घरेलु मदिराले गाउँघरमा झैझगडा हुने कारण देखाएर रौतहटमा प्रहरीले भट्टी नष्ट गर्यो

घरेलु मदिराले गाउँघरमा झैझगडा हुने कारण देखाएर रौतहटमा प्रहरीले भट्टी नष्ट गर्यो

रौतहट : अवैध रुपमा उत्पादन हुँदै आएको घरेलु मदिरा तथा भट्टीहरू रौतहट प्रहरीले नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले गौर नगरपालिका-५ मा रहेको तीनवटा घरेलु मदिरा उत्पादन गर्ने भट्टी नष्ट गरेको हो। 

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक उमाशंकर प्रसादका अनुसार शनिबार बिहान ७ बजे गएको प्रहरी टोलीले भट्टी नष्ट गर्नुका साथै उत्पादनमा प्रयोग भएका सामान बरामद गरेको छ।

भट्टीबाट तयारी मदिरा ७ सय लिटर, कच्चा पदार्थ २ हजार ८ सय लिटर, मदिरा बनाउन प्रयोग हुने हण्डा चार थान डेक्ची ८ थान, स्टिलको बाल्टिन ३ थान, ग्यास सिलिन्डर ४ थान र चुल्होसहितका सामान बरामद गरिएको उनले जानकारी दिए।

बरामद गरिएका मदिरा तथा कच्चा पदार्थ स्थानीयको रोहबरमा नष्ट गरिएको उनको भनाइ छ। यस कार्यमा संग्लनहरू भागेकाले खोजी भइरहेको उनले बताए।

त्यस क्षेत्रमा अवैध रुपमा घरेलु मदिरा उत्पादन हुँदै आएको सूचनाका आधारमा भट्टीहरू नष्ट गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्राय घरेलु मदिराका कारण गाउँ घरमा झैझगडाका घटना हुने गरेकाले मदिरा र भट्टीहरू नष्ट गर्ने अभियानमा प्रहरी सक्रिय भएको उल्लेख गरेको छ।

पुष २०, २०८१ शनिबार १६:०५:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।