आत्मसम्मान र स्वभिमानको विषय उठाउँदै ‘सक्किगोनी’बाट बाहिरिए धतुरे, चार महिनापछि मन माझेर फर्किए काकु
काठमाडौं : हास्य टेलिश्रृखंला ‘सक्किगोनी’मा आजकल विवाद र झमेलामा चलिरहेको छ। कतै सम्मान र स्वाभिमानको कुरा छ त कतै बीमा र पारिश्रमिकको। त्यसैको असरका कारण अहिले टेलिश्रृंखलाका मुख्य कलाकार धतुरे अर्थात सीपी पुडासैनी बाहिरिएका छन्।
‘सक्किगोनी’ छाडेपछि पुडासैनीले आफ्नो जन्मदिनको दिन केही युट्युबर बोलाएर सम्मान र स्वाभिमानमा प्रश्न उठेपछि छोडेको बताए। यसका अलावा कलाकारको बीमाको कुरामा समेत कुमार कट्टेल र अर्जुन घिमिरे (पाँडे)ले बेवास्ता गरेको उनको भनाइ छ।
‘टिममा रहने वा नरहने भन्ने कुरामा आत्मसम्मान र स्वभिमानका विषयहरू पनि हुन्छन्। धेरै कुराले प्रभाव पार्छ नि,’ उनले भने, ‘हामी कलाकर्मीहरूको इन्स्योरेन्स हुनैपर्छ। सक्किगोनीमा पनि मेरो माग थियो तर कसैले सुनेनन्।’
यतिबेला उनी मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)को टेलिश्रृंखला ‘हल्का रमाइलो’मा जोडिएका छन्।
धतुरेले छाडेको केही समयपछि नै दुई महिनादेखि छाडेका कलाकार दीपक आचार्य टिममा जोडिन फर्किएका छन्। फिल्म ‘लाज शरणम्’ निर्माण गर्दाको समयमा आफ्नो दुःख नदेखेको र टिममा नराखेको भन्दै चित्त दुखाएर बाहिरिएका थिए उनी।
उनले यो टिमबाट बाहिरिएर आफ्नै लेखन तथा निर्देशनमा फिल्म ‘परान’ निर्माणको घोषणा नै गरेका थिए, जुन चलचित्र विकास बोर्डमा दर्ता समेत गराए। दर्ता भए पनि फिल्म निर्माणको चरणमा भने उनी पुगिसकेका छैनन्।
‘सक्किगोनी’को ८३ एपिसोडमा झुलुक्क देखिएपछि उकेराले उनलाई ‘सक्किगोनीमा फर्किनुभएको हो?’ भनेर सोधेको थियो जवाफमा उनले आफू कहिल्यै पनि नबाहिरिएको दाबी गर्न भ्याइहाले।
उनले भने, ‘मैले न कहिल्यै बाहिरिएको भनेको छु, न म भित्रिएँ भनेर नै भन्छु।’
श्रृंखलामा कुमार कट्टेल, अर्जुन घिमिरे, दीपक आचार्य, कमलमणी नेपाल, रक्षा श्रेष्ठ, सुरक्षा इटानी, सुस्मिता कुँवर लगायतका कलाकारहरूले अभिनय गरिरहेका छन्।
पुष १८, २०८१ बिहीबार ११:१८:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।