उकेरा टप फाइभ : चार कठ्ठा जग्गा खान दुई पटक मारिएका बलबहादुरदेखि भगवती माविको सफलतासम्म
काठमाडौं : ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरू भएको छ। जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात भएको मान्यता छ। पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवत्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ। आजै १२औं राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइयो।
यसैबीच नयाँ वर्ष सन् २०२५ को अवसरमा जनमत पार्टीले धोती दिवस मनाएको छ। जनमत पार्टीका अध्यक्ष सीके राउतसहितका नेता कार्यकर्ताहरूले माइतीघर मण्डलामा भेला भएर धोती दिवस मनाएका हुन्। माइतीघर मण्डलामा भेला भएका अध्यक्ष राउतले आजको दिन एकल जातजातिले मात्र मनाउने भेषभुषा नभएको बताए।
एमालेबाट निष्कासित नेता डा. भीम रावलले आफूले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता प्रयास गर्दा असफल भएको बताएका छन्। आगामी यात्राबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भेटका लागि आफूले प्रयास गर्दा समेत ओलीले फोनै नउठाएको आरोप लगाए। त्यसक्रममा उनले ओलीलाई ७४ प्रश्न गरेका छन् भने आलोचनाको लिस्ट लामै छ। उनले नयाँ देशभक्ति शक्ति निर्माण गर्ने पनि भनेका छन्।
एकीकृत समाजवादी र पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीचको वार्ता सकारात्मक भएको छ। मंगलबार आलोकनगरमा शीर्ष नेतासँग भएको छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता गौतमले वार्ता धेरै सकारात्मक रहेको भन्दै चाँडै पार्टी एकता हुने जानकारी दिए।
स्विट्जरल्याण्डमा आजदेखि सार्वजनिक स्थलमा हिजाब, बुर्का वा अन्य कुनै पनि माध्यमले अनुहार छोप्न प्रतिबन्ध लगाइएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार यस कानूनको उल्लंघन गरेमा एक हजार स्विस फ्र्याङ्क अर्थात् एक लाख ५१ हजार नेपाली रूपैयाँसम्म जरिवाना तिर्नुपर्नेछ। सन् २०२१ मा स्विजरल्याण्डमा भएको जनमत संग्रहमा ५१.२१ प्रतिशत नागरिकले बुर्कामाथि प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेका थिए।
अब आज उकेरामा प्रकाशित टप पाँच समाचार
पुराना र जीर्ण भवन। भाँचिएका डेस्कबेन्च अनि सरकारी शैलीको पठनपाठन। अव्यवस्थित शौचालय। कक्षा १२ सम्मको विद्यालयमा जम्मा दुई सय जना मात्रै विद्यार्थी। शंखरापुर नगरपालिकाको साँखु बजारमा अवस्थित भगवती माविको १० वर्षअघिको अवस्था हो यो। यस अवधिमा विद्यालयमा विद्यार्थी संख्या यसरी घटे कि विद्यालय मर्ज नै हुने हो कि भन्ने अवस्थासम्म पुग्यो। तर, आज दश वर्षपछि सो विद्यालयको अवस्था फेरिएको छ।
पूरा समाचार: गरे हुन्छ त : विद्यार्थी नपाएर मर्ज हुने अवस्थामा पुगेको भगवती मावि १० वर्षमै बन्दैछ ‘मेगा विद्यालय’
एउटा व्यक्तिको मृत्यु कति पटक र कति ठाउँमा हुन्छ? एक पटक र एकै ठाउँमा। तर, सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका एक पुरुषको दुई पटक मृत्यु भयो, त्यो पनि फरक-फरक ठाउँमा। पहिला उनको नेपालमा मृत्यु भयो। त्यसको दुई वर्ष, दुई महिनापछि पुनः भारतमै उनको मृत्यु भयो। यसरी दुई पटक, दुई ठाउँमा मृत्यु भएका व्यक्ति हुन् वीरेन्द्रनगर नगरपालिका वडा नम्बर २ गुप्तिपुरका बलबहादुर बुढा। उनको मृत्यु २०६५ जेठ ९ मा भएको हो। तर उनको नामको सम्पत्ति हत्याउन उनका परिवारका सदस्यले मृत्यु मिति र मृत्यु स्थानै बदलिदिए।
पूरा समाचार: चार कठ्ठा जग्गा खान एक व्यक्तिलाई दुई पटक 'मारियो', अंश खोज्दै छोरा आएपछि खुल्यो परिवार र वडाध्यक्षको बदमासी
अधिकांश वाणिज्य बैङ्कहरूको अति नै संवेदनशील ई-बैंकिङ प्रविधिको व्यवस्थापन गर्ने कम्पनी एपवानसफ्ट सिस्टमभित्र प्रवेश गरेर ह्याकरले ३ करोड बढी रकम चोरी गर्यो। सेवा प्रदायककै सिस्टमभित्र प्रवेश गरेर पैसा चोरी भएको घटनाले एफवानसफ्टको सिस्टम प्रयोग गर्ने अन्य बैंकको ई-बैङ्किङ प्रणाली समेत जोखिममा रहेको देखिन्छ। सिटिजन बैङ्कमा रहेको एफवानसफ्टको खाताबाट तीन महिना अगाडि रकम चोरी भएको थियो। सो बैंकमा रहेको एफवानसफ्टको खाताबाट चोरिएको रकम अझैँ फिर्ता हुन सकेको छैन नै, कसरी चोरी भयो त्यो समेत रहस्यमै देखिन्छ।
पूरा समाचार: इन्टरनेट बैंकिङ प्रणालीको सुरक्षामा राष्ट्र बैंकको खेलाँची, ९० प्रतिशत ओगटेको एफवानसफ्टको सिस्टममा ‘अन्तर्राष्ट्रिय ह्याकर’ छिर्दा पनि निष्क्रिय
साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पूर्व महामन्त्री डा. मुकुल ढकालले रास्वपाको कोर्स करेक्सन गर्ने बेला आएको बताएका छन्। पार्टीका कोशी प्रदेश सभापति राजेश तिम्सिना र मधेशका सभापति तपेश्वर यादवले मुकुललाई फिर्ता ल्याउनुपर्ने भन्दै कार्यवाहक सभापति डीपी अर्याललाई पत्र लेखेका थिए। त्यसपछि प्रतिक्रिया दिँदै ढकालले सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने अदालतबाट दोषी ठहर भए आफू स्वतः पार्टीमा फर्किने र निर्दोष देखिए माफी माग्ने बताए।
पूरा समाचार: अदालतले रविलाई दोषी ठहर गरे रास्वपामै फर्किने छन् मुकुल ढकाल
यमनका राष्ट्रपतिले यमनमा जेलमा रहेकी भारतीय नर्स निमिषा प्रियालाई दिइएको मृत्युदण्डको सजायलाई अनुमोदन गरेका छन्। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले यसको पुष्टि गरेका छन्। परराष्ट्र मन्त्रालयले यस विषयमा सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिएको छ। केरलाकी निमिशामाथि यमनका नागरिक तलाल अब्दो महदीको हत्या गरेको आरोप छ।
पूरा समाचार: यमनमा भारतीय नर्सलाई फाँसी दिइँदै, राष्ट्रपतिले दिए मञ्जुरी
पुष १७, २०८१ बुधबार २१:४८:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।