गायक ओमविक्रम विष्टको हिजोको कुरा : बेकारमा राजा बदनाम भए, खास निरंकुश त कर्मचारी थिए

गायक ओमविक्रम विष्टको हिजोको कुरा : बेकारमा राजा बदनाम भए, खास निरंकुश त कर्मचारी थिए

पप सम्राटको उपाधि पाएका चर्तित गायक हुन्- ओमविक्रम विष्ट।

सानैबाट गायनमा रुचि भएका उनी विद्यालय तहदेखि नै गाइरहन्थे। रैनाथे र लोक गीत भन्दा पनि फरक किसिमका गीत सुन्न र गाउन रुचाउँथे उनी। त्यही क्रममा विद्यालयमा भएका कार्यक्रमहरूमा पनि गीत गाउँथे।

त्यसरी गीत गाउँदा उनले राजा महेन्द्रबाट पुरस्कार समेत पाए। तर, त्यो पुरस्कार उनले अहिलेसम्म हेर्न पाएका छैनन्। राजाले पुरस्कार दिएपछि विद्यालयले नै उक्त पुरस्कार राखेको रहेछ। उनी एकपटक भए पनि त्यो पुरस्कार हेर्न चाहन्छन्।

समयक्रमसँगै रेडियो नेपालमा जागिरे भएका विष्ट आधुनिक बाजा भित्र्याउनेमध्येका एक हुन्। उमेरले ६८ पुगेका उनी अझै गीतसंगीतमै सक्रिय छन्। विष्ट यतिबेला आफ्नो नयाँ गीति एल्बमको तयारीमा छन्।

काठमाडौंको बाल्यकाल, रेडियो नेपालको जागिर र पप गायनका विषयका आफ्ना छ दशक लामो अनुभव उनले उकेराको नियमित कोलम ‘हिजोका कुरा’मा यसरी सम्झिएः

स्कुलमा नै राजारानीलाई गीत गाएर मख्ख पारे
काठमाडौंको न्यूरोडमा हो मेरो जन्म भएको। बुवा भन्सारको जागिरे हुनुहुन्थ्यो। उहाँको सरुवा जता भयो हामी पनि त्यतै जानुपर्ने भएकाले पढाइको भने ठेगान भएन। नेपालगञ्ज, भैरहवादेखि काठमाडौंको जुद्दोदय पब्लिक हाइस्कुलसम्म पढेँ मैले। त्यतिबेला यो काठमाडौंको विशिष्ठ स्कुल थियो। पढाउनका लागि विदेशी शिक्षकहरू हुने भएकाले विद्यार्थीको भीड लाग्थ्यो। त्यहीँबाट हो एसएलसी दिएको मैले।

एसएलसी दिनुअघि नै मैले गीतार बजाएर गाउन थालिसकेको थिए। एउटा कार्यक्रममा स्कूलमा राजा महेन्द्र आउनुभएको थियो। त्यो बेला मैले स्टेजमा गीत गाएर नाचेको थिएँ। मेरो प्रस्तुति मन परेर होला, राजा महेन्द्रले पुरस्कार दिनुभएको थियो। तर, त्यो पुरस्कार के थियो मैले अहिलेसम्म पनि हेर्न पाएको छैन। स्कूलले नै राख्यो त्यो। अहिले पनि मलाई त्यो पुरस्कार कस्तो र के थियो भन्ने जान्न मन छ।

त्यतिबेला महेन्द्र सरकार र रानीले हिँड्ने बेलामा मलाई हेरेर मुसुक्क हाँस्दै धाप मार्नुभएको थियो। जुन अहिले पनि मेरो मानसपटलमा छ। त्यतिबेला राजाको अगाडि बच्चाहरू जान पाइदैन थियो। अलि कडै थियो। तर, उहाँले नै आएर धाप मारेर जाँदा मलाई संसारै जितेजस्तो लागेको थियो। त्यतिबेला म १३ वर्षको थिएँ।

यो पप भन्ने हाम्रो शब्दै थिएन
हामीले गाउने बेलामा पप भन्ने शब्दै थिएन। रेडियो नेपालमा अन्तर्वार्ताको क्रममा स्वर्गीय पाण्डव सुनारले ‘यो आधुनिक गीत हुँदै होइन, अचम्मको संगीत आएछ नेपालमा, केटाकेटीहरूले रुचाएका छन्’ भन्नुभएको थियो। उहाँले नै त्यसलाई ‘पप’ गीतको उपमा दिनुभएको थियो।

मेरो गीतलाई युवापुस्ताले मन पराउँथे। बुढापाकाहरू गीत बजेपछि अर्कोतिर फर्किन्थे। मलाई कतिपयले ‘कहाँको गायक आयो यो, हल्ला गर्ने गायक’ भन्थेँ। मेरो गीतलाई त्यो समयमा आधुनिक होइन, अध्याधुनिक गीत भन्न थालियो।

गीत लेख्न, गाउन र बजाउन पनि आफैँले जानेँ, कतैबाट सिक्नै परेन। आफूले आफैँलाई स्थापित गरेको हुँ मैले।

बुवालाई हाकिमले गरेको व्यवहारले जागिर खानै मन लागेन
रेडियो नेपालमा एक पटक राष्ट्रिय गीत गाउन भनेर लगिएको थियो। ‘उडेर जाने चरीले सुन के गीत गाएछ, राजाको सन्देश ल्याउने अमर गीत गाएछ’ भन्ने शब्द थियो। त्यो बेलामा राजाको खुब गुनगान गाउनुपर्थ्यो। आफ्नो बखान सुनेपछि राजा हाँस्थे।

त्यतिबेला रेडियो नेपालको वार्षिक उत्सवमा गायन प्रतियोगिता हुन्थ्यो। मैले पनि रेडियो नेपालको वार्षिक उत्सवमा गीत गाएपछि स्वर परीक्षा नै दिनुपरेन। रेडियो नेपालमा गाउनका लागि यसरी प्रवेश पाएको थिएँ मैले।

रेडियो नेपालमा गाउनका लागि गए पनि जागिर कहिल्यै खाइनँ। रेडियो नेपालमा मैले गीत गाउँदा २० रुपैयाँ दिन्थ्यो। त्यसमा एक हजार रुपैयाँ थपेर मेरो गीतमा बाजा बजाउने वाद्यवाधकलाई खानानास्ता गराउँथे।

मलाई जागिर खान कहिल्यै मन लागेन। एक पटक राजकीय प्रज्ञा प्रतिष्ठान एकेडेमीमा हाटा जागिरको अनुभव गरेँ। हाटा भनेको हाजिर गरेर टाप कस्ने। त्यो पनि डेढ वर्ष मात्रै खाएँ। एकेडेमीमा कुनै देशको राजा वा राजकुमार आउँदा गीत गाउनुपर्थ्यो, नत्र सधैँ खाली।

त्यतिबेला पनि हातपाउ मोल्नेहरूले जागिर पाउँथे, त्यो क्रम अहिले झन् बढेको छ। मेरो बुवा दौलत विक्रम विष्ट त्यो बेलामा त्यत्रो सम्पत्ति भएको मान्छे, ठूलै लेखक पनि हुनुहुन्थ्यो। मेरो बुवालाई ठूला हाकिमहरूले हेपेर बोलेको देख्थेँ। त्यो देखेरै मलाई लाग्यो- ‘थुइक्क, यस्तो जागिर पनि के खानु!’

एक पटक के भयो भने मेरो बुवा राजकीय संस्थानको सचिव हुनुपर्ने मान्छे, सबैले खुट्टा तानेर ल्याएर साधारण सदस्यमा समेत राखिदिए। यतिबेला मेरो बुवाको मनमा गहिरो चोट लागेको थियो। तर उहाँले कसैलाई भन्नुभएन। यस्ता कुरा कति छन् कति। त्यसले पनि मलाई जागिरले कहिल्यै तानेन।

रेडियोमा पनि चाकडी र जातीवाद हाबी
रेडियो नेपालमा गीत गाउनका लागि निकै संघर्ष गरियो। विहान खाना खाएर रेडियो नेपाल जान्थेँ। दिनभरी बदाम र सुन्तला खाएर चौरमा बसेर फर्किन्थेँ। म जस्तो संघर्षरत अरु पनि आउँथे। उनीहरूको पनि दैनिकी त्यस्तै।

रेडियो नेपालमा काम गर्ने कोही चिनेजानेको मान्छे आएदेखि ‘लौन हजुर, एउटा गीत गाउनका लागि चान्स पाऊँ’ भनेर भिख माग्नुपर्थ्यो। उनीहरूले भोलितिर आओ भन्थे। भोलिपल्ट जाँदा पनि चौरमा बस्यो, घाम ताप्यो फर्कियो हुन्थ्यो। यो जाडो महिनाको कुरा भयो। गर्मी महिनामा चाहिँ क्यान्टिनमा गयो, चिया खायो त्यस्तै हुन्थ्यो।

त्यतिबेला रेडियो नेपालमा जातकै कारण धेरैले फाइदा उठाए। हाकिम भएर बसेका र संगीत डिरेक्टरले आफ्नो जातको मानिसलाई बढी गीत गाउन प्राथमिकता दिन्थे। तिनले वर्षमा चार देखि पाँच वटा गीत गाउँदा हामीले बल्ल दुईटा पाइन्थ्यो।

रेडियो नेपालमा मैले आजसम्म दुई सयभन्दा बढी गीत गाउन सकिनँ तर कसैले पाँच हजार गीत गाए। त्यो जातकै कारण सम्भव भयो। म नाम लिन चाहन्न। त्यो समय उनीहरूले धमाधम गाउन पाए, अरुले पाएनन्। त्यहाँभित्रका कर्मचारी साह्रै चतुर धूर्त थिए।

त्यतिबेला निरंकुश राजा थिएनन्, कर्मचारी थिए। म त भएको कुरा गर्छु। त्यो बेला र अहिलेको त तुलनै नगरौँ। अहिलेका नेता त निरंकुशका पनि बाजेहरू छन्।

राति नौ बजेपछि हिँड्दा प्रहरीले बजाउँथ्यो
मैले थाहा पाउँदा बेलुका ९-१० बजेपछि बाटोमा हिँडडुल गर्न मनाही थियो। जाँड खाएर हो-हल्ला गर्दा कि प्रहरीले भाटैभाटाले हानेर लखेट्थ्यो कि थानामा पुर्याउँथ्यो। अहिलेको तुलनामा त्यो समयमा शन्ति सुरक्षा राम्रो थियो।

एक रात म पनि विना कारण प्रहरी थुनामा बसेको छु। रानी पोखरीको उत्तरपट्टी पार्क रेस्टुरेन्ट भन्ने थियो। त्यो बेलाको ठूलो बार। रक्सी खाने, नाच्ने अनि गीतार बजाउने ठाउँ थियो त्यो। कहिलेकहीँ म पनि गीत गाइदिन्थेँ। अलि-अलि केटीहरू पनि त्यो समयमा आउजाउ गर्थे।

एक रात के भयो भने केटाहरूका झगडा छुट्याउन जाँदा मलाई पनि एउटाले मुक्का हान्यो। मैले पनि त्यही सुरमा ठोकेँ। पुलिस आएर सबैलाई हनुमान ढोका पुर्याइहाल्यो नि! राति दुई बजे पुर्याएको थियो, मिलापत्र गरेर निस्कँदा विहानको पाँच बज्यो। पुलिसले झगडा गर्दा मुक्का हान्ने र खाने सबैलाई एउटै कोठामा थुन्यो। एकअर्कालाई आँखा तर्दै मुन्टो बटारेर बसियो।

सांगीतिक यात्रामा विदेश टुर
मैले सांगीतिक यात्राको क्रममा चीन, हङकङ, अमेरिका, अष्ट्रेलिया लगायत अधिकांश देश पुग्ने अवसर पाएँ। त्यो समयमा भारतको दार्जिलिङ र  सिक्किममा पनि मेरो गीतको चर्चा थियो। नेपाली भाषाको गीतमा मेरो माग बढी हुन्थ्यो।

रेडियो नेपालमा मेरो गीत बजाउनै मान्दैनथे। मेरो गीतलाई गीतै होइन भन्थेँ। तर धेरै तिरबाट मेरो गीत बजाइदिन अनुरोध गर्ने पत्र आएपछि बजाइदिन्थेँ। त्यस्तो थियो त्यो समय। गीत गाउनका लागि निकै मेहनत गर्नुपर्थ्यो।

पुष १९, २०८१ शुक्रबार ११:४९:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।