दुई घण्टा लगाएर केपी ओलीको विरोध गरेका भीम रावलको आफ्नो भिजन चाहिँ के?

दुई घण्टा लगाएर केपी ओलीको विरोध गरेका भीम रावलको आफ्नो भिजन चाहिँ के?

काठमाडौं : एमालेबाट निष्काशित नेता डा भीम रावलले आगामी राजनीतिक यात्राबारे जानकारी दिन बुधबार पत्रकार सम्मेलन गरे। 

साढे २ घण्टा खर्चिएका रावलले कम्युनिष्ट पार्टीमा ५१ वर्ष लामो योगदान अनि एमालेले गरेको कारबाहीबारे चर्चा गरे। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि व्यंग्य गर्दै कविता वाचन गरेर आफ्ना कुरा राख्न थालेका रावलले पूरापूर समय ओलीकै आलोचनामै सक्काए। 

त्यसो त यो पत्रकार सम्मेलन पार्टीको घोषणा गर्नको लागि आयोजना गर्ने उनको पूर्व रणनीति थियो। तर, आवश्यक तयारी नपुगेपछि उनले ओलीलाई ६४ वटा प्रश्न सोध्न अनि आलोचना गरेरै बिट मारे। 

रावलले मनाङमा पार्टीका उम्मेदवारलाई फिर्ता गराएर दीपक मनाङे (राजीव गुरुङ) लाई अध्यक्ष ओलीले मन्त्री बनाएको आरोप लगाएका छन्। त्यसका लागि पार्टीका महासचिव शंकर पोखरेललाई खटाएको उनको दाबी छ। 

एमालेको रंग खुइलिएर बामाले (बाको मात्र नाम लेउ)मा परिणत भएको उनको आरोप छ। 

ओलीले आफ्नै घोषित सिद्धान्त, नीति र लक्ष्यका साथै नेपालको संविधानको मार्ग निर्देशनलाई समेत अवमूल्यन गरेको भन्दै रावलले थपे, 'एमालेको रंग खुइलिएर बामाले (बाको मात्र नाम लेउ) मा परिणत भएको छ भन्नु पर्दा अत्यन्त दुःख लाग्छ।'

त्यतिमात्र हैन, उनले ओली सत्ताको दुरूपयोग गरेर तानाशाह बन्न खोजेको आरोप लगाए। आफूलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय केपी ओलीले आफूप्रति गरेको चरम प्रतिशोध भएको उनको दाबी छ। 

उनले भने, 'मेरो ४९ वर्षको पार्टी सदस्यता खोस्ने र ५१ वर्षको राजनीतिक जीवन समाप्त गर्न खोज्ने, पार्टीले प्रतिक्रियावादी र देशद्रोही भनिएकाहरू भ्रष्ट, अनैतिक, विचौलिया र दलालहरूसँग साँठगाँठ गरी केपी ओलीले देशमा के सुशासन र समाजवाद ल्याउन खोजेको भनेर पत्याइदिनुपर्ने हो र?'

ओलीमा झुटा कुराको लत बसेको आरोप भन्दै रावलले पत्रकार सम्मेलनबाटै उनलाई स्पष्टीकरण सोधेका छन्। 

रावलले चितवनमा भएको एमालेको १०औं महाधिवेशनमा आफूलाई षड्यन्त्र गरेर हराएको दाबी गरे। उनले सौराहामा सम्पन्न महाधिवेशनमा ओली गुटले आफूनिकट महाधिवेशन प्रतिनिधिहरूलाई धम्क्याएको, मतदान नगर्न दवाब दिएको समेत रावलले आरोप लगाए। 

तर, दुई घण्टा बढी बोलिसक्दा पनि रावलले भावी योजना, बाटोबारे के गर्ने भनेर प्रष्ट कार्ययोजना ल्याएका छैनन्। उनले आफ्नो प्रेस वक्तव्यको ३१ पाना ओलीविरूद्ध आलोचनामा खर्चिँदा आफ्नो भावी योजना एक पानामै सीमित गरे। 

देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण अपरिहार्य बनेको भन्दै रावलले अब वैकल्पिक राजनीतिक शक्ति निर्माणको घोषणा पनि गरेका छन्।

पुष १७, २०८१ बुधबार २०:३०:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।