२८ हजार बिजुली मेगावाटका लागि ६५ खर्ब लगानी चाहिने

२८ हजार बिजुली मेगावाटका लागि ६५ खर्ब लगानी चाहिने

काठमाडौं : सरकारले तय गरेको २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादनका लागि ६५ खर्ब बराबरको लगानी आवश्यक रहेको छ। उक्त परिमाणको लगानी हुँदा ४० खर्ब बराबरको लगानी स्वदेशमै रहने छ। 

लालुपाते हाइड्रोपावर कम्पनीद्वारा प्रवर्द्धित ४९ दशमलव ९५ मेगावाट क्षमताको दानाखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनमा हस्ताक्षर समारोहमा बोल्दै स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले ठूलो मात्रामा लगानी हुँदा त्यसले सकारात्मक पार्ने बताए। 

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको उपस्थितिमा वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो। 

अध्यक्ष कार्कीले १० वर्ष भित्र स्वदेशी उत्पादन सिमेन्ट डन्डी लगायतका हाइड्रोपावर बनाउँदा चाहिने कच्चा पदार्थ र रोजगारीमा रु ४० खर्ब खर्च भइ नेपालकै अर्थतन्त्र माथि उठ्ने बताए।

पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा चार सय मेगावाट भारत निर्यात सम्झौताबाट सुरू भएको नेपालको अन्तर्देशीय विद्युत व्यापारको श्रृंखला पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यकालमा १० हजार मेगावाट निर्यात सम्बन्धी दीर्घकालीन सम्झौता भएको थियो। 

यस्तै, बंगलादेशमा ४० मेगावाट निर्यात सुरू भएको उल्लेख गर्दै उनले केही दिन पहिले मात्रै १५ हजार मेगावाट निर्यात उद्देश्यसहित २८ हजार पाँच सय मेगावाटको मार्गचित्र अघि बढाउँदा नेपालको ऊर्जा क्षेत्रको भविष्य सुन्दर देखाएको कार्कीले बताए।

लामो समयदेखि ४१ जलविद्युत आयोजनाको सार्वजनिक निष्कासनको निवेदन धितोपत्र बोर्डमा रोकिएको भन्दै उनले बैंकले पनि पैसा नदिने, इक्विटी ल्याउने सार्वजनिक निष्कासन पनि रोक्ने हो भने आयोजना बन्न नसक्ने सुनाए। 

त्यस आयोजनाका लागि नौ अर्ब ९६ करोड रुपैयाँ लगानी सुनिश्चित भएको छ। ७४ करोड स्थानीयमा शेयर जारी गरेर, एक अर्ब ७४ करोड सञ्चालकबाट र बाँकी बैंकबाट ऋण लगानी हुने छ। आयोजना मनाङको नासो गाउँपालिकामा विकास गरिनेछ। 

पुष २०, २०८१ शनिबार १५:४८:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।