‘धोती भैया भनेर हेप्न पाइँदैन’
काठमाडौं : नयाँ वर्ष सन् २०२५ को अवसरमा जनमत पार्टीले धोती दिवस मनाएको छ। जनमत पार्टीका अध्यक्ष सीके राउतसहितका नेता कार्यकर्ताहरूले माइतीघर मण्डलामा भेला भएर धोती दिवस मनाएका हुन्।
माइतीघर मण्डलामा भेला भएका अध्यक्ष राउतले आजको दिन एकल जातजातिले मात्र मनाउने भेषभुषा नभएको बताएका छन्। उनले आज सबैले आ-आफ्नो मौलिक भेषभुषा लगाउने, आफ्नो भाषा बोल्ने दिवस भएको बताए।
उनले भने, ‘यो एउटा रिमाइन्डर के भने, आज कुनै एउटा एकल जातजातिले मात्र मनाउने भेषभुषा दिवस होइन। सबैले आ-आफ्नो मौलिक भेषभुषा लगाउने, आफ्नो भाषा बोल्ने त्यो दिवस हो। सबैलाई सम्मानको रुपमा भन्नकै लागि कसैले टोपी त कसैले धोती लगाएका छन्।’
उनले मौलिक संस्कृतिमा गर्व गर्ने हिसाबले यो दिवस मनाएको भन्दै सबै नेपालीले संस्कृतिको रुपमा धोती दिवसलाई ग्रहण गर्न समेत आग्रह गरे।
कार्यक्रममा सबै जना मधेशी समुदायले लगाउने धोती लगाएर सहभागी भएका थिए। उनीहरुले ‘धोती हाम्रो शान हो, मधेशीको पहिचान हो’, ‘मधेशी एकता जिन्दावाद’, ‘धोती भैया भनेर हेप्न पाइँदैन’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
पुष १७, २०८१ बुधबार १४:३०:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।