१८ करोडको तीन टेण्डरका खरिद मापदण्डमा निश्चित कम्पनीको क्याटलगै कपिपेष्ट, स्वास्थ्य विभागदेखि महाशाखा प्रमुखसम्मको मिलेमतो

१८ करोडको तीन टेण्डरका खरिद मापदण्डमा निश्चित कम्पनीको क्याटलगै कपिपेष्ट, स्वास्थ्य विभागदेखि महाशाखा प्रमुखसम्मको मिलेमतो

काठमाडौँ : मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीहुँदा स्वास्थ्य सेवा विभागको महानिर्देशकमा थिइन् डा. सङ्गीता कौशल मिश्रा। व्यवस्थापन महाशाखाको निर्देशक थिए डा. श्रवण थापा। 

बस्नेत अगाडिका विरोध खतिवडा, भवानी खापुङ वा उनीपछिका उपेन्द्र यादव या प्रदीप यादव जो-जो स्वास्थ्यमन्त्री भए पनि विभागको व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति व्यवस्थापन शाखा (खरिद शाखा प्रमुख) को प्रमुख डा सुरेन्द्र चौरासिया नै कायम रहे। उनी निरन्तर खरिद विवादमा परिरहे। तर कसैले उनको सरुवा गरेन। 

एमाले माओवादी गठबन्धनमा स्वास्थ्यमा प्रदीप यादव मन्त्री थिए। एमाले-कांग्रेसको गठबन्धन बनेपछि स्वास्थ्यमन्त्री भए कांग्रेस सांसद प्रदीप पौडेल। पौडेल मन्त्री भएपछि उनले स्वास्थ्य सेवा विभागसहितको नेतृत्व बदले।

बस्नेतको पालामा पटक-पटक खरिद मिलेमतोमा जोडिएका मिश्रा र थापालाई हटाएर विभागको महानिर्देशको जिम्मेवारी डा. विकास देवकोटालाई दिए। विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको निर्देशकमा डा. पवनजंग रायमाझीलाई लगे।

व्यवस्थापन महाशाखा अन्तर्गत रहेको आपूर्ति व्यवस्थापन शाखा (खरिद शाखा प्रमुख) बाट चौरासियालाई हटाउन मन्त्री पौडेललाई निकै सकस भयो। कोरोनाकालदेखि नै दरबन्दी विपरीत चौरासिया शाखामा भए पनि सरुवा गर्न सहज भएन। 

पौडेलले उनको सरुवाको तयारी गरेपछि उनलाई त्यही ठाउँमा राख्न स्वास्थ्य सचिव रोशन पोखरेलै सक्रिय भएका थिए। शाखामा जान सक्ने सम्भावित कर्मचारीलाई बोलाएर उनले चौरासियालाई काम गर्न दिन दबाब दिएको विश्वस्त स्रोतले उकेरालाई बतायो। तर मंसिर २५ मा चौरासियाको सरुवा निस्कियो। मन्त्रीस्तरिय निर्णयबाट उनको ठाउँमा दयाकृष्ण पन्त आए।

चौरासियाको सरुवा विभाग अन्तर्गतकै नर्सिङ महाशाखामा भए पनि उनी त्यता गएका छैनन्। उनी अहिले पनि व्यवस्थापन महाशाखामा नै बसिरहेका छन्। मंगलबार उकेराकर्मी महाशाखामा पुग्दा चौरासिया व्यवस्थापन महाशाखामै थिए।

त्यसको कारण देखियो सरुवाको तयारीको सूचना पाए लगत्तै उनले निकालेको तीन वटा टेन्डर। मंसिर २३ मा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले करिब चार करोडमा दुई वटा ‘४के–३डी ल्याप्रोस्कोपीक स्टिम’, सात करोड २० लाखमा २५ सेट ‘ऐनस्थेसिया मेसिन’, र सात करोड २० लाखमा ‘सिटीजी एन्ड इलेक्ट्रो सर्जिकल युनिट’ खरिदका लागि टेन्डर आव्हान गरेको थियो।

उकेराको अध्ययनमा करिब १८ करोडको तीन वटै टेन्डर निश्चित मेडिकल उपकरणका व्यापारीलाई दिनेगरी मिलेमतोमा प्रक्रिया अगाडि बढेको देखियो। अनि विभाग अन्तर्गतको स्वास्थ्य उपकरण तथा सामग्री खरिदको मिलेमतो भत्काउन पुगेका देवकोटा र रायमाझी मिलेमतोमै मिसिए। पन्त मिलेमतो भत्काउन निष्क्रिय।

व्यवस्थापन महाशाखाकै आपूर्ति व्यवस्थापन शाखामा दीपक अधिकारी अनि बायोमेडिकल इन्जिनियर आशिष चौहान विभागमा हिजोका दिनमा हुने खरिद मिलेमतोमा पनि संलग्न देखिएका थिए। अहिले निस्किएको तीन वटै टेन्डर प्रक्रियामा पनि उनीहरू संलग्न देखिए।

सर्त नै सर्त राखेर लक्ड

महाशाखाले आव्हान गरेको तीनवटै टेन्डरका प्रावधान निश्चित कम्पनीबाट उत्पादित मेसिन किन्न त्यसैको क्याटलग खरिद स्पेेशिफिकेेसनमा कपिपेस्ट देखिन्छ। टेन्डरलाई प्रतिस्पर्धी बनाउनु पर्नेमा कम्पनीहरू प्रतिस्पर्धामै आउन नसक्ने गरी थप सर्तहरू समेत राखिएको छ।

तीन वटै टेन्डरमा चलाखीका साथ कम्पनीको योग्यतासम्बन्धी प्रावधानमा राखियो। सर्तमा तीन वर्षमा एउटै टेन्डर कति रकमको पाएको हुनुपर्ने भन्ने अनौठो सर्त राखिएको छ जसको सम्बन्ध खरिद प्रणालीको पारदर्शितासँग जोडिएको देखिँदैन।

‘४के–३डी ल्याप्रोस्कोपीक स्टिम’को टेन्डरमा तीन वर्षमा कम्तीमा तीन करोडको दुई वटा टेन्डर पाएको हुनुपर्ने सर्त राखिएको छ। त्यसै गरी ‘ऐनस्थेसिया मेसिन’को टेन्डरमा पनि तीन वर्षमा कम्तीमा पाँच करोड १६ लाखको कम्तीमा दुईवटा टेन्डरको काम गरेको हुनुपर्ने सर्त राखिएको छ।

‘सिटीजी एन्ड इलेक्ट्रो सर्जिकल युनिट’को टेन्डरमा पनि तीन वर्षमा कम्तीमा दुईवटा चार करोड ८० लाखको टेन्डरको काम गरेको हुनुपर्ने सर्त राखिएको छ।

तर, दुई वटा मात्रै टेन्डरमा यति ठुलो रकमको टेन्डर पाएको हुनुपर्ने प्रावधान राख्नुको स्वार्थ खरिदलाई प्रतिस्पर्धी बनाउने भन्दा पनि नयाँ सप्लायर्स कम्पनीलाई खरिद प्रक्रियामा नै आउन नदिने रणनीतिमा सर्त राखेको देखिन्छ।

यती ठुलो रकमका टेन्डरमा समेत अन्तर्राष्ट्रिय खरिद प्रतिस्पर्धा (इन्टरनेशनल कम्पिटिटिभ बिडिङ (आईसीबी)लाई निषेध गर्दै नेशनल कम्पिटिटिभ बिडिङ (एनसीबी) खरिद विधि अपनाइएको छ।

कम्पनीले कति रकमको एकै ठेक्का पाएको हुनुपर्ने सर्त राखेर प्रतिस्पर्धालाई सीमित बनाउने कुनियतसँगै मेसिन कस्तो हुनुपर्ने भनेर तोकिने स्पेशिफिकेशन समेत लक्ड गरियो। यी तीन वटै टेन्डर मिलेमतोमा निकालिएको सबैभन्दा बलियो प्रमाण महाशाखाले निर्माण गरेको स्पेशिफिकेशनहरु नै हुन्।

‘४के–३डी ल्याप्रोस्कोपीक स्टिम’ मा ‘कार्ल स्टोर्ज’को मापदण्ड

स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले करिब चार करोडमा दुई वटा ‘४के–३डी ल्याप्रोस्कोपीक स्टिम’ उपकरण किन्न गरेको टेन्डरको प्रावधान र मापदण्डहरू निश्चित कम्पनीको उत्पादकसँग मात्र मिल्ने गरी बनाइयो। यसको स्पेशिफिकेशनका मापदण्डहरू जर्मनको मेसिन उत्पादक कम्पनी ‘कार्ल स्टोर्ज’सँग मिल्ने गरी बनाइयो। यो खरिद कार्ल स्टोर्जका नेपाली सप्लायर्सलाई दिनेगरी मिलेमतो गरिएको प्रस्टै देखिन्छ।

‘कार्ल स्टोर्ज’ कम्पनीको नेपाली एजेन्टका मालिक मेडिकल व्यवसायी अमर श्रेष्ठ हुन्। सामान्यतः उनले ‘हिमालयन मेडिकल टेक्नोलोजीज प्रालि (एचएमटी)’बाट टेन्डर प्रस्ताव गर्ने गरेको देखिन्छ।

कम्पनी ‘ओलम्पस’लगायत अन्य उत्पादक कम्पनीसँग पनि ‘४के–३डी ल्याप्रोस्कोपीक स्टिम’को मेसिन भएको एक जानकारले बताए। तर यो टेन्डरको प्राविधिक स्पेशिफिकेशनको विभिन्न बुँदा हेर्दा ‘कार्ल स्टोर्ज’लागि मात्रै मिल्ने गरी लक्ड गरेको देखिन्छ।

‘४के–३डी ल्याप्रोस्कोपिक स्टिम’को प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘२.७’ मा ‘युएसएफडीए’ मापदण्ड प्रमाणित भएको हुनुपर्ने सर्त राखिएको छ। महाशाखाले टेन्डर आह्वान गरेको ‘४के–३डी ल्याप्रोस्कोपीक स्टिम’को ठेक्का (आइएफबी) नम्बर ‘डीओएचएस-जी-एनसीबी–३२-एमडी-२०८१–८२’ हो।

प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘३.१२’ मा ‘इट सुड ह्याभ ३८४० (एच) ह२१६०(भी) पिक्सेल्स’, उल्लेख छ भने अर्को बुँदामा ‘पावर सप्लाई: २२०–२४० भीएसी, ५० मेगाहर्ज फिटेड वीथ एप्रोप्रियट प्लग’ उल्लेख छ। उकेराको खोजमा यो प्रावधान ‘कार्ल स्टोर्ज’को क्याटलगबाट सर्लक्क लिएर खरिदको स्पेशिफिकेशनमा राखिएको देखियो।

खरिद गर्न लागिएको ‘४के–३डी ल्याप्रोस्कोपीक स्टिम’को वारेन्टीको समय पनि तीन वर्ष मात्रै छ। स्पेशिफिकेशनमा ‘कम्प्रिहेन्सिभ वारेन्टी फर थ्रि इयर्स आफ्टर एसेप्टेन्स फलोड बाई टु इयर्स एएमसी’ उल्लेख छ।

यसको अर्थ तीन वर्षसम्म मेसिनमा जेसुकै समस्या आए पनि सप्लायर्स कम्पनीले नै बनाइदिनुपर्ने हुन्छ। तर, तीन वर्षपछि दुई वर्ष एएमसीको समय राखिएकाले एमएमसीको सम्झौता अवधिसम्म सप्लायर्स कम्पनीले मेसिन बिग्रिएको खण्डमा बनाउने साथै आवश्यक मर्मत समेत गर्नुपर्छ।

तर, एएमसीको सम्झौता अवधिभर मर्मत गरे वापतको खर्च सप्लायर्स कम्पनीले लिन्छन्। त्यसैले जति धेरै समय वारेन्टी राखियो स्वास्थ्य संस्था तथा अस्पताललाई त्यति नै आर्थिक फाइदा हुन्छ।

रमाइलो पक्ष त चितवनको भरतपुर अस्पतालले एक वर्ष अघि २०८० जेठ २२ मा  टेन्डर गरेर ‘कार्ल स्टोर्ज’कै ‘४के–३डी ल्याप्रोस्कोपीक स्टिम’ एउटा (एक सेट) खरिद गरेको थियो। भरतपुर अस्पतालले एक करोड ६४ लाख ९८ हजार (एक करोड ४६ लाख प्लस भ्याट) यो मेसिन खरिद गरेको अस्पताल स्रोतले जानकारी दियो।

भरतपुर अस्पतालले खरिद गरेको  ‘४के–३डी ल्याप्रोस्कोपीक स्टिम’को वारेन्टीको समय पाँच वर्ष छ। तर, विभागको महाशाखाले खरिद गर्न लागेको करिब उस्तै मूल्यको उही किसिमको मेसिनको वारेन्टीको समय किन तीन वर्ष?

वारेन्टीको समय जति कम राख्यो उति नै मेसिनको मूल्य पनि कम पर्छ। मेसिनको वारेन्ट तीन वर्ष राखेर बजेट सिलिङ भने भरतपुरमा किनिएको भन्दा बढी राखियो। यसबाट समेत खरिद प्रक्रिया बदनियतपूर्ण रहेको पुष्टि हुन्छ।

अर्को पक्ष, भरतपुर अस्पतालले एक वर्ष अघि खरिद गरेको र विभाग अन्तर्गतको व्यवस्थापन महाशाखामा खरिद प्रक्रियामा रहेको ‘४के–३डी ल्याप्रोस्कोपीक स्टिम’को प्राविधिक स्पेशिफिकेशनको मुख्य बुँदाहरू उस्तै छन्।

त्यसैले प्राविधिक स्पेशिफिकेशन अनुसार टेन्डर प्रक्रिया अगाडि बढेमा भरतपुरमा टेन्डर पाएको जर्मनको मेसिन उत्पादक कम्पनी ‘कार्ल स्टोर्ज’कै नेपाली सप्लायर्स (एचएमटी)ले ‘४के–३डी ल्याप्रोस्कोपीक स्टिम’को  टेन्डर पाउने निश्चित छ।

‘ऐनस्थेसिया मेसिन’को स्पेशिफीकेशनमा बुँदाबुँदा लक्ड

विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले मंसिर २३ मा सात करोड २० लाखको ‘ऐनस्थेसिया मेसिन’ किन्न निकालेको टेन्डरको अवस्था पनि उस्तै देखियो। महाशाखाले टेन्डर आह्वान गरेको ‘एनेस्थेसिया मेसिन’को ठेक्का (आइएफबी) नम्बर ‘डीओएचएस-जी-एनसीबी–३५-एमडी-२०८१–८२’ हो।

विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले खरिद प्रक्रिया अगाडी बढाएको ‘ऐनस्थेसिया मेसिन’को प्राविधिक स्पेशिफिकेशन हेर्दा भारतीय उत्पादक कम्पनी ‘बीपीएल’को ‘इ–फ्लो’ सिरिजको स्पेशिफिकेशनको क्याटलगमा भएका बुँदा नै कपिपेशष्ट गरेर राखिएको फेला पर्यो।

यसले सो टेन्डरको तयारीकै बेलामा ‘बीपीएल’को ‘इ–फ्लो’ को नेपाली सप्लायर्सलाई दिनेगरी स्पेशिफिकेशन बनाएको देखिन्छ। भारतीय उत्पादक कम्पनी ‘बीपीएल’को ‘इ–फ्लो’ सिरिजको स्पेशिफिकेशनको क्याटलगसँग मिल्ने गरी स्पेशिफिकेशन बनाएकाले टेन्डर प्रक्रिया अगाडि बढेमा उसैको नेपाली एजेन्ट लुम्बिनी हेल्थ केयर प्रालिले टेन्डर पाउने देखिन्छ। लुम्बिनी हेल्थ केयरका मालिक पोस्टराज ज्ञवाली हुन्।

‘ऐनस्थेसिया मेसिन’को प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘३.३४’ मा सात वटा बुँदा छन्। ती बुँदाहरु हेर्दा भारतीय मेसिन उत्पादक कम्पनि ‘बीपीएल’को ‘इ–फ्लो’ सिरिजको स्पेशिफिकेशनको क्याटलगमा भएका बुँदाहरु नै कपिपेष्ट गरेर स्पेशिफिकेशन लक्ड गरेको प्रष्टै देखिन्छ।

‘ऐनस्थेसिया मेसिन’को प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘३.३४’ को पहिलो नम्बर (आई) मा ‘टाइडाल भोलुम सेटिङः ४० एमएल–१५०० एमएल’ उल्लेख छ। जुन बुँदा मेसिन उत्पादक कम्पनी ‘बीपीएल’को  ‘इ–फ्लो’ सिरिजको स्पेशिफिकेशनको क्याटलगमा भएको बुँदा नै कपिपेष्ट छ।

स्पेशिफिकेशनको बुँदा नम्बर ‘३.३४’ को दोस्रो नम्बर (आईआई) मा ‘फ्रिक्वेन्सीः ४–६० बीपीएम’, तेस्रो नम्बर (आईआईआई)मा ‘आईःइः ३ :१–१:६’, चौथो नम्बर (आइभी) मा ‘इन्स्पिरेटोरी पजः ५%–५०%’ र पाँचौँ नम्बरमा ‘प्रेसर कन्ट्रोल: ५–७० सेन्टिमिटर एचटुओ’ उल्लेख छ।

खरिद प्रक्रियामा रहेको ‘ऐनस्थेसिया मेसिन’को प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘३.३४’ मा राखिएका यी मापदण्डहरू मेसिन उत्पादक कम्पनी ‘बीपीएल’को ‘इ–फ्लो’ सिरिजको स्पेशिफिकेशनको क्याटलगमा भएका बुँदाहरू नै हुन्।

‘ऐनस्थेसिया मेसिन’को प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘३.३९’ मा ‘सुड ह्याभ मिनिमम ८” इन्च कलर टीएफटी डिस्प्ले वीथ नाभिगेटिङ ह्वील फर इजी अप्रेसन। सर्ट कट किइज् सुड बी प्रोभाइडेड फर इमर्जेन्सी फंशन्स्’ लेखिएको छ। जुन बुँदा ‘बीपीएल’को ‘इ–फ्लो’ सिरिजको क्याटलगमा भएको स्पेशिफिकेशनको बुँदाको भाषा मात्रै मिलाएर कपिपेशष्ट गर्दै लक्ड गरेको देखिन्छ।

‘ऐनस्थेसिया मेसिन’को प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘६.१’ मा ‘पावर सप्लाई: २२०–२४० भोल्ट एसी सिङ्गल फेज, ५० हर्ज फिटेड वीथ एप्रोप्रियट प्लग’ उल्लेख छ। यो बुँदामा झुक्काउने किसिमले शब्दमा सामान्य हेरफेर गरेर ‘बीपीएल’को ‘इ–फ्लो’ सिरिजको स्पेशिफिकेशनको क्याटलगमा भएको बुँदा नै टेन्डरको स्पेशिफीकेशनमा कपिपेष्ट गरेर राखिएको देखिन्छ।

त्यसैगरी ‘एनेस्थेसिया मेसिन’को प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘७.२’ मा ‘इयु–सिइ’ सर्टिफिकेट भएको वा ‘युएस–एफडिए (५१०के)’ सर्टिफिकेट भएको हुनुपर्ने भन्ने सर्त राखिएको छ।

‘ऐनस्थेसिया मेसिन’को प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘३.१०’ मा ‘सुड ह्याभ म्याक्सिमम् फ्लो सेटिङ्स अप टु १० एलपीएम फर इच ग्यास,’उल्लेख छ। यो बुँदामा पनि शब्द तलमाथि गरेर ‘बीपीएल’को ‘इ–फ्लो’ सिरिजको क्याटलगकै प्रावधान राखिएको देखिन्छ।

त्यसैगरी ‘ऐनस्थेसिया मेसिन’को प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘३.२१’ मा ‘सुड ह्याभ सिङ्गल सोडा लाईम क्यानिस्टर अफ एप्रोक्स, १.५ लिटर क्यापासिटी, क्यानिस्टर रिमोभल एन्ड फिक्सिङ सुड बी इजी एन्ड टेक्स मिनिमम् टाइम,’ उल्लेख छ।

बुँदा नम्बर ‘३.२९’ मा ‘द वर्कस्टेशन मस्ट ह्याभ इन्टग्रेटेड बुइल्ट–इन भेन्टिलेटर क्यापेबल अफ डेलिभरिङ प्रेसिज् भेन्टिलेसन फर एडल्ट टु पेडियाट्रिक पेशेन्ट्स वीथ एडभान्स्ड प्रपोर्शनल सोलेन्वाइड भ्यालु टेक्नोलोजी,’ लेखिएको छ।

‘३.२१’ र ‘३.२९’ मा राखिएका स्पेशिफिकेशनका यी बुँदा हेर्दा भाषा मात्रै मिलाएर ‘बीपीएल’को ‘इ–फ्लो’ सिरिजको स्पेशिफिकेशनको क्याटलगबाट कपिपेष्ट गर्दै प्राविधिक स्पेशिफिकेशन लक्ड गरेको प्रस्टै देखिन्छ।

बुँदा नम्बर ‘३.३३’ मा ‘सुड ह्याभ मोड्स अफ भेन्टिलेशनः भिसिभी, पीसिभी, एसआइएमभी–भी+पीएस, एसआइएमभी–पी+पीएस, पीएसभी वीथ एप्नेया ब्याक अप (बोथ सिसिटिभी एन्ड पीसिभी अप्सन)’ लेखिएको छ।

प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘३.३३’ मा राखिएका बुँदाहरू  पनि ‘बीपीएल’ ‘इ–फ्लो’ सिरिजको स्पेशिफिकेशनको क्याटलगमा भएको प्राविधिक स्पेशिफिकशनकै बुँदाको बुँदाको भाषा मात्रै मिलाएर सारेको देखिन्छ।

यी तीन टेन्डरमध्ये कतै सिई र युएसएफडीए जस्ता मापदण्ड राखिएको छ। अनि ‘एनेस्थेसिया मेसिन’मा चाहिँ ‘इयु–सिइ अर युएस–एफडीए’ राखिएको छ।

यो मेसिनको पनि तीन वर्षसम्म मात्रै वारेन्टीको समय तोकिएको छ। स्पेशिफिकेशनमा ‘कम्प्रिहेन्सिभ वारेन्टी फर थ्रि इयर्स आफ्टर एसेप्टेन्स फलोड बाई टु इयर्स एएमसी’, उल्लेख छ।

सात करोडको ‘सिटीजी एन्ड इलेक्ट्रो सर्जिकल युनिट’ पनि लक्ड

महाशाखाले मंसिर २३ मै सात करोड २० लाखको बजेट सिलिङ राखेर ‘सिटीजी एन्ड इलेक्ट्रो सर्जिकल युनिट’ खरिदका लागि टेन्डर आव्हान गर्यो। यो पनि उस्तै देखियो। महाशाखाले टेन्डर आह्वान गरेको ‘सिटीजी एन्ड इलेक्ट्रो सर्जिकल युनिट’को ठेक्का (आइएफबी) नम्बर ‘डीओएचएस-जी-एनसीबी–३८-एमडी-२०८१–८२’ हो।

एउटै टेन्डर कागजातमा दुई वटा मेसिनको छुट्टाछुट्टै प्राविधिक स्पेशिफिकेशन बनाएर ‘मनिटर’, ‘कार्डियोटोकोग्राफ (सिटीजी)’ र ‘इलेक्ट्रोसर्जिकल युनिट (डाइथर्मी मेसिन) ४०० वाट’को टेन्डर आह्वान गरिएको छ। जसमध्ये ‘मनिटर’, ‘कार्डियोटोकोग्राफ (सिटीजी) २५ सेट’ र ‘इलेक्ट्रोसर्जिकल युनिट’ ५० सेट खरिदका लागि टेन्डर आह्वान भएको छ।

टेन्डरको स्पेशिफिकेशनले यो इटालियन उत्पादक कम्पनी ‘लिड’को ‘सुरट्रोन ४०० एचपी’ मोडलको नेपाली सप्लायर्ससँग ‘सिटीजी एन्ड इलेक्ट्रो सर्जिकल युनिट’ खरिद गर्ने रणनीतिमा टेन्डर प्रक्रिया अगाडि बढाएको देखिन्छ। यसको नेपाली सप्लायर पर्सा इम्पोरियम हो। यसको सन्चालक हुन् शशी श्रीवास्तव।

एलईडि डट एसपिए नामक इटालियन उत्पादक कम्पनीको मोडल नम्बर "सुर्टन ४००एचपि"को ईलेक्ट्रो सर्जिकल युनिट मेसिन खरिद गर्नेगरि स्पेशिफिकेशन लक्ड गरिएको देखिन्छ। जसले गर्दा सिटिजि र ईलेक्ट्रो सर्जिकल युनिट दुवैको टेन्डर एउटैलाई पर्छ।

इलेक्ट्रोसर्जिकल युनिट (डाइथर्मी मेसिन)४०० वाट’को प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘३.१’ मा ‘डाइथर्मी मेसिन (इलेक्ट्रोसर्जिकल)४०० वाट वीथ कम्प्लेट एक्सेसोरिज्’ उल्लेख छ। यो बुँदा हेर्दा इटालियन उत्पादक कम्पनी ‘लिड’को ‘सुरट्रोन ४०० एचपी’सँगमात्रै मिल्नेगरी लक्ड गरिएको देखिन्छ।

यदि लक्ड नगरिएको भए ‘डाइथर्मी मेसिन (इलेक्ट्रोससर्जिकल)४०० वाटको ठाउँमा ३०० वा ३५० अर मोर...वीथ कम्प्लेट एक्सेसोरिज्’ हुन सक्थ्यो।

इलेक्ट्रोसर्जिकल युनिट (डाइथर्मी मेसिन)४०० वाट’को प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘४.१’ मा ‘दी नोमिनल आउटपुट स्याल बीः ३००वाट एटञ्३००Ω उल्लेख छ। ‘४.१’ मा भएको यो बुँदा इटालियन उत्पादक कम्पनी ‘लिड’को ‘सुरट्रोन ४०० एचपी’ मोडलकै क्याटलगबाट हुबहु सारेर राखिएको हो।

यो बुँदा पनि लक्ड नभएको भए ‘दी नोमिनल आउटपुट स्याल बीः ३००वाट एटञ्३००Ω वा अन्य’ हुन सक्थ्यो। त्यसैगरी ‘सिटीजी’को प्राविधिक स्पेशिफिकेशनको ‘४.९’ मा ‘इट स्याल ह्याभ कलर टच स्क्रिन डिस्प्ले अफ ७ इन्च अर मोर’ उल्लेख छ भने ‘४.१०’ मा ‘इट सुड ह्याभ फ्यालिसिटी टु स्टोर डेटा अफ ७२ आवर अर मोर’ लेखिएको छ।

स्पेशिफिकेशनमा ‘४.१०’ मा ७२ घण्टाको डेटा स्टोरेज अनिवार्य गरेर यसको स्पेशिफिकेशन लक्ड गरिएको देखिन्छ।

‘इलेक्ट्रो सर्जिकल युनिट’को प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘७.२’ मा ‘सिइ (९३-४२ इइस डाइक्रेक्टिभ्स) एन्ड युएसएफडीए अप्रुभ प्रोडक्ट सर्टिफिकेट’ उल्लेख छ। यसको अर्थ ‘सिइ र युएसएफडीए’ दुवै मापदण्डबाट प्रमाणित भएको हुनुपर्ने सर्त राखिएको छ।

‘सिई अर युएसएफडीए’ राखिएको भए धेरै सप्लायर्सले खरिदमा प्रतिस्पर्धा गर्न सक्ने भए पनि निश्चित कम्पनीलाई नै दिने गरी यसको प्राविधिक स्पेशिफिकेशनमा ‘सिई एन्ड युएसएफडीए’ राखिएको विषयमा उकेराले यस अघि नै समाचार सम्प्रेषण गरिसकेको छ।

‘सिटीजी एन्ड इलेक्ट्रो सर्जिकल युनिट’को पनि वारेन्टीको समय तीन वर्ष मात्रै तोकिएको छ। ‘कम्प्रिहेन्सिभ वारेन्टी फर थ्रि इयर्स फलोड बाई टु इयर्स एएमसी आफ्टर एसेप्टेन्स’ उल्लेख छ।

चौरासियाको रणनीति, देवकोटा र रायमाझीको अनुमती

विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले यी तीनै वटा मेसिन खरिदका लागि २०८१ मंसिर २३ (२०२४, डिसेम्बर ८)  मा टेन्डर आह्वान गरेको थियो। पुस १२ शुक्रवार (डिसेम्बर २७) लाई प्रिबिड मिटिङ तोकियो। 

टेन्डर प्रक्रिया अनुसार पुस १२ मा महाशाखाले प्रिबिड बैठक राख्यो। बैठकमा सहभागी सप्लायर्सहरुले टेन्डरका प्रावधानहरू निश्चित कम्पनीलाई सहयोग हुने गरी बनाइएकाले प्रतिस्पर्धा नै गर्न नसकिने तर्क गर्दै संशोधनको प्रस्ताव राखेका थिए।

प्रि–बिड मिटिङपछि सप्लायर्स कम्पनीले चित्त नबुझेको खण्डमा स्पेसिफिकेसन संशोधनको माग गर्न सक्छन्। त्यसपछि टेन्डर आह्वान गर्ने संस्थाले आवश्यकता ठानेको खण्डमा संशोधन गर्न पनि सक्छ।

व्यवस्थापन महाशाखाका निर्देशक डा. रायमाझीले मंगलबार उकेरासँग प्रि- बिड मिटिङमा सहभागी सप्लायर्स कम्पनीका प्रतिनिधिहरूले स्पेशिफिकेशनको संशोधनको माग गर्दै केही सुझावहरू दिएको तर यसबारे निर्णय नभएको बताए।

टेन्डरको स्पेसिकेसनका प्रावधानहरू हेर्दा यो खारेज गरेर नयाँ स्पेसिफिकेसनमार्फत टेन्डर आव्हान गर्नुपर्ने देखिन्छ। तर टेन्डर खारेजको निर्णय त परको कुरा संशोधनको तयारी समेत देखिएन।

यी टेन्डरको टेन्डर प्रस्ताव गर्ने अन्तिम मिति पुस २३ (२०२५, जनवरी ७) लाई तोकिएको छ भने सोही दिनलाई टेन्डर खुल्ने मिति तोकिएको छ।

मन्त्रीलाई 'ढाँट्दै' विभाग नेतृत्व

तीन वटै टेन्डर शंकास्पद देखिएकोबारे उकेराले समाचार प्रकाशित गरेपछि स्वास्थ्यमन्त्री पौडेलले विभागका प्रमुख डा देवकोटासँग यसबारे चासो राखेका थिए। मन्त्रालय निकट स्रोतका अनुसार डा देवकोटाले तीन वटै टेन्डर पारदर्शी रहेको र प्रिबिड बैठकमा समेत सप्लायर्सहरु सहभागी भएकाले प्रतिस्पर्धाको आधारमा टेन्डर अगाडि बढ्ने दाबी गरेका थिए।

तर उनले प्रिबिड बैठकमा सहभागी सप्लायर्सका प्रतिनिधीहरुले टेन्डरका स्पेसिफिकेसनहरु लक्ड रहेको भन्दै संशोधन गर्न माग गरेकोबारे मन्त्रीलाई प्रस्ट नखुलाएको स्रोतले बतायो।

विभागका महानिर्देशक डा. देवकोटाले उकेरासँग पनि स्पेसिफिकेसन बनाउने समितिले स्पेसिफिकेसन लक्ड नभएको रिपोर्ट दिएको तर्क गरे।

‘स्पेक कमिटीले प्रतिस्पर्धा संकुचन नहुनेगरी स्पेक बनाएको रिपोर्ट दिएको छ,’उनले भने।

व्यवस्थापन महाशाखाका निर्देशक डा. रायमाझीले खरिदमा आफ्नो कुनै सेटिङ नभएको दाबी गरे।

तर उकेराको प्राप्त गरेको तथ्यले डा देवकोटा अनि रायमाझी दुवैको दाबी झुटो देखिन्छ। यसले समेत खरिद प्रक्रियामा उनीहरूको बदनियत देखाउँछ।

विभाग अन्तर्गत व्यवस्थापन महाशाखाले आव्हान गरेको तीन वटा टेन्डरमा देखिएको मिलेमतोबारे जिज्ञासा राख्दा स्वास्थ्य सचिव डा. पोख्रेलले आफूलाई थाहै नभएको दाबी गरे। 

‘म छुट्टीमा छु ३-४ दिन, थाहै भएन त,’सचिव पोख्रेलले बुधवार उकेरासँगको कुराकानीमा भने। 

खरिदको कुनै निर्णय प्रक्रियामा पनि मन्त्री संलग्न हुनु पर्दैन। तर मन्त्रीको मौखिक निर्देशनले नै काम गर्छ। यस अगाडि मिलेमतोमा भएका अधिकांश खरिदमा स्वास्थ्यमन्त्री नै प्रत्यक्ष जोडिएका थिए।

यो खरिदमा मन्त्री पौडेलको भूमिका के हो? उकेराको खोजबिनमा  तीन टेन्डरमा मन्त्री पौडेलको प्रत्यक्ष ‘इन्ट्रेस्ट’ देखिएन।

मन्त्रीको इन्ट्रेस्ट नदेखिए पनि मन्त्रालय मातहतका कर्मचारीहरू मिलेर सङ्गठित रूपमै टेन्डरमा मिलेमतो गरेको भने प्रस्टै देखिन्छ।

अब मन्त्री पौडेलले के गर्छन्? उनको धारणा बुझ्न उकेराले सम्पर्कको प्रयास गरेको थियो तर प्रयास सफल भएन। मन्त्री निकट स्रोत भने सम्पर्कमा आए।

नाम उल्लेख नगर्ने सर्तमा ती स्रोतले मिलेमतोमा टेन्डर प्रक्रिया अगाडि बढेको प्रमाणित भए रद्द हुने दाबी गरे।

‘स्वास्थ्य उपकरण खरिद विवादमा आएको देखेकैले मन्त्रीज्यूले विभागमा नयाँ टिम पठाउनुभएको हो। पारदर्शी खरिदका लागि पटक पटक निर्देशन दिएको हो,’ पौडेल निकट स्रोतले उकेरालाई भन्यो ‘मन्त्रीलाई प्राविधिक पक्षको जानकारी हुने कुरा भएन, यसमा कर्मचारीलाई विश्वास गर्ने हो। मिलेमतो प्रमाणित भयो भने टेन्डर प्रक्रिया अगाडि नबढ्न सक्छ। संलग्न कर्मचारी कार्वाहीको दायरामा आउँछन्।’

पुष १९, २०८१ शुक्रबार ००:२२:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।