'ओलीले मेरो नाममा पद उल्लेख नगरी स्पष्टीकरण सोधेका थिए, भेट्न खोज्दा फोनै उठाएनन्'

'ओलीले मेरो नाममा पद उल्लेख नगरी स्पष्टीकरण सोधेका थिए, भेट्न खोज्दा फोनै उठाएनन्'

काठमाडौं : एमालेबाट निष्कासित नेता डा. भीम रावलले आफूले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता प्रयास गर्दा असफल भएको बताएका छन्।

आगामी यात्राबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भेटका लागि आफूले प्रयास गर्दा समेत ओलीले फोनै नउठाएको आरोप लगाए। 

ओलीसँग गरेको वार्ताबारे भ्रम सिर्जना गरिएको भन्दै उनले सोधे, 'वार्तालाई भ्रम सिर्जना गर्ने वातावरण किन बनाइयो?'

उनले उपमहासचिव प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य कर्ण थापा प्रयासपछि कात्तिकमा भेट्ने तय भएपनि रद्द गरेको बताए। अधिकांश पदाधिकारीलाई फोन गरेर वार्ताको लागि प्रयास गर्दा समेत ओलीको दम्भको कारण चासो नदिएको उनको भनाई छ। 

रावलले आफूलाई सोधिएको स्पष्टीकरणबाट स्पष्टीकरण वा दोष पत्र भन्ने द्विविधामा परेको बताए। 

'६ कात्तिकमा स्पष्टीकरण हात पर्यो। मैले पत्रलाई राम्रोसँग गम्भीर भएर पढें। स्पष्टीकरण पत्र हो कि दोष पत्र भन्ने द्विविधा भयो। पत्र भीमबहादुर रावल नेकपा एमालेलाई लेखिएको रहेछ। मेरो नाममा सदस्य वा पद उल्लेख गरिएको छैन। म छक्क परें, उनले भने। 

उनले अध्यक्ष ओलीलाई सोधेका छन्, 'पार्टीको सदस्य वा कुनै स्थान नभएको व्यक्तिलाई स्पष्टीकरण सोधिन्छ र?'

यसरी आफ्नो नाम र पद उल्लेख नहुनुलाई केपी ओली गुटको पूर्वाग्रह र चरम द्वेष देखिएको उनको भनाई छ।  

पुष १७, २०८१ बुधबार १५:०९:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।