भन्सार छलेर ल्याएको अबैध सामानसहित पिकअप भ्यान प्रहरी नियन्त्रणमा

भन्सार छलेर ल्याएको अबैध सामानसहित पिकअप भ्यान प्रहरी नियन्त्रणमा

काठमाडौं : रौतहट प्रहरीले अबैध किराना सामानसहित पिकअप भ्यान र चालकलाई नियन्त्रणमा लिएको छ। 

जिल्ला प्रहरी कार्यालय रौतहटबाट गएको गस्ती टोलीले बुधवार गौरस्थित बसपार्क नजिकै चेकजाँचको क्रममा अबैध सामानसहितको उक्त पिकअप गाडी नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायका अनुसार प्रदेश २००१ च ४००० नम्बरको पिकअप भ्यानमा भन्सार छलेर ल्याएको सामान बरामद गरिएको छ।

उनले सीमावर्ती बजार बैरगनियाबाट २ लाख ७१ हजार ९०० रूपैयाँ मूल्य बराबरको चीनी, मैदा, धनियाँ, रिफाइन तेल, सेवई, सुपारी बोकेको  पाइएको जानकारी दिए। 

बरामद गाडी र सामानको कुल ९ लाख ७१ हजार ९०० रूपैयाँ मूल्यांकन गरी जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरी कार्यालयको सूचनामा उल्लेख छ।

पिकअप चालक गौर नगरपालिका-८ का दिनेश राउतसँग आवश्यक सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

नेपाल भारत सीमा क्षेत्रमा पर्ने बन्जरहा, औरैया, मन्सरी, रामपुरखाप, बंकुल नाकाबाट दिनहुँ भारतीय सामग्रीहरूको चोरी निकासी हुने गर्छ। 

पुष १८, २०८१ बिहीबार २१:१६:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।