‘मिसिङ : केटी हराएको सूचना’को गीत रिलिज कार्यक्रममै गएनन् मुख्य कलाकार नाजिर र सृष्टि
काठमाडौं : फिल्म प्रचारप्रसारका लागि कलाकारहरूको मुख्य भूमिका रहन्छ। तर कलाकार नै आएनन् भने कार्यक्रम कस्तो होला? यस्तै भयो आगामी माघ ११ देखि रिलिज हुने फिल्म ‘मिसिङ : केटी हराएको सूचना’को गीत ‘सपनीमा’ बोल गीत रिलिज कार्यक्रममा। फिल्मका मुख्य कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठ नै उपस्थित भएनन्।
ललितपुरको पुल्चोकस्थित लबिम मलमा शुक्रबार फिल्ममा समावेश गीत ‘सपनी’मा रिलिज गर्दै पत्रकारमाझ प्रचारप्रसारको कार्यक्रम राखिएको थियो। तर, फिल्मका मुख्य कलाकार नाजिर नाटक ‘हरिहजुरबा’मा व्यस्त रहँदा उपस्थित भएनन्। यता, सृष्टि भने पारिवारिक भेटघाटका लागि युके पुगेको हुनाले उपस्थित भइनन्। बरू गीतका गायक गायिकाहरू आइदिए।
गीतकी गायिका इन्दिरा जोशी र करण परियार उपस्थित भएका थिए। उनीहरुले गीत गाउँदाको अनुभव सुनाए। करुण थापाले लेखेको तथा संगीत भरेको यो गीतलाई प्रमोसन स्वरूप हलमा रिलिज गरिएको थियो। गीतमा फणिन्द्र राईको एरेन्ज, प्रकाश मिश्रको एरेन्ज तथा दिल समर्पण र राजा बाबुको रेकर्डिङ रहेको जानकारी दिइयो।
यो फिल्मलाई दीपेन्द्र गौचनले लेखन तथा निर्देशन गरेका हुन्। ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो। फिल्ममा ३२ वर्षअघिको डकु–ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनको निर्देशन छ। उनले ‘हाम्रो मुमिन’ डकुड्रामाको पनि निर्देशन गरेका थिए।
फिल्ममा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ। फिल्ममा अमितेष शाह विशेष भूमिका छन्।
यही फिल्ममार्फत गीतकार थापा २० वर्षपछि पाश्र्व संगीतमा फर्किएका हुन्। यसअघि उनको गीत ‘आगो लाग्यो दिलैमा’ र ‘बादल वर्षा बिजुली’ स्रोतामाझ चलेको थियो।
यस फिल्ममा नकिम उद्दिन कार्यकारी निर्माता रहेका छन् भने मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन,सञ्जय भट्टचन सह-कार्यकारी निर्माता हुन्।
पुष १९, २०८१ शुक्रबार २०:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।