भाइरलको खेलले एउटा प्रतिभाको मुना कलिलैमा चुँडियो
काठमाडौं : आज बिहान बालगायक सचिन परियारले अन्तिम सास फेरे। सिभियर निमोनियाले पल्मोनरी ह्यामरेज भएका सचिन पाँच दिनदेखि त्रिवि शिक्षण अस्पतालको आईसीयूमा भर्ना भई उपचाररत थिए। अन्तत: उनी १३ वर्षकै उमेरमा सधैंका लागि अस्ताए।
गुल्मीको मुसिकोटका सचिन ९ वर्षकोहुँदा चर्चामा आएका थिए। उनी एक युट्युब च्यानलमा दिएको अन्तर्वार्तापछि 'भाइरल' भए। त्यसपछि उनलाई जानाजान भाइरल बनाइयो।
एकपछि अर्को गर्दै युट्युब च्यानलहरूमा सचिन छाइरहे। यो क्रम निकै लामो समयसम्म चल्यो। सचिनको अनुहारको भावभंगी र जबाफ दिने शैली धेरैले रूचाए। खासगरी उनको इन्नोसेन्ट शैलीका कारण उनी भाइरल बने।
उनले बोलेका कुरामा चलेका कलाकारहरूले टिकटक बनाए। टिकटकमा उनको डाइलग ‘के छ हजुर’ एकदमै चर्चित बनेको थियो।
केही समयपछि उनी एकाएक चर्चित दोहोरी कार्यक्रम 'इन्द्रेणी'मा देखिए। त्यहाँ उनले दोहोरी गाए। रमाइला कुराकानी गरे। त्यसपछि उनी रातारात सेलिब्रिटी बने।
अभिनेता राजेश हमालदेखि पछिल्लो समयका कलाकारहरूसँग अभिनय समेत गरे। हास्य श्रृंखला 'मेरी बास्सै'देखि गायन रियालिटी शो 'दोहोरी च्याम्पियन' सम्म देखिए सचिन।
सामाजिक सञ्जालले नै खोस्यो जीवन
मुसिकोटको एक सामान्य जीवन बाँचिरहेका सचिनलाई जब काठमाडौं ल्याइयो, अनि उनलाई आफ्नो जीवन बाँच्न दिइएन। काठमाडौंमा नाम चलेको बोर्डिङ स्कुलमा भर्ना गराइयो। सामाजिक सञ्जालमा जताततै उनलाई छरपस्ट बनाइयो। अन्तत: त्यही सञ्जालले रोगी बनायो। कतिसम्म भने, सडकमै माग्ने बनायो।
यसबीचमा सचिनले के सम्म गरेनन्, अस्मिता अधिकारीसँग 'के छ हजुर' बोलको गीत गाए। रचना रिमालसँग 'सेतो कपास' बोलको गीत गाए, भिडिओमा पनि खेले।
राजु परियार र बीमाकुमारी दुरा जस्ता लोकदोहोरीका अग्रज गायक/गायिकासँग 'दिदी भाइ' बोलको तीज गीतमा स्वर दिए। त्यसपछि उनलाई लिएर गीत बनाउने अनि भिडिओ खेलाउनेको ताँती नै लाग्यो।
नौ वर्षको उमेरमा युट्युबबाट चर्चामा आएको छोटो समयमै दर्शकलाई आफ्नो प्रस्तुतिमार्फत हँसाए, रमाइलो गराए। तर, जब उनले युट्युबरलाई भ्युज दिन छाडे अनि उनी मिल्क्याइए।
अरू त अरू मृत्युको मुखमा पुग्दैगर्दा उनको लागि न आमाको ममतामयी काख भयो न त बुबाको जिम्मेवार साथ नै। चर्चित हुँदा उनले स्कुल भर्ना त पाए तर नियमित जान पाएनन्। कतिसम्म भने सुत्न र खानसमेत राम्ररी पाउँदैनथे सचिन।
अन्तत: सचिन १३ वर्षको उमेरमै चर्चा बटुलेर यो संसारबाट बिदा भए।
जसलाई युट्युबरले प्रयोग गरे
एकबेला सचिनको भिडिओ खिच्न युट्युबरहरूको भ्याई-नभ्याई हुन्थ्यो। तर, जब उनै सचिन अस्पतालको बेडमा जीवन-मरणको दोसाँधमा छटपटाइरहँदा हिजो उनैलाई बिकाएर कमाउनेहरू सान्त्वना दिनसमेत पुगेनन्। उल्टै सहयोगीहरूले संकलन गरेर पठाएको रकमसमेत उनीसम्म पुग्न दिएनन्। देश-विदेशबाट आएको लाखौं रकम बीचका पात्रहरूले गायब पारे।
यही बीचमा युट्युबर भोजराज थापाले सचिनका बाबु तेजेन्द्र परियार सचिनको उपचारको लागि देश विदेशबाट सहयोग लाखौं रूपैयाँ रक्सी खाएर सकेको भनेका थिए। तेजेन्द्रले युट्युबरहरूले दोहोरो भूमिका खेलिरहेकाले आफूसँग आधा रकम मात्र आउने गरेको बताउँथे। केही दिन यता पनि सचिनको स्वास्थ्यमा समस्या आएपछि उनका बुवा तेजेन्द्रले सामाजिक सञ्जालमार्फत आर्थिक सहयोगको माग गर्दै आएका थिए। तर, यसपटक कसैले सहयोग गरेनन्।
सचिनलाई भजाएर तेजेन्द्रले पैसा उठाउने र रात्रि क्लब र दोहोरीमा गएर पैसा खर्च गरेको आरोप छ। कहिले छोरालाई एक क्षण आराम पनि गर्न नदिई महोत्सवहरूमा डुलाउने त कहिले बिरामी भएको भन्दै चन्दा उठाउने गरेको कतिपयले बताउँछन्।
तेजेन्द्रले छोरालाई भजाउन युट्युबरकहाँ पुर्याउनेदेखि मेला-महोत्सवसम्म पुर्याए। आमासँग बस्न चाहन्थे सचिन तर, उनको त्यो इच्छा पनि पूरा भएन। अन्ततः आफैंलाई चिन्न नपाई सचिनको निधन भयो।
प्रतिभाको मुना कलिलैमा चुँडियो
सचिनको निधनमा थुप्रै कलाकार तथा दर्शकहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पुर्याएको भन्दै यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनुपर्छ भन्ने पाठ सिकाएको बताएका छन्।
सचिनको तस्बिर सेयर गर्दै प्रधानमन्त्रीले लेखका छन्, 'एकजना प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पुर्याएको यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनु पर्छ भन्ने सबैलाई पाठ सिकाएको छ।'
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरले प्रभायुक्त प्रतिभाको मुना कलिलैमा चुँडिएको भनेकी छन्।
उनी लेख्छिन्, 'प्रिय सचिन, तिमी अस्तायौ। तिम्रो प्रतिभा पनि तिमीसँगै हरायो। प्रभायुक्त प्रतिभाको मुना कलिलैमा चुँडियो। अर्को जुनी अद्वितीय प्रतिभासँगै पूरा आयु लिएर आउनु।'
हास्य कलाकार सन्दीप क्षेत्री लेख्छन्, 'एउटा बालक जस्ले आफ्नो बालापनको अनुभूति गर्न नपाएरै अस्ताए।'
गायक शिव परियारले 'फेरि कुनै पनि बालबालिकाले सचिनको जस्तो नियति भोग्न नपरोस्' भन्दै श्रद्धाञ्जली दिएका छन्।
गायिका प्रीति आलेले लेखेकी छन्, 'चर्चामा पुग्दा खोसाखोस्, फेरि बिमार परेपछि दोषादोष। जे होस् तिमी निर्दोष थियौ। अद्भूत कला थियो तिमीमा।'
पुष १८, २०८१ बिहीबार १९:५६:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।