सत्ताको दुरूपयोग गरेर तानाशाह बन्न खोजिरहेको भन्दै भीम रावलले ओलीको स्पष्टीकरण मागेपछि...
काठमाडौं : एमालेबाट निष्कासित नेता भीम रावलले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सत्ताको दुरूपयोग गरेर तानाशाह बन्न खोजेको आरोप लगाएका छन्।
बुधबार पत्रकार सम्मेलन गर्दै उनले आफूले पाँच दशकसम्म काम गरेको एमालेमा केपी ओलीबाट भएको क्रियाकलापको विरोध गरेको स्मरण गराए। त्यसपछि आफू देश र जनताको सर्वोपरि हितको लागि वैकल्पिक बाटो हिँड्न बाध्य भएको उनको दाबी छ।
उनले भने ,‘सत्तामा हालीमुहाली गर्ने भनिएकाहरू नै हस्तक्षेप गर्ने उपकरण बनेका छन्, भाडाका सिपाही, श्रमिक, सुसारे, सेवक भएर विदेशमा पसिना बगाउन थुप्रै नेपाली बाध्य भइरहेका छन्।’
उनले एमालेमा विभाजन गर्न खोज्नेहरूलाई मात्रै ओलीले अवसर दिएको तर पार्टी बनाउनेहरूलाई सदस्यबाट निकाल्ने काम गरेको भन्दै आक्रोश पोखे। आफूलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय केपी ओलीले आफूप्रति गरेको चरम प्रतिशोध भएको उनको दाबी छ।
उनले भने, ‘मेरो ४९ वर्षको पार्टी सदस्यता खोस्ने र ५१ वर्षको राजनीतिक जीवन समाप्त गर्न खोज्ने, पार्टीले प्रतिक्रियावादी र देशद्रोही भनिएकाहरू भ्रष्ट, अनैतिक, विचौलिया र दलालहरूसँग साँठगाँठ गरी केपी ओलीले देशमा के सुशासन र समाजवाद ल्याउन खोजेको भनेर पत्याइदिनुपर्ने हो र?’
ओलीमा झुटा कुराको लत बसेको आरोप भन्दै रावलले पत्रकार सम्मेलनबाटै उनलाई स्पष्टीकरण सोधेका छन्।
ओलीले पार्टीमा अन्तरविरोध बढाएको, फरक मतलाई सम्मान नगरेको लगायतका विषयमा प्रश्न उठाउँदै उनले स्पष्टीकरण सोधे।
पुष १७, २०८१ बुधबार १५:३२:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।