तितोसत्य टिम तितरबितर भएपछि सक्किगोनी टिमको हलमा परीक्षण, अघोरी र विजयलाई देखाएर प्रचार सुरु

तितोसत्य टिम तितरबितर भएपछि सक्किगोनी टिमको हलमा परीक्षण, अघोरी र विजयलाई देखाएर प्रचार सुरु

काठमाडौँ : हास्यरसले भरिएको टेलिसिरियलको लोकप्रियतालाई फिल्ममा परीक्षण गर्न आउँदा ‘तीतोसत्य’ टिम सफल भयो। दीपकराज गिरी अनि दीपाश्री निरौलाको नेतृत्वमा अन्य टेलिसिरियलका हास्य कलाकारसमेत भेला पारेर निर्माण गरिएका फिल्म समीक्षकको नजरमा पास भएनन् तर आर्थिक रूपमा फाइदाजनक भए।

छक्कापञ्जाको नामक पछाडि अङ्क जोड्दै पाँचसम्म पूर्याउँदा लगभग अब दीपक र दीपा मात्र बाँकी देखिन्छन् टिममा। जितु नेपालसहितका बहुमत त पहिला नै समूहबाट बाहिरिइसकेका थिए।

छक्कापञ्जा ५ को बेलामा ‘माग्ने राजा’ नामकरण गरिए पनि अन्तिम समयमा पुरानै ब्रान्डमा फर्किएपछि अहिले केदार घिमिरे पनि अर्कै टिमसँग मिलेर यही नामको फिल्ममा अभिनय गर्दैछन्।

उता तितोसत्य एन्ड कम्पनी छिन्नभिन्न भएको बेलामा अर्को हास्य सिरियलको टिम फिल्म ‘लाज शरणम्’ निर्माण गरेर प्रचारमा जुटेको छ। प्रारम्भमा टेलिभिजनहुँदै अहिले युट्युबमा केन्द्रित सक्कीगोनी टिम मिलेर बनाएको यो फिल्ममा अधिकांश कलाकार त्यही सिरियलकै छन्।

निर्माण टिमले बुधवार सार्वजनिक गरेको फिल्मका तीन पोस्टरमा विजय बराल बाहेक सक्किगोनी कै सदस्यहरू हाबी छन्। पोस्टरमा रहस्यमय पात्रको रूपमा अघोरी पात्रलाई प्रमुख प्राथमिकता दिइएको छ। अन्य कलाकारहरूको गेटअप समेत सक्किगोनीकै गेटअप दोहोर्याएका छन्।

निर्माण टिमका अनुसार फिल्ममा हरिस निरौला (क्रकोज), विजय बराल, सागर लम्साल (बले) र अर्जुन घिमिरे (पाँडे) सँगै मुकुन्द श्रेष्ठ, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बुको अभिनय रहेको छ।

फिल्ममा सक्किगोनि टिमका पाँडे, बले, कक्रोज, प्रियाना आचार्य (मुन्नी), बबिन राई (गल्फने बाजे), रामभजन कामत, कमलमणि नेपाल (खुपीका बाउ) लगायतका कलाकार छन्।

फागुन १४ को रिलिज मिति तोकेको फिल्म कुमार कट्टेल (जिग्री ब्रो’को निर्देशनमा बनेको हो। सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माता छन्।

पुष १७, २०८१ बुधबार २०:४९:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।