागि आवश्यक पाइप बिछ्याउन ब्लक खनिएका छन्। आयोजनाका अनुसार बाँधतर्फ बनाउनुपर्ने ६ वटा ढोकामध्ये दुईको काम अन्तिम चरणमा पुगेको छ। 

भेरीको पानी बबई नदीमा खसालेर बर्दिया र बाँके जिल्लाका ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिचाइँ उपलब्ध गराउने, यसबाट बाह्रै महिना ४६.८ मेगावाट विद्युत उत्पादन गर्ने आयोजनाको लक्ष्य रहेको छ।

 

पुष २०, २०८१ शनिबार १६:४६:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।