देशभरका सिडिओ र सुरक्षा प्रमुखलाई गृहमन्त्रीको निर्देशन 'परिणाममुखी काम गर्नुस्'

देशभरका सिडिओ र सुरक्षा प्रमुखलाई गृहमन्त्रीको निर्देशन 'परिणाममुखी काम गर्नुस्'

काठमाडौं : गृहमन्त्री रमेश लेखकले सीमित स्रोत र साधनकाबीच परिणाममुखी काम गर्न मुलुकभरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन्।

गृह मन्त्रालयले शुक्रबार आयोजना गरेको जिल्ला सुरक्षा समितिसितको भर्चुअल बैठकमा बोल्दै गृहमन्त्री लेखकले लागूऔषध नियन्त्रण, आत्महत्या न्यूनीकरण तथा सवारी दुर्घटना न्यूनीकरण चुनौतीका रुपमा रहेको बताउँदै सीमित स्रोत साधनकाबीच पनि गम्भीर भएर काम गर्न निर्देशन दिए।

‘अहिले चुनौतीका रुपमा देखा परेका तीनवटै विषय एक-अर्कासित सम्बन्धित छन्’ उनले भने, ‘त्यसको न्यूनीकरणका लागि प्रदेश र स्थानीय तहसित पनि समन्वय गरेर लाग्नुहोस्।’

उनले सीमामा हुने अपराध, चोरीशिकारी नियन्त्रण, भ्रष्टाचार न्यूनीकरण र आर्थिक अनियमिततामा शून्य सहनसिलताको नीति अपनाउन आग्रह समेत गरे।

मन्त्रालयले कानूनी, नीतिगत र संरचनात्मक सुधारका कामहरू अगाडी बढाएको बताउँदै मन्त्री लेखकले सोही अनुसार कामको गुणस्तर बढाएर जानुपर्नेमा जोड दिए।

‘शान्ति सुरक्षाको गम्भीर जिम्मेवारी हामीसित छ’ उनले भने, ‘विकास, समृद्धि र लोकतन्त्रको दीर्घ जीवनका लागि शान्ति सुरक्षा हुनैपर्छ।’

त्यसैगरी गृहसचिव गोकर्णमणि दुवाडीले नतिजा देखिने गरी काम गर्न निर्देशन दिए। उनले सेवाप्रवाह प्रभावकारी बनाउन जोड दिँदै गुनासोरहित सेवाप्रवाहमा ध्यान दिन जोड दिए।

भर्चुअल बैठकमा सुरक्षा निकायका प्रमुख, गृहमन्त्रालयको विभिन्न महाशाखाका प्रमुख र देशभरका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला सुरक्षा समितिका पदाधीकारीहरु सहभागी थिए। 

पुष १९, २०८१ शुक्रबार १९:०५:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।