ओलीलाई आलोचना गरेका भीम रावललाई एमालेको जवाफ '...त्यसैले उहाँको सदस्यता खारेज गरिएको हो'

काठमाडौं : पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि भीम रावलले लगाएको आरोप पुष्पकमल दाहाल प्रचण्डले लगाएको १९ बुँदे आरोपको ‘कपी पेस्ट’मात्र भएको एमालेले जनाएको छ।
बिहीबार च्यासलमा बसेको सचिवालय बैठकपछि बोल्दै एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले २०७७ कात्तिकमा यिनै भाषामा प्रचण्डले १९ पेजको आरोप लगाएको भन्दै त्यही आरोपको कपी पेस्टमात्र भएको बताए।
उनले भने, ‘२०७७ कात्तिकमा लगभग यिनै भाषामा प्रचण्डले १९ पेजको आरोप लगाउनु भएको थियो। एक किसिमले कपी पेस्ट हो। गालीगलौजले देश बन्ने भए एक जमानामा प्रचण्ड र बाबुराम भट्टराईको डिक्सनेरीमा भएका शब्द खोजीखोजी गाली गर्नुहुन्थ्यो। रवि लामिछानेजीहरू त्यसैगरी नै उदाउनुभयो। गालीगलौजले देश बन्दैन।’
उनले रावलले ३१ पृष्ठको दस्ताबेजमा ३० पृष्ठ गालीगलौज अनि पौने पाना अभियान चलाउँछु भनिसकेपछि पार्टीमा कुनै छलफल गरिरहनुपर्ने गम्भीर विषय नरहेको पनि बताए।
उनले भने,‘३१ पृष्ठको दस्ताबेजमा ३० पृष्ठ एक प्यारा गालीगलौज अनि पौने प्यारा अभियान चलाउँछु भनिसकेपछि कुनै छलफल गरिरहनुपर्ने गम्भीर विषय लागेन। अपेक्षित नै हो यो। पार्टी त्यही कारण उहाँको सदस्यता कायम नरहने निष्कर्षमा पुगेको हो।’
बुधबार पत्रकार सम्मेलन गरेका रावलले प्रेस वक्तव्यको ३१ पाना ओलीविरूद्ध आलोचना र प्रश्न गर्न खर्चिएका थिए। एमालेको रंग खुइलिएर बामाले (बाको मात्र नाम लेउ) मा परिणत भएको उनको आरोप छ।
पुष १८, २०८१ बिहीबार १६:१७:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।