उकेरा टप फाइभ : १८ करोडको तीन टेण्डर खरिदमा मिलेमतोदेखि गायक ओमविक्रमको हिजोको कुरासम्म
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको औचित्य स्थापित गर्न र सेवामा प्रभावकारिता दिन महिला जनप्रतिनिधिहरूले सक्रिय भूमिका निर्वाह गरेको बताएका छन्। कल्प संस्थाद्वारा आज आयोजित जनप्रतिनिधिहरूको सम्मान ‘शी लिड्स आइकन’ कार्यक्रममा प्रधानमन्त्री ओलीले नगरपालिका र गाउँपालिकाको इज्जत धान्ने र औचित्य स्थापित गर्ने काममा महिला जनप्रतिनिधिले अगुवाइ गरेको बताए। हिजो छोरीहरूको साक्षरताको स्तर माथि आउन नसकेकामा आज महिलाहरू शासन गर्ने ठाउँमा पुग्नु राजनीतिक परिवर्तनको उपलब्धि भएको उनको भनाइ थियो।
संसद्को प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले सङ्घीय संसद्को बैठक बोलाउन आग्रह गरेको छ। पेरिसडाँडास्थित पार्टी कार्यालयमा आज बसेको स्थायी समिति बैठकले संसद् बैठक बोलाउने विषयमा आलटाल गरिएको भन्दै संसद्को बैठक बोलाउन दबाब सृजना गर्ने निर्णय गरेको छ। संसद्को बैठक बोलाउने सवालमा ढिलासुस्ती गरेको बारेमा बैठकमा छलफल भएको र जसका कारण लोकतन्त्रमाथि नै गम्भीर समस्या पैदा भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सामाजिक अभिभावक भएर रहन सुझाव दिएका छन्। शुक्रबार राजधानीमा भएकाे एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्वारा लिखित ‘आमा, सपना र ताराहरू’ लोकार्पण कार्यक्रममा उनले घुमाउरो तरिकाबाट राजनीतिमा नफर्कन भन्दै सामाजिक रूपान्तरणको नायक बन्न सुझाव दिए।
कर्णाली प्रदेश सरकारले दलित समुदायको सशक्तीकरण र जीवनस्तर प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई यथाशीघ्र समितिमा छलफल गरी अगाडि बढाउने लगायतका १८ वटा निर्णय गरेकाे छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले कर्णाली प्रदेश सभा सचिवालयमा दर्ता भएको दलित सशक्तीकरण विधेयक प्रदेश सभाको चौथो अधिवेशन अन्त्य भई बैठक सञ्चालन नभएको अवस्थामा सभाको अधिवेशन सुरू गरेर समितिलाई पूर्णता दिएर काम अघि बढाउने निर्णय गरेकाे भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री एवं सरकारका प्रवक्ता विनाेदकुमार शाहले जानकारी दिए।
भारतले तिब्बतको माथिल्लो भागमा निर्माण गर्न लागिएको विशाल जलविद्युत् बाँध परियोजनाबारे चीनसँग चिन्ता व्यक्त गरेको र ‘हाम्रो हितको रक्षाका लागि आवश्यक निगरानी र उपायहरू अपनाउने’ बताएको छ। यदि निर्माण भएमा यो बाँधले मध्य चीनको याङ्जी नदीमा रहेको रेकर्ड तोड्ने थ्री गर्जेस बाँधलाई उछिन्नेछ र यसले भारत र बङ्गलादेशका तल्लो तटीय क्षेत्रका लाखौं मानिसलाई सम्भावित गम्भीर असर पर्नेछ। तिब्बतको यसलाई विश्वको सबैभन्दा लामो नदी यार्लुङ साङ्पोमा बाँध भनेको छ।
अब आज उकेरामा प्रकाशित टप पाँच समाचार:
मंसिर २३ मा स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले करिब चार करोडमा दुई वटा ‘४के–३डी ल्याप्रोस्कोपीक स्टिम’, सात करोड २० लाखमा २५ सेट ‘ऐनस्थेसिया मेसिन’ र सात करोड २० लाखमा ‘सिटीजी एन्ड इलेक्ट्रो सर्जिकल युनिट’ खरिदका लागि टेन्डर आव्हान गरेको थियो।
उकेराको अध्ययनमा करिब १८ करोडको तीन वटै टेन्डर निश्चित मेडिकल उपकरणका व्यापारीलाई दिनेगरी मिलेमतोमा प्रक्रिया अगाडि बढेको देखियो। अनि विभाग अन्तर्गतको स्वास्थ्य उपकरण तथा सामग्री खरिदको मिलेमतो भत्काउन पुगेका डा. विकास देवकोटा र डा. पवनजंग रायमाझी मिलेमतोमै मिसिए। पन्त मिलेमतो भत्काउन निष्क्रिय।
व्यवस्थापन महाशाखाकै आपूर्ति व्यवस्थापन शाखामा दीपक अधिकारी अनि बायोमेडिकल इन्जिनियर आशिष चौहान विभागमा हिजोका दिनमा हुने खरिद मिलेमतोमा पनि संलग्न देखिएका थिए। अहिले निस्किएको तीन वटै टेन्डर प्रक्रियामा पनि उनीहरू संलग्न देखिए।
पूरा समाचार: १८ करोडको तीन टेण्डरका खरिद मापदण्डमा निश्चित कम्पनीको क्याटलगै कपिपेष्ट, स्वास्थ्य विभागदेखि महाशाखा प्रमुखसम्मको मिलेमतो
पप सम्राटको उपाधि पाएका चर्चित गायक हुन्- ओमविक्रम विष्ट। सानैबाट गायनमा रुचि भएका उनी विद्यालय तहदेखि नै गाइरहन्थे। रैनाथे र लोक गीत भन्दा पनि फरक किसिमका गीत सुन्न र गाउन रुचाउँथे उनी। त्यही क्रममा विद्यालयमा भएका कार्यक्रमहरूमा पनि गीत गाउँथे।
समयक्रमसँगै रेडियो नेपालमा जागिरे भएका विष्ट आधुनिक बाजा भित्र्याउनेमध्येका एक हुन्। उमेरले ६८ पुगेका उनी अझै गीतसंगीतमै सक्रिय छन्। विष्ट यतिबेला आफ्नो नयाँ गीति एल्बमको तयारीमा छन्। काठमाडौंको बाल्यकाल, रेडियो नेपालको जागिर र पप गायनका विषयका आफ्ना छ दशक लामो अनुभव उनले उकेराको नियमित कोलम ‘हिजोका कुरा’मा यसरी सम्झिए :
पूरा समाचार: गायक ओमविक्रम विष्टको हिजोको कुरा : बेकारमा राजा बदनाम भए, खास निरंकुश त कर्मचारी थिए
हालै सम्पन्न नेपाल प्रिमियर लिग भव्य रूपमा सम्पन्न भयो। तर त्यसको आर्थिक पक्ष अझैँ पारदर्शी रूपमा सार्वजनिक भएको छैन। आयोजक क्यानले कुन कम्पनीसँग कतिमा सम्झौता गरेको हो त्यो समेत खुलाउन सकेको छैन। त्यसमा पनि कानुन मिचेर मैदानमै अनलाइन जुवा खेलाउने कम्पनीको सरोगेट ब्रान्डको विज्ञापन राखेर क्यान सचिव पारस खड्काले कूनियत देखाए। अर्कोतिर सर्वोच्च अदालतले तत्काल निर्वाचन नगर्नु भन्दाभन्दै जीवनराम श्रेष्ठले नेपाल ओलम्पिक कमिटीको निर्वाचन सम्पन्न भएको भन्दै आफैंलाई तेस्रो पटक अध्यक्ष घोषित गरे।
खेल क्षेत्रको भौतिक पूर्वाधार निकै कमजोर छ। लिंगको आधारमा खेलाडीको सुविधामा विभेद छ। खेलमा भविष्य नदेखेर खेलाडी विदेश पलायन हुनेक्रम बढेको छ। यी नै विषयमा खेलकुदमन्त्री तेजुलाल चौधरीसँग उकेराकर्मी अमृत पुडासैनीले गरेको विशेष संवाद :
पूरा समाचार: ‘एनपीएलमा आएको वुल्फ जुवाको सरोगेट कम्पनी हैन भनेर पारसले झुक्काए, अब त्यस्तो हुन दिन्न’
अहिले महेशराज ८० वर्ष कटे अनि भाइ दिनेशराज ७०। दुवैले जागिरबाट अवकाश त पाए तर सानैदेखिको पढ्ने र लेख्ने बानीबाट अवकाश लिने सुर दुवैमा छैन। उनीहरूमा त बाबु नयराज पाण्डेले जति पढ्न नसकेकोमा थकथक छ यो उमेरमा पनि। उकेराले उनीहरूसँग छुट्टाछुट्टै कुरा गर्दा दुवैको एकै भनाइ थियो- ‘शरीरले साथ दिएसम्म खोज्ने, पढ्ने अनि लेख्ने।’
पूरा समाचार: इतिहासका दुई हीरा
प्रहरीले महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ गर्ने प्रहरीको प्रयास विफल भएको छ। करिब छ घण्टा लामो सङ्घर्षपछि दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योललाई पक्राउ गर्ने प्रहरीको कदम रोकिएको छ। युनको सुरक्षामा रहेको सेनाको टोलीले मानव पर्खाल बनाएर पक्राउ गर्न आएका प्रहरीको बाटो छेकेको कोरियाली समाचार संस्था योन्हापले जनाएको छ। युनको सुरक्षा दस्ता तथा दक्षिण कोरियाली सेनाले प्रहरीलाई रोक्नका लागि बाटोमा सवारी साधन समेत तेर्स्याएको थियो।
पूरा समाचार: सेनाले बाटोमा सवारी साधन तेर्स्याएपछि प्रहरीले दक्षिण कोरियाका निलम्बित राष्ट्रपतिलाई पक्राउ गर्ने सकेन
पुष १९, २०८१ शुक्रबार २१:२५:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।