चिसो बढेपछि चोकचोकमा दाउरा वितरण
काठमाडौं : कैलालीको टीकापुर क्षेत्रमा चिसो बढेपछि चोकचोकमा दाउरा वितरण थालिएको छ। विभिन्न संघसंस्था र सामुदायिक वन मिलेर चोकचोकमा आगो ताप्ने व्यवस्था मिलाउन थालिएको हो।
तराई क्षेत्रमा विगत पाँच दिनयता चिसो बढेको छ। हुस्सु, कुहिरो तथा शीतलहरले जनजीवन कष्टकर भएपछि एमाले नगर कमिटीले भुराखानी सामुदायिक वनसँग रूखका जरा मागेर बजार क्षेत्रका चोकचोकमा आगो ताप्ने व्यवस्था मिलाएको छ।
एमालेका नगर अध्यक्ष लक्ष्मण थापाले पार्टीले ट्याक्टर र जेसिबीको सहयोगमा सामुदायिक वनसँग दाउरा मागेर बजारका केही चोकमा आगो ताप्ने व्यवस्था मिलाएको बताए।
भुराखानी सामुदायिक वन कार्यालयका सचिव बलबहादुर विकले सर्वसाधारणलाई आगो ताप्ने व्यवस्था मिलाउँछौं भनी माग भएपछि दाउरा उपलब्ध गराइएको बताए।
टीकापुर नगरपालिका-४ ले पनि आफ्नो वडामा रहेका चोकहरुमा आगो ताप्ने व्यवस्था मिलाएको छ। ढलेका रूख र रूखका जरा खनेर चोकचोकमा दाउरा वितरण गर्न थालिएकोे वडाध्यक्ष लालवीर चौधरीले बताए।
'माघी पर्वको पूर्वसन्ध्यामा गाउँगाउँमा मुढा बाल्ने चलन छ। चिसो बढेकाले नागरिकलाई राहत होस् भनी दाउरा वितरण गर्न थालेका हौं, उनले भने।
यस्तै, टीकापुर-७ स्थित सत्ती कर्णाली सामुदायिक वनले समेत ज्येष्ठ नागरिक उपभोक्तालाई दाउरा वितरण गर्ने तयारी गरेको छ। अध्यक्ष जीतराम चौधरीका अनुसार विगतका वर्ष झैँ यस वर्ष पनि सामुदायिक वनमा रहेका रूखका जरा निकालेर दाउरा वितरण गरिनेछ।
'गत वर्ष ७० चोकमा दाउरा वितरण गरेका थियौं। यस वर्ष पनि तिनै ठाउँमा दाउरा दिइनेछ। चिसो बढेकाले वनसँगै जोडिएका गैरउपभोक्तालाई पनि दाउरा उपलब्ध गराउने गरेका छौं, उनले भने।
चोकचोकमा आगो बालेमा बाटोमा हिँड्ने नागरिकलाई समेत सुविधा हुने स्थानीय बताउँछन्।
पुष १९, २०८१ शुक्रबार १५:५२:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।