ओलीको आलोचनामै सीमित भीम रावलको निष्कर्ष : एमालेको रंग खुइलिएर बामालेमा परिणत भयो
काठमाडौं : एमालेबाट निष्काशित नेता डा. भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीविरूद्ध प्रश्नको वर्षासहित आलोचानै-आलोचना गरेका छन्। बुधबार पत्रकार सम्मेलन गरेका रावलको प्रेस वक्तव्यको ३१ पाना ओलीविरूद्ध आलोचना र प्रश्न गर्न खर्चिए।
रावलले मनाङमा पार्टीका उम्मेदवारलाई फिर्ता गराएर दीपक मनाङे (राजीव गुरुङ) लाई अध्यक्ष ओलीले मन्त्री बनाएको आरोप लगाएका छन्। त्यसका लागि पार्टीका महासचिव शंकर पोखरेललाई खटाएको उनको दाबी छ।
आफूलाई पार्टीमा रहँदा गरिएका व्यवहारहरू प्रतिशोधपूर्ण भएको गुनासो गरेका रावलले पार्टीका महाधिवेशनदेखि सरकार सञ्चालनसम्ममा ओलीले गरेका क्रियाकलापको असन्तुष्टि जाहेर गर्दै उनले प्रश्न गरे।
एमालेको रंग खुइलिएर बामाले (बाको मात्र नाम लेउ) मा परिणत भएको उनको आरोप छ।
ओलीले आफ्नै घोषित सिद्धान्त, नीति र लक्ष्यका साथै नेपालको संविधानको मार्ग निर्देशनलाई समेत अवमूल्यन गरेको भन्दै रावलले थपे, 'एमालेको रंग खुइलिएर बामाले (बाको मात्र नाम लेउ) मा परिणत भएको छ भन्नु पर्दा अत्यन्त दुःख लाग्छ।'
एमालेले आफ्नो पार्टी सदस्यता खोसिदिएपछि रावलले अब वैकल्पिक राजनीतिक शक्ति निर्माणको घोषणा पनि गरेका छन्।
पुष १७, २०८१ बुधबार १६:१७:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।