नेपाल लाइफको ‘रक्षा कवच’ म्यादी जीवन बीमा योजना सार्वजनिक

नेपाल लाइफको ‘रक्षा कवच’ म्यादी जीवन बीमा योजना सार्वजनिक

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ रक्षा कवच जीवन बीमा योजना सार्वजनिक गरेको छ।

न्यूनतम बीमा शुल्कमा उच्चतम सुरक्षा प्रदान गर्ने अभिप्रायले पुस १८ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बीमा योजना सार्वजनिक गरेका हुन्।

एक निश्चित अवधिको लागि सुरक्षा प्रदान गरी दुर्भाग्यपूर्ण घटनाको अवस्थामा आफ्नो परिवारको लागि आर्थिक सुरक्षा, सुनिश्चिता प्रदान गर्ने नेपाल लाइफ रक्षा कवच जीवन बीमा योजना (मुनाफामा सरिक नहुने) म्यादी जीवन बीमा हो।

यसको न्यूनतम बीमाङ्क रकम पाँच लाख रुपैयाँ र अधिकतम बीमाङ्क रकम एक करोड रुपैयाँ रहेको छ। योजनामा सरिक हुन बीमितको उमेर न्यूनतम १८ वर्ष र अधिकतम ५९ वर्ष हुनुपर्नेछ। बीमा अवधि न्यूनतम १ वर्ष देखि अधिकतम ३५ वर्ष सम्म हुनेछ भने बीमा समाप्तिमा बीमितको अधिकतम उमेर ६० वर्ष रहेको छ।

यस योजनामा ऐच्छिक सुविधा पनि न्यूनतम ५ वर्ष देखि अधिकतम ३५ वर्ष अवधिसम्म लिन सकिने छ। यस योजना अन्तर्गत बीमा अवधि भित्र जुनसुकै समयमा बीमितकोे मृत्यु भएमा बीमाङ्क रकम भुक्तानी गरिनेछ र बीमालेख स्वतः अन्त्य हुनेछ।

कार्यक्रममा बोल्दै यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यो योजना सार्वजनिक गर्न पाउँदा खुशीको आभास भएको बताए। सामान्य सिद्धान्तअनुसार आम्दानीको १५ गुणासम्मको बीमा लिनु नितान्त आवश्यक रहेको विचार व्यक्त गरे।

कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले योजना उकृष्ट रहेको दाबी गर्दै हरेक आयस्रोत भएका वर्गमा बीमाको पहूँच पुर्याउन सम्पूर्ण अभिकर्ता तथा कर्मचारीहरूलाई दत्तचित्त भई लाग्न निर्देशन दिए।

तालिम विभागका प्रमुख रोजेश बस्नेतले यो योजना सँग आधारित प्रस्तुति दिएका थिए। उनले योजनाका मुख्य विशेषता र यसका फाइदाका विषयहरूमा स्पष्ट पारे।

पुष १९, २०८१ शुक्रबार १४:१०:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।