५९ लाख मेट्रिक टन धान उत्पादन हुने प्रारम्भिक अनुमान

५९ लाख मेट्रिक टन धान उत्पादन हुने प्रारम्भिक अनुमान

काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा ५९ लाख ५५ हजार चार सय ७६ मेट्रिक टन धानबाली उत्पादन हुने प्रारम्भिक अनुमान गरेको छ। 

गत आवको तुलनामा चार दशमलव ०४ प्रतिशतले बढी उत्पादन हुने मन्त्रालयका प्रवक्ता डा मतिना जोशी वैद्यले जानकारी दिइन्। 

'वर्षे र चैते दुवै गरी कूल १४ लाख २० हजार छ सय ३६ हेक्टर क्षेत्रफलमा धान लगाइएको अनुमान छ जुन गत आवको तुलनामा एक दशमलव २८ प्रतिशतले कम हो, उनले भनिन्। 

औसत उत्पादकत्व चार दशमलव १९ मेट्रिक टनप्रति हेक्टरमा पुगी हालसम्मको उच्च बिन्दु कायम भएको छ। प्रदेशगत रुपमा कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा धान उत्पादन वृद्धि भएको छ। बाँकी तीन प्रदेशमा उत्पादन वृद्धि नकारात्मक रहन गएको मन्त्रालयले जनाएको छ। 

पछिल्लो विश्लेषणअनुसार रुकुम (पश्चिम) मा धान बाली लगाइएको क्षेत्रफल गत वर्षको तुलनामा कम हुँदा समग्र कर्णाली प्रदेशको उत्पादनमा कमी आएको हो। 

त्यसैगरी नवलपरासी (पूर्व) केही भागमा वर्षे धानको बाला नलाग्ने समस्या देखा परी उत्पादनमा कमी आएको र लमजुङमा धानबालीको क्षेत्रफलमा कमी हुँदा उत्पादन घटेको प्रवक्ता वैद्यले जानकारी दिइन्। पछिल्ला वर्षमाझैँ यसवर्ष पनि चैते धानको उत्पादकत्व वर्षे धानको तुलनामा बढी छ। 

चालु आवमा मनसुन औसतभन्दा तीन दिन अगाडि सक्रिय भएको र सो अवधिमा औसत वर्षा गत आवको तुलनामा उच्च हुँदा वर्षे धान उत्पादनलाई सहयोग पुगेको मन्त्रालयले जनाएको छ। रासायनिक मल र उन्नत जातको धानको बीउ आयात गत वर्षको सोही अवधिको तुलनामा वृद्धि हुँदा पनि धान उत्पादन वृद्धि भएको जनाइएको छ।  

पुष १९, २०८१ शुक्रबार २१:५९:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।