सूचीकृत नै नभएका स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गर्न खोजिएपछि अदालतमा मुद्दा
काठमाडौं : इजरायल जाने सहयोगी कामदारको स्वास्थ्य परीक्षण सूचीकृत नै नभएका पाँच वटा स्वास्थ्य संस्थामा गर्न खोजिएपछि अदालतमा मुद्दा परेको छ।
स्वास्थ्य परीक्षण संस्थामा संलग्न सूचीकृत व्यवसायीहरू रमेश आचार्य, कृष्ण प्रसाद बजगाई र निराजन कँडेलले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसमेतलाई विपक्षी बनाएर उच्च अदालत पाटनमा मुद्दा दायर गरेका हुन्।
अदालतले कारण देखाऊ आदेशका साथमा विपक्षीहरूसँग लिखित जवाफ माग गरेको छ।
रिटमाथि सुनवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीश नारायण प्रसाद रेग्मीको एकल इजलासले कारण देखाउ आदेशसहित लिखित जवाफ माग गरेको हो। यो विवादमा अब उच्च अदालतमा पुस २२ गते सुनुवाइ हुनेछ।
वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि ‘स्वास्थ्य संस्था सूचीकरण नविकरण तथा अनुगमन सम्बन्धी कार्यविधि २०७२’ अनुसार हाल एक सय ९४ वटा स्वास्थ्य संस्थाहरू सूचीकृत रहेका छन्।
सोहीअनुसार इजरायलमा जानका लागि चिठ्ठा प्रणालीबाट छनोट भएका नेपाली सहयोगी कामदारहरूको सूचीकृत स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराइनुपर्ने भए पनि वैदेशिक रोजगार विभागले सूचीकृत नै नभएका अस्पतालमा स्वास्थ्य परीक्षण गराउन भन्दै सूचना निकालेपछि विवाद उत्पन्न भएको हो।
पुष २०, २०८१ शनिबार ०९:३५:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।