२०२४ ले गुमाएका चर्चित व्यक्तित्व : अमेरिकी पूर्वराष्ट्रपति कार्टरदेखि भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहसम्म

२०२४ ले गुमाएका चर्चित व्यक्तित्व : अमेरिकी पूर्वराष्ट्रपति कार्टरदेखि भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहसम्म

काठमाडौं : वर्ष २०२४ लाई विभिन्न कारणले सम्झना गरिनेछ। यो वर्षले धेरै राम्रा कामको सुरुआत गरेको छ। कतिपय घटनाले सुखद कार्यलाई सम्झनामा सीमित गर्दै तिनलाई केवल निर्मम इतिहासमा बदलिदिएको छ। यस्ता घटना जसले सन् २०२४ मा संसार छोडेका केही महत्त्वपूर्ण व्यक्तित्वको नाम यहाँ प्रस्तुत गरिएको छ : 

जिमी कार्टर
अमेरिकाका ३९औं राष्ट्रपति जिमी कार्टरको एक सय वर्षको उमेरमा सन् २०२४ डिसेम्बर ३० मा निधन भएको छ। वाटरगेट काण्ड र भियतनाम युद्धपछि राष्ट्रपति पद जित्ने बदाम किसान जिमी कार्टरले ह्वाइट हाउसको कार्यकालपछि विश्वव्यापी मानवतावादीको रूपमा जीवनलाई पुनः परिभाषित गरेका थिए। 

सबैभन्दा लामो समयसम्म बाँचेका अमेरिकी राष्ट्रपतिको जर्जियाको सानो शहर प्लेन्समा ‘होस्पिस केयर’मा प्रवेश गरेको लगभग २२ महिनापछि निधन भएको हो। प्लेन्समा उनी र उनकी श्रीमती रोजालिनले आफ्नो जीवनको अधिकांश समय बिताएका थिए। रोजालिनको भने सन् २०२३ नोभेम्बरमा ९६ वर्षको उमेरमा निधन भएको थियो।

कार्टर सेन्टरका संस्थापक, पूर्व अमेरिकी राष्ट्रपति जिमी कार्टरको आफ्नो परिवारबीच उमेरजन्य समस्याका कारण शान्तिपूर्वक निधन भएको उल्लेख छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले कार्टरको निधनबाट विश्वले एक ‘असाधारण नेता, राजनीतिज्ञ र मानवतावादी’ नेतृत्व गुमाएको र आफूले एक प्रिय मित्र गुमाएको बताएका थिए। रोग उन्मूलन, शान्ति स्थापना, नागरिक र मानव अधिकारलाई अगाडि बढाउन, विश्वभर स्वतन्त्र र निष्पक्ष चुनावलाई बढावा दिन र घरबारविहीनहरूलाई सहयोग गर्ने कामका लागि विश्वले उनलाई सम्झिरहनेछ। 

कार्टरले आफ्नो महत्त्वाकांक्षालाई गहिरो बुद्धि, गहिरो धार्मिक विश्वास र विलक्षण कार्य नैतिकताका साथ प्रयोग गरे। उनले आफ्नो ८० को दशकमा कूटनीतिक मिसनहरू सञ्चालन गरेका थिए र ९० को दशकमा गरिबहरूका लागि घरहरू निर्माण गरेका थिए। 

सन् १९२४ अक्टोबर १ मा जन्मिएका कार्टर अमेरिकी राजनीतिज्ञ, लेखक र डेमोक्रेटिक पार्टीका सदस्य रहेका थिए। उनले सन् १९७७ देखि १९८१ सम्म संयुक्त राज्य अमेरिकाको ३९औँ राष्ट्रपतिको रूपमा काम गरेका थिए। उनलाई सन् २००२ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो। 

अल्बर्टो फुजिमोरी
मानवअधिकार हनन र भ्रष्टाचारको अभियोगमा दोषी ठहर भएका पेरुका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरीको सेप्टेम्बर २१ मा निधन भयो। क्यान्सरसँगको लामो लडाइँपछि पूर्वराष्ट्रपति फुजिमोरीको निधन भएको हो। उनको जिब्रोमा क्यान्सर भएको थियो। सन् १९९० देखि २००० सम्म पेरुमा शासन गरेका फुजिमोरी भ्रष्टाचारको आरोपका कारण सत्ताबाट बाहिरिन बाध्य भएका थिए। 

राष्ट्रपति रहँदा उनले वामपन्थी गुरिल्ला विद्रोहविरुद्ध कडा अडान लिएका थिए। त्यसलाई कतिपयले मानवअधिकार उल्लङ्घनको आरोप लगाएका थिए। तर विद्रोहीहरूले सत्ता कब्जा गर्ने सम्भावना देखिएका बेला फुजिमोरीले पराजित गरेको भन्दै उनको प्रशंसा गर्ने समूह पनि गरिन्छ।   

एलेक्सी नभाल्नी
रूसमा पछिल्लो दशक सबैभन्दा प्रखर प्रतिपक्षी नेताको छवि बनाएका एलेक्सी नभाल्नीको सन् २०२४ फेब्रुअरी १८ मा जेलमा निधन भएको रूसी कारागार प्रशासनले जनाएको थियो। रूसी राष्ट्रपतिका सबैभन्दा कडा आलोचक मानिएका नभाल्नीलाई १९ वर्षको जेल सजाय सुनाइएको थियो। कतिपयले उनलाई लगाइएका अभियोगहरू राजनीतिक रूपमा प्रेरित भएको ठानेका थिए। उनको मृत्यु हुनुभन्दा करिब एक वर्ष पहिले मात्रै रूसको निकै कठोर जेलमध्येको आर्कटिक पेनल कोलोनीमा सारिएको थियो। 

नभाल्नीको मृत्यु भएको भन्दा एक दिनअघि फेबु्रअरी १७ मा उनी अदालती सुनुवाइको क्रमको एक भिडिओमा देखा परेका थिए। त्यसबेला उनी ठिकै देखिनुका साथै हाँसिरहेको देखिएको नभाल्नीका समर्थकहरूले दाबी गरेका छन्। जेल प्रशासनले नभाल्नी फेब्रुअरी १६ मा यात्राका क्रममा अचेत भएको र उपचारका लागि तत्कालै आपत्कालीन सेवालाई खबर गरिए पनि बचाउन नसकिएको बताइएको थियो।
 
नभाल्नीलाई सन् २०२० को अगस्टमा स्नायुमा असर गर्ने नोविचोक नामक सोभियतकालीन विषाक्त पदार्थद्वारा आक्रमण गरिएको थियो। साइबेरियाबाट मस्को जाने उडानमा रहेका बेला उनी बिरामी परेपछि जहाजले आपत्कालीन अवतरण गर्नुपरेको थियो। त्यसपछि जर्मनीमा उपचार गराएर रूस फर्किएलगत्तै पक्राउ परेका नभाल्नी मृत्युपर्यन्त रूसी हिरासतमा थिए। नभाल्नीले आफूमाथि स्नायु विष हमला भएकोबारे लगाएको आरोप सही भएको केही खोज पत्रकारहरूको अनुसन्धानले देखाएको थियो।

नभाल्नी रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका सबैभन्दा कडा आलोचक थिए। सत्चालिस वर्षको उमेरमा निधन भएका नभाल्नीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भ्रष्ट्र व्यक्ति भएको आरोप लगाउँदै आएका थिए। उनी भ्रष्ट्राचारविरोधी अभियानकर्ता पनि रहेका थिए। 

सन् २०१८ को राष्ट्रपतीय निर्वाचनमा उनी उम्मेदवार बन्न खोजेका थिए तर उनलाई आर्थिक हिनामिनाको आरोपमा उम्मेदवार बन्न दिइएन। नडराई बोल्ने ब्लगरका छवि बनाएका उनलाई सामाजिक सञ्जालमा लाखौँ रूसीले पढ्छन् र सन् २०२० मा उनका केही समर्थकहरू साइबेरियाको स्थानीय निर्वाचनमा निर्वाचित पनि भएका थिए। 

सन् २०२१ को फेब्रुअरीमा नभाल्नी सन् २०१४ मा सुनाइएको सजाय उल्लङ्घन गरेको आरोपमा जेल परेका थिए। उनलाई सन् २०२० मा आफ्नो अवस्थाबारे प्रहरीलाई नियमित खबर नगरेको आरोप लगाइएको थियो। साइबेरियामा भएको स्नायु एजेन्ट आक्रमणमा परेर आपत्कालीन उपचार गराइरहेको थाहा हुँदाहुँदै उनीमाथि यस्तो आरोप लगाइनु हास्यास्पद भएको उनका वकिलहरूले बताएका थिए। 

डा मनमोहन सिंह
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको बुढ्यौलीजन्य स्वास्थ्य समस्याका कारण सन् २०२४  डिसेम्बर २६ मा राजधानी नयाँदिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) अस्पतालमा भर्ना गरिएको थियो तर उपचारका क्रममा उनको ९२ वर्षको उमेरमा सोही दिन निधन भएको थियो। 

उनले प्रधानमन्त्रीका रूपमा सन् २००४ देखि २०१४ सम्म भारतलाई नेतृत्व दिएका थिए। भारतको आर्थिक सुधारका लागि विशेष योगदान दिएका अर्थशास्त्री सिंहले १९९१ मा भारतको अर्थतन्त्रलाई उदारीकरण गर्न वित्तमन्त्रीको रूपमा महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनको कार्यकालमा भारतको आर्थिक वृद्धि उच्च भएको थियो। उनलाई सरल, विनम्र र प्रभावकारी नेतृत्वका लागि भारतका साथै समग्र विश्वले सम्झिन्छ। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिंहप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको अतीतलाई स्मरण गर्दै आफूहरूबीचको अन्तक्रिर्यामा उनमा सधैँ ‘विवेक र नम्रता झल्किने गरेको’ बताउँदै उनको कार्यकालमा ‘भारतीय नागरिकको जनजीवन सुधार गर्न व्यापक प्रयासहरू’ भएको बताएका थिए। 

जवाहरलाल नेहरुपछि पहिलो कार्यकाल पूर्णरूपमा पूरा गर्दै पुनः प्रधानमन्त्रीमा निर्वाचित हुने उनी पहिलो भारतीय नेता थिए  उनको दोस्रो कार्यकालमा भने सरकारमाथि व्यापक रूपमा भ्रष्टाचारका आरोपहरू लागेको थियो। 

सिंहको जन्म सन् १९३२ को सेप्टेम्बर २६ मा विभाजित हुनुपूर्वको भारतको पञ्जाब प्रान्त (हाल पाकिस्तान) को एउटा विकट गाउँमा भएको थियो। त्यहाँ पानी र बिजुलीको अभाव थियो। पञ्जाब विश्वविद्यालयमा पढेपछि उहाँ स्नातकोत्तर अध्ययनका लागि बेलायतको क्याम्ब्रिज विश्वविद्यालय पुग्नुभयो र पछि अक्सफोर्डबाट डिफिल गरेका थिए। 

उनले कर कटौती, रूपैयाँको अवमूल्यन, राज्यद्वारा सञ्चालित कम्पनीहरूलाई निजीकरण र विदेशी लगानीलाई प्रोत्साहन गर्ने काम गरेका थिए। यसका कारण अर्थतन्त्रमा सुधार देखा पर्दै उद्योगहरूको तीव्र वृद्धि भयो। बढ्दो मुद्रास्फीति नियन्त्रण भएर सन् १९९० को दशकमा वृद्धि दर निरन्तर उच्च बनेको थियो। 

सिंहको पहिलो प्रधानमन्त्रीकालमा सबैभन्दा ठूलो सफलता अमेरिकासँग आणविक सम्झौता गरेको रूपमा हेरिन्छ  उनको पालामा त्यस ऐतिहासिक सम्झौताका कारण भारतले अमेरिकाको आणविक प्रविधिमा पहुँच पाएको थियो। सिंह सरकारलाई समर्थन गरेका वामपन्थी दलहरूले त्यसकै कारण आफ्नो समर्थन फिर्ता लिएका थिए।

सीताराम यचुरी
जीवनको उत्तराद्र्धतिर श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) का महासचिव सीताराम यचुरीकोे नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचारका क्रममा ७२ वर्षको उमेरमा सेप्टेम्बर १२ मा निधन भएको थियो। सन् १९५२ अगस्ट १२ मा भारतको चेन्नईमा जन्मिएका यचुरी भारतीय राजनीतिका प्रभावशाली नेता रहेका थिए। 

उनी सन् २०१५ देखि कम्युनिस्ट पार्टीको महासचिव बनेका थिए। विद्यार्थी कालदेखि नै राजनीतिमा प्रवेश गरेका यचुरी जवाहरलाल नेहरू विश्वविद्यालयमा भारतीय विद्यार्थी महासंघ (एसएफआई)का प्रभावशाली नेता रहेका थिए। उनी इन्दिरा गान्धीको शासनकालमा १९७५ देखि १९७७ सम्म लगाइएको सङ्कटकालको समयमा नागरिक अधिकार र वामपन्थी विचारधारको पक्षमा क्रियाशील थिए। यचुरीले सन् २००५ अगस्ट १९ देखि सन् २०१७ अगस्ट १८ सम्म भारतको माथिल्लो सदन राज्यसभाको सदस्यका रूपमा पश्चिम बङ्गालबाट प्रतिनिधित्व गरेका थिए। 

नटवर सिंह
सन् १९८४ मा पद्मभूषण प्राप्त गर्नुरेका पूर्व विदेशमन्त्री तथा वरिष्ठ कांग्रेस नेता नटवर सिंहको ९३ वर्षको उमेरमा निधन भएको छ। सन् १९५३ मा भारतीय विदेश सेवा (आइएफएस) मा आफ्नो जागिरे जीवन सुरू गरेका उनी सन् १९८० को दशकमा राजनीतिमा प्रवेश गरेका थिए। 

उनले पूर्व प्रधानमन्त्री राजीव गान्धीको कार्यकालमा इस्पात, खानी, कोइला र कृषि राज्यमन्त्रीको रूपमा काम गरेका थिए। कुटनीति र राजनीतिमा अब्बल मानिने उनलाई तेलसम्बन्धी खाद्य घोटालामा नाम आएपछि सन् २००६ मा काङ्ग्रेसले निलम्बित गरेको थियो। पछि सन् २००८ मा बहुजन समाज पार्टीमा सामेल भएपनि चार महिनापछि उनलाई सो पार्टीबाट पनि निष्कासित गरिएको थियो।

रतन टाटा 
रतन नवल टाटा एक भारतीय उद्योगपति र परोपकारी व्यक्तित्वको नाम हो। उनले सन् १९९१ देखि २०१२ सम्म टाटा समूह र टाटा सन्सको अध्यक्षको रूपमा काम गरेको थियो भने अक्टोबर २०१६ देखि फेब्रुअरी २०१७ सम्म अन्तरिम अध्यक्षको रूपमा पद सम्हालेका थिए। सन् २००० मा उनले भारतको तेस्रो सर्वोच्च नागरिक सम्मान पद्मभूषण प्राप्त गरेका थिए। सन् २००८ मा पद्म विभूषणसहित टाटाले आफ्नो कामको लागि धेरै प्रशंसा प्राप्त गरे। 

सन् १९३७ डिसेम्बर २८ मा जन्मिएका उनको ८६ वर्षको उमेरमा सन् २०२४ अक्टोबर ९ मा निधन भएको हो। उनको नेतृत्वमा कम्पनीले विश्वव्यापी स्वरूप धारण गरेको थियो। उनको नेतृत्वमा टाटा कम्पनीले कोरस, टेटली र जगुआर ल्यान्ड रोभरजस्ता प्रतिष्ठित ब्रान्डहरू अधिग्रहण गरेको थियो। टाटाको दूरदर्शी नेतृत्व र कर्पोरेट सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धताले भारतको कर्पोरेट जगत्मा सुधार ल्याएको बताउने गरिन्छ। 

तीन भारतीय सङ्गीतकार 
पद्मश्री, पद्म भूषण र सङ्गीत नाटक एकेडेमी पुरस्कारबाट सम्मानित सङ्गीतकार उस्ताद राशिद खानको सन् २०२४ जनवरी ९ मा ५५ वर्षको अल्पायुमा नै निधन भएको हो। हिन्दुस्तानी शास्त्रीय गायक आफ्नो जुगलबन्दी र ख्याल र ठुमरीजस्ता भारतीय शास्त्रीय सङ्गीत शैलीहरूमा निपुणताको लागि प्रसिद्ध थिए। 

तबला वादक जाकिर हुसेनको ७३ वर्षको उमेरमा निधन भयो। भारतीय शास्त्रीय सङ्गीतलाई पुनर्परिभाषित गर्नका लागि परिचित हुसेनले सहजै परम्परागत तबला लयलाई विश्वव्यापी शैलीसँग मिसाएर व्यापक प्रशंसा प्राप्त गरेका थिए। चार पटकको ग्रामी विजेता उनले तबला उस्ताद, सङ्गीतकार, सङ्गीत निर्माता, अभिनेता र शिक्षकका रूपमा महत्त्वपूर्ण योगदान दिएका थिए। 

इब्राहिम रायसी 
इरानका राष्ट्रपति इब्राहिम रायसी (सयैद इब्राहिम रैसोलसादाती) को हेलिकप्टर दुर्घटनामा परेर मे १९ मा मृत्यु भएको हो। इरानको  पूर्वी अजरबैजान प्रान्तमा हेलिकप्टर दुर्घटनामा परेपछि ६३ वर्षीय उनको मृत्यु भएको थियो। उनलाई इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको उत्तराधिकारी मानिन्थ्यो। 

फेतुल्लाह गुलेन
हिज्मेत नामक इस्लामिक आन्दोलनको नेतृत्व गरेको, ‘आतङ्कवादी’ समूहको नेतृत्व गरेको र सन् २०१६ मा शक्तिशाली नेता रेसेप तैयप  एर्दोगानको सरकार ढाल्न गरिएको असफल ‘कू’ को नेतृत्व गरेको आरोप लागेका अमेरिकामा बस्दै आएका टर्कीका मुस्लिम धर्मगुरु फेतुल्लाह गुलेनको २० अक्टोबरमा मृत्यु भएको हो। 

अङ्काराले गुलेनलाई सन् २०१६ को असफल ‘कू’ का मुख्य योजनाकार भएको आरोप लगाउँदै आएको छ। त्रियासी वर्षीय गुलेनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। गुलेन सन् १९९९ देखि पेन्सिलभेनियामा बस्दै आएका थिए। प्रशासनले उनको टर्कीको नागरिकता सन् २०१७ मा खोसेको थियो। गुलेनले टर्की र त्यसभन्दा बाहिर शक्तिशाली इस्लामिक आन्दोलनको निर्माण गरेका थिए। उनीमाथि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानविरुद्ध ‘कू’ को प्रयास गरेको आरोप लागेको थियो। 

इस्माइल हानिया 
हमास नेता इस्माइल हानियाको ‘इजरायलको आक्रमण’ बाट जुलाई ३१ मा मृत्यु भएको थियो। उनी इरानमा मारिएका थिए। प्यालेस्टिनी लडाकू समूह हमास र इरानको एलिट रिभोलुसनरी गार्ड्सले उनी इजरायलले झुक्याएर गरेको आक्रमणमा मारिएको दावी गरेका छन्। इरानका नयाँ राष्ट्रपतिको शपथ ग्रहण समारोहमा सहभागी भएका हानियालाई कार्यक्रम स्थलबाट बाहिरिएपछि तेहरानस्थित इस्माइल हानियाको निवासमा आक्रमण भएको थियो।  

हसन नसरल्लाह
लेबनानको सशस्त्र शिया सङ्गठन हिजबुल्लाह नेता हसन नसरल्लाहको सेप्टेम्बर २७ मा मृत्यु भएको हो। इजरायली सेनाले बेरूतमा गरेको हवाई आक्रमणमा उनी मारिए। इजरायलले ६४ वर्षीय नसरल्लाहलाई धेरै इजरायली सैनिक र सर्वसाधारणको हत्याका लागि जिम्मेवार ठहर गरेको थियो। लेबनानमा हिजबुल्लाह समूहको नेतृत्व गर्ने आलिम (धार्मिक विद्वान्) नसरल्लाहले यस समूहको इतिहासमा निर्णायक भूमिका खेलेको पाइन्छ।
 
याह्या सिनवार 
गाजामा भएको इजरायली आक्रमणमा मारिएका हमासका राजनीतिक प्रमुख याह्या सिनवार सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा भएको विध्वंशकारी आक्रमणका योजनाकार थिए। राजनीतिक प्रमुख सिनवारको इजरायलमा हमासले गरेको आक्रमणको ठीक एक वर्षपछि अक्टोबर १६ मा इजरायली हवाई आक्रमणमा मृत्यु भएको हो। 

यसअघि हमासका प्रमुख इस्माइल हानिया गत जुलाईमा मारिएपछि हमासभित्र बलियो प्रभाव बनाएका सिनवार राजनीतिक प्रमुख चुनिएका थिए। सन् २०१७ देखि गाजा स्ट्रिपमा हमास समूहका नेता रहेका सिनवारलाई सर्वसम्मतिमा उक्त समूहको राजनीतिक विभाग नेतृत्व गर्ने जिम्मेवारी दिइएको थियो। 

सिनवार चरमपन्थी नेता मानिन्छन्। उनको त्यही स्वभावका कारण पनि गाजामा युद्धविरामका लागि भएका दर्जनौं प्रयास असफल भएको बताइन्छ। सिनवार यसअघि गाजा क्षेत्रमा हमासको राजनीतिक एकाइ प्रमुख थिए। सन् १९६२ मा जन्मेका सिनवार हमासको सुरक्षा सेवा ‘मज्द’का संस्थापक पनि थिए। 
-दिलीप शर्मा/रासस  

पुष १९, २०८१ शुक्रबार १५:१६:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।