सूर्यदर्शन सहकारी ठगी : आइतबार जोशीको पक्षबाट बहस सकिएपछि रविका कानुन व्यवसायीहरूले बहस थाल्ने

सूर्यदर्शन सहकारी ठगी : आइतबार जोशीको पक्षबाट बहस सकिएपछि रविका कानुन व्यवसायीहरूले बहस थाल्ने

गण्डकी : पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनचेक बहस जिल्ला अदालत कास्कीमा जारी छ। आजदेखि प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस सुरू भएको कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए। 

उनका अनुसार प्रतिवादी लीला पछाइ र छविलाल जोशी पक्षका कानुनी व्यवसायीहरूले आज बहस गरेका हुन्। पछाइ र जोशीको बहस अझै नसकिएको श्रेस्तेदार खनालले बताए। 

यसअघि सरकारी वकिल र जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले उक्त मुद्दामा बहस गरेका थिए। प्रतिवादीहरूको बयान सकिएलगत्तै जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा मङ्गलबारदेखि थुनछेक बहस सुरू भएको थियो। 

जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जाहेरवालाका तर्फबाट कानुन व्यवसायीको बहस सकिएपछि प्रतिवादी पक्षका कानुन व्यवसायीको बहस सुरू भएको बताइन्। 

'प्रतिवादीतर्फका कानुन व्यवसायीहरूको बहस सकिएपछि पुनः हाम्रोतर्फबाट जवाफी बहस सुरू हुन्छ, उनले भनिन्। 

थुनछेक बहसपछि प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ। आइतबार जोशीको पक्षबाट बहस सकिएपछि रविका कानुन व्यवसायीहरूले बहस थाल्ने बताइएको छ। 

सभापति लामिछानेसहित उक्त सहकारी ठगीको मुद्दामा जोडिएका पूर्वडिआइजी छविलाल जोशी, लीला पछाइ, कृष्णबहादुर गुरूङ, रामबहादुर खनाललगायतमाथि थुनछेक बहस भइरहेको हो। 

यही पुस ७ मा जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरूद्ध मुद्दा दायर गरेको थियो। लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ। 

सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरूद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ। सभापति लामिछानेसहित १९ जनाविरूद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ। 

यस्तै, लामिछानेसँगै खनाल, जोशी र पछाइविरूद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ। सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुर अनुसारको बिगो र सजायको मागसहित मुद्दा दर्ता गरिएको छ।

सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा रास्वपा सभापति लामिछाने गत कात्तिक २ मा काठमाडौंबाट पक्राउ परेका थिए। उनीमाथि कास्की, चितवन, रूपन्देहीसहित अन्य जिल्लामा समेत सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ।  

तत्कालीन समयमा आफू सञ्चालक तथा प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत रकम गोर्खा मिडिया नेटकर्वमा ल्याई अपचलन गरेको आरोप रास्वपा सभापति लामिछानेमाथि लागेको छ। 

पुष १९, २०८१ शुक्रबार २१:५२:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।