सचिन परियारको निधनपछि प्रधानमन्त्रीले भने 'सामाजिक सञ्जालमा भाइरल हुने प्रवृत्तिको असर'
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बालगायक सचिन परियारको निधनमा दुःख व्यक्त गरेका छन्।
आज सामाजिक सञ्जालमा उनले प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पुर्याएको भनेका छन्।
प्रधानमन्त्री ओलीले यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनुपर्छ भन्ने पाठ सिकाएको बताएका छन्।
सचिनको तस्बिर सेयर गर्दै प्रधानमन्त्रीले लेखका छन्, 'एकजना प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पुर्याएको यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनु पर्छ भन्ने सबैलाई पाठ सिकाएको छ।'
बिहीबार बिहान सिभियर निमोनियाले पल्मोनरी ह्यामरेज भएका कारण सचिनको निधन भएको हो।
गायक सचिनले अभिनेता राजेश हमालदेखि पछिल्लो समयका कलाकारहरूसँग अभिनयसमेत गरेका छन्।
उनी आफैंले गाएको गीत ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’चर्चामा रहेका छन्।
पुष १८, २०८१ बिहीबार १८:११:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।