गौशालाको बागमती होटलमा युवतीको मृत्यु : १६ दिनअघि जापानबाट आएका थिए युवक, उतै जाने तयारीमा थिइन् मृतक सुस्मिता

गौशालाको बागमती होटलमा युवतीको मृत्यु : १६ दिनअघि जापानबाट आएका थिए युवक, उतै जाने तयारीमा थिइन् मृतक सुस्मिता

काठमाडौं : काठमाडौंको गौशालास्थित बागमती होटलमा मृत भेटिएकी सुस्मिता खड्काको शरीरमा कतै पनि घाउ चोट लागेको देखिएको छैन।  घटनास्थल मुचुल्का गर्ने क्रममा युवतीको मुखबाट फिँज निस्किएजस्तो पदार्थ देखिएको प्रहरीले जनाएको छ।

२१ वर्षीय कागेश्वर मनोहरा ठेगाना भएकी २१ वर्षीय सुस्मिता एक युवकसँग नयाँ वर्षको अघिल्लो दिन पारेर मंगलबार उक्त होटेलमा गएकी थिइन्। 

भोलिपल्ट ती युवक होटलकै ताला बाहिरबाट लगाएर ‘केही बेरमा आउँछु’ भन्दै निस्किएका थिए। तर, उनी फर्केनन्। 

त्यसपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए। स्थानीय जनप्रतिनिधिसहितको उपस्थितिमा बुधबार दिउँसो ताला फुटाएर हेर्दा सुस्मिता कोठामा मृत अवस्थामा भेटिएकी  जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा मृतक सुस्मिता स्नातक तह तेस्रो वर्षमा अध्ययनरत थिइन्। उनी जापान जाने तयारी स्वरूप उनले भाषा कक्षा पढिरहेकी थिइन्।

उता, सुस्मितासँगै होटलमा गएका युवक फरार छन्। ती युवक जापानबाट मंसिर ३० मा नेपालमा आएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन्। ३ वर्षदेखि जापानमा बसेका ती युवक छुट्टीमा काठमाडौं आएका थिए। उनी बिहीबार नै जापान फर्किने तयारीमा थिए।

फरार युवकको पहिचान भइसकेको र पक्राउ गर्न मात्रै बाँकी रहेको प्रहरीले जनाएको छ।  

घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ। 

सुस्मिताको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ।

मृतकका परिवारले प्रहरी वृत्त गौशालामा घटना अनुसन्धानका लागि जाहेरी दिएका छन्।  

पुष १८, २०८१ बिहीबार १६:४३:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।