माओवादीले फेरि दोहोर्याएर भन्यो 'धनराज गुरूङ र ऋषिकेश पोखरेललाई सरकारले जोगाइरहेको छ'

माओवादीले फेरि दोहोर्याएर भन्यो 'धनराज गुरूङ र ऋषिकेश पोखरेललाई सरकारले जोगाइरहेको छ'

काठमाडौं : माओवादी केन्द्रले सरकारले कांग्रेसका उपसभापति धनराज गुरूङ र एमालेका नेता ऋषिकेश पोखरेललाई सहकारी ठगी प्रकरणमा दोषी देखिएपनि संरक्षण गर्ने काम गरेको आरोप लगाएको छ। 

बिहीबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले आफ्ना मान्छे चाहिँ जोगाउने अनि आफूभन्दा टाढाका मान्छे चाहिँ छानी-छानी कारबाही गर्ने काम गरिरहेको बताए। 

उनले भने, ‘भ्रष्टाचार गर्नेहरूको संरक्षणमा सरकार लागिरहेको छ। राम्रो काम गर्नेलाई हटाउने, आफ्ना मान्छे चाहिँ जोगाउने अनि आफूभन्दा टाढाका मान्छे चाहिँ छानी-छानी कारबाही गर्ने। आफ्नालाई जोगाउने कांग्रेस उपसभापति धनराज गुरुङ सहकारीमा जोडिएको सिधै छ तर कुनै कारबाही नै छैन। त्यस्तै, लेखा सभापति ऋषिकेश पोखरेललाई पनि संरक्षण गरिरहेको छ।’ 

उनले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङको उदाहरण दिँदै सरकारले राम्रो काम गर्नेलाई हटाउन खोजिरहेको पनि बताए। 

उनले सरकार विचार शून्य रहेको भन्दै मूल्य, मान्यता र आदर्शपनि सरकारमा नरहेको आरोप लगाए।  

आजको बैठकले केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमाथि छलफल गरेको छ। 

यही पुस २१ देखि बस्ने केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘पार्टी रूपान्तरण र पुनर्निर्माणको सङ्कल्प : आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस गर्ने छन्।  

पुष १८, २०८१ बिहीबार २०:२६:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।