मेलम्चीको पानी बाह्रै महिना बन्द हुने छैन : मन्त्री यादव
काठमाडौं : खानेपानी मन्त्री प्रदीप यादवले आगामी वर्षदेखि वर्षातको समयमा पनि मेलम्चीको पानी बन्द नहुने गरी काम भइरहेको बताएका छन्।
बिहीबार मन्त्रालयमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा मन्त्री यादवले प्रत्येक वर्ष वर्षातको समयमा मेलम्चीको पानी बन्दै गरिँदै आएको भएपनि आगामी वर्षदेखि बन्द नगरी काठमाडौं उपत्यकाका नागरिकलाई बाह्रै महिना शुद्ध पानी खुवाउने गरी काम भइरहेको बताए।
उनले भने, ‘बिगतका वर्षमा वर्षा सुरू हुने बित्तिकै मेलम्चीबाट आउने पानी बन्द हुने गर्थ्यो, अब हामीले वर्षातको समयभरी नै मेलम्चीको पानी सुचारू गर्ने गरी काम थालेका छौं। आउँदो वर्षबाट बाह्रै महिना नै मेलम्चीको पानी वितरण गर्ने प्रणालीको विकास गर्ने काम अन्तिम चरणमा पुगेको छ। अब वर्षातको समयमा मेलम्चीको पानी बन्द गरिने छैन।’
मन्त्री यादवले अहिले पनि नेपालका विभिन्न जिल्लाका नागरिकले डोकोमा पानी बोक्नुपर्ने अवस्था कायमै रहेकाले नागरिकले खानेपानी डोकोमा बोकेर जोहो गर्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि मन्त्रालयले ठोस कदम चालिरहेको बताए।
उनले भने, ‘म नेपालका तराई, पहाड र हिमाली जिल्लाका विकट गाउँ बस्तीमा पुगी सकेको छु। कतिपय गाउँ त पानीका लागि बसाइँसराइ गर्नु पर्ने अवस्थामा छन्। ती क्षेत्रहरूका नागरिकका लागि शुद्ध खानेपानीको व्यवस्था गर्न म ठोस कदम चाल्दै छु।’
काठमाडौं उपत्यकासहित देशभरीका नागरिकलाई शुद्ध अनि सफा पानी वितरण गर्नका लागि मन्त्रालयले पछिल्लो समय खानेपानीका थुप्रै आयोजनाहरू अघि सारेको बताउँदै उनले मेलम्ची नजिकै रहेको अर्को खोलाको पानी काठमाडौं ल्याउने विषयमा पनि अध्ययन सुरू भएको बताए।
उनका अनुसार हाल मेलम्चीबाट आइरहेको खानेपानी कुनै कारणबस बन्द भएमा अथवा बन्द गर्नु पर्ने अवस्था आइपरे मकवानपुरको सिस्नेरी खोलाबाट १४ करोड लिटर पानी ललितपुरमा ल्याएर नागरिकलाई वितरण गर्नका लागि पनि गृहकार्य भइरहेको छ।
देशका अधिकांश ठाउँमा अहिले पनि खानेपानीको सहज पहुँच नरहेकाले ती स्थानमा खानेपानी आयोजना सञ्चालन गरेर घरघरमा धारा र सबै नागरिकमाझ स्वच्छ, सफा खानेपानी पु¥याउन योजनाबद्ध ढङ्गले काम गरिरहेको मन्त्री यादवले जानकारी दिए।
जलस्रोतको क्षेत्रमा नेपाल धनी मुलुक हुँदा हुँदै पनि यहाँका नागरिकले पानीका लागि आन्दोलन गर्नु पर्ने अनि पिठ्युँमा बोकेर खानेपानीको जोहो गर्नु आफैंमा दुःख कुरो भएको उनको गुनासो छ।
उनले भने, ‘जलस्रोतको क्षेत्रमा धनी देशमा पानी देउ सरकार भन्दै आन्दोलन गर्नु अनि पिठ्युँमा खानेपानी बोकेर जोहो गर्न लाजमर्दो कुरा हो ।’
पुष १८, २०८१ बिहीबार १७:५०:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।