बाक्लो कुहिरोले उत्तर भारतमा भिजिबिलिटी कम, हवाइजहाजसँगै रेल र बससेवा पनि प्रभावित

बाक्लो कुहिरोले उत्तर भारतमा भिजिबिलिटी कम, हवाइजहाजसँगै रेल र बससेवा पनि प्रभावित

एजेन्सी : बाक्लो कुहिरोका कारण भिजिबिलिटी कम हुँदा उत्तर भारतको यातायात प्रभावित भएको छ। शुक्रबार बिहान दिल्ली, उत्तर प्रदेश, मध्य प्रदेश र असमलगायत देशका उत्तरी राज्यहरूमा बाक्लो कुहिरो लागेको छ।

दिल्ली एयरपोर्टले कुहिरोका कारण यात्रुहरूका लागि अलर्ट जारी गरेको छ। भिजिबिलिटी कम भएकाले केही उडान प्रभावित हुन सक्ने बताइएको छ।

विमानस्थलले ट्वीटरमा लेखेको छ, ‘अहिले सबै उडानहरू निर्धारित समयअनुसार उडान भइरहेको छ। तर, यात्रुहरूले आफ्नो यात्राको बारेमा एयरलाइन्सबाट जानकारी लिइरहनुपर्छ।’

विमान मात्र नभएर बाक्लो कुहिरोका कारण रेलहरू पनि समयभन्दा ढिला चलिरहेको नयाँ दिल्ली रेलवे स्टेशनलाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले जनाएको छ।

भारतीय मौसम विज्ञान विभागले पनि मौसमको बारेमा चेतावनी जारी गर्दै शुक्रबार दिल्लीमा बाक्लो कुहिरो लाग्ने र न्यूनतम तापक्रम ८ डिग्री सेल्सियससम्म झर्नसक्ने पूर्वानुमान गरेको थियो।

अबको केही दिन पानी पर्ने सम्भावना रहेको र न्यूनतम तापक्रम घट्दा दिल्लीमा अत्यधिक चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आगामी २४ घण्टामा उत्तरपश्चिम र मध्य भारतमा बाक्लो कुहिरो र शीतलहरको सम्भावना पनि छ।

पुष १९, २०८१ शुक्रबार ०९:२१:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।