सिड्नी टेस्टमा अस्ट्रेलिया एक सय ८१ रनमा समेटियो, ४ रनको अग्रता बनाएको भारतले पनि गुमायो तीन विकेट
एजेन्सी : अष्ट्रेलिया र भारतबीच सिड्नीमा जारी पाँचौं टेस्ट म्याचमा अष्ट्रेलियाले पहिलो इनिङ्समा भारतले दिएको १८५ रनको विरुद्धमा १८१ रन बनाएको छ।
यसरी भारतले अस्ट्रेलियामाथि चार रनको अग्रता लिएको छ। अस्ट्रेलियाका लागि वेबस्टरले सर्वाधिक ५७ रन बनाए भने सिटीभान स्मिथले ३३ रन बनाए।
अस्ट्रेलियाका पाँच ब्याट्सम्यान बाहेक कसैले दोहोरो अंक छुन सकेनन्।
भारतका लागि मोहम्मद सिराज र प्रसिद कृष्णले तीन-तीन विकेट लिए भने जसप्रित बुमराह र नितिश कुमार रेड्डीले दुई-दुई विकेट लिए।
लन्चपछिको एक ओभर सकिएलगत्तै बुमराहले मैदान छाडेका थिए। उनलाई चोट लागेको हुनसक्ने देखिएको छ।
उनको अनुपस्थितिमा विराट कोहलीले टोलीको नेतृत्व गर्नेछन्। अस्ट्रेलियाविरुद्धको पाँच खेलको शृङ्खलामा अस्ट्रेलिया २-१ ले अगाडि छ।
सिरिजको अन्तिम खेलमा नियमित कप्तान रोहित शर्मालाई ड्रप गरेर उनको स्थानमा जसप्रित बुमराहलाई कप्तान बनाएको थियो।
दोस्रो इनिङ्सका लागि आएको भारतले १४ ओभरमा तीन विकेट गुमाएर ६८ रन बनाएको छ।
पुष २०, २०८१ शनिबार ११:२२:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।