स्वीट्जरल्याण्डमा आजदेखि बुर्का लगाउन प्रतिबन्ध, उल्लंघन गर्नेलाई डेढ लाख जरिवाना

स्वीट्जरल्याण्डमा आजदेखि बुर्का लगाउन प्रतिबन्ध, उल्लंघन गर्नेलाई डेढ लाख जरिवाना

एजेन्सी : स्विट्जरल्याण्डमा आजदेखि सार्वजनिक स्थलमा हिजाब, बुर्का वा अन्य कुनै पनि माध्यमले अनुहार छोप्न प्रतिबन्ध लगाइएको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार यस कानूनको उल्लंघन गरेमा एक हजार स्विस फ्र्याङ्क अर्थात एक लाख ५१ हजार नेपाली रुपैयाँसम्म जरिवाना तिर्नुपर्नेछ।

सन् २०२१ मा स्विजरल्याण्डमा भएको जनमत संग्रहमा ५१.२१ प्रतिशत नागरिकले बुर्कामाथि प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेका थिए।

यसपछि बुर्कामाथि प्रतिबन्ध लगाउने कानून बनेको छ, जुन आज अर्थात १ जनवरी २०२५ (नयाँ वर्ष) बाट सुरू हुँदैछ।

स्विट्जरल्याण्ड भन्दा पहिले बेल्जियम, फ्रान्स, डेनमार्क, अस्ट्रिया, नेदरल्याण्ड र बुल्गेरियामा पनि यस सम्बन्धमा कानून बनेको छ।

यो कानून लागु भएपछि सार्वजनिक कार्यालय, सार्वजनिक यातायात, रेष्टुरेन्ट, पसललगायत सार्वजनिक स्थानमा महिलाले अनुहार पूरै ढाक्न पाउने छैनन्।

कानून २०२२ मा बनेको थियो
सन् २०२२ मा स्विस संसदको तल्लो सदन राष्ट्रिय काउन्सिलले अनुहार छोप्न प्रतिबन्ध लगाउने कानूनमा मतदान गरेको थियो।

यस अवधिमा १ सय ५१ सदस्यले पक्षमा र २९ सदस्यले विपक्षमा मतदान गरेका थिए। त्यसपछि यस सम्बन्धमा कानुन बनेको थियो।

यो प्रस्ताव दक्षिणपन्थी स्विस पिपुल्स पार्टीले राखेको थियो, जबकि सेन्ट्रल र ग्रीन पार्टीहरू यसको विरोधमा थिए। कतिपयले यो कानूनले मुस्लिम महिलालाई अनुचित रूपमा लक्षित गरेको बताएका छन्।

यस कानूनलाई समर्थन गर्नेहरूले यो सार्वजनिक स्थानहरूमा सांस्कृतिक मूल्य र सुरक्षाको लागि आवश्यक कदम भएको बताएका छन्।

लुसर्न युनिभर्सिटीले २०२१ मा गरेको अनुसन्धान अनुसार स्विट्जरल्यान्डमा एकदमै कम मानिसले मात्र बुर्का लगाउने गरेका छन्। यहाँ ३० जना महिलाले मात्र नकाब लगाउँछन्।

२०२१ को तत्थ्याङ्कअनुसार स्विट्जरल्याण्डको ८६ लाख जनसंख्यामा लगभग पाँच प्रतिशत मात्र मुस्लिम थिए, जसमध्ये अधिकांश टर्की, बोस्निया र कोसोभोका हुन्।

यसअघि सन् २००९ मा जनमत संग्रहबाट स्विट्जरल्याण्डमा मिनार निर्माणमा प्रतिबन्ध लगाइएको थियो। स्विस पिपुल्स पार्टी राखेको प्रस्तावमा मिनारहरूलाई इस्लामीकरणको संकेत भएको बताइएको थियो।

बुर्का, नकाब अनि हिजाब
बुर्का एक प्रकारको पर्दा हो, जुन प्रायः अफगानिस्तान र दक्षिण एसियाका मुस्लिम महिलाहरूले लगाउँछन्।

बुर्का भनेको एउटै कपडा हो, जसले पूरै शरीर ढाक्छ। यसमा प्राय: अनुहारको छेउमा पातलो जाल मात्र हुन्छ, जसबाट महिलाले बाहिर देख्न सक्छन्।

युरोप र खाडी देशहरूमा बुर्काको सट्टा नकाब बढी लोकप्रिय छ। नकाब पनि एक प्रकारको कपडा  हो, जसले सामान्यतया अनुहारको तल्लो आधा भाग मात्र ढाक्छ र आँखा वरपरको क्षेत्र खुला रहन्छ।

टाउको, कान र घाँटी ढाक्ने स्कार्फलाई हिजाब भनिन्छ, जसमा अनुहार खुला रहन्छ। यो धेरै मुस्लिम देशहरूमा प्रयोग गरिन्छ।

पुष १७, २०८१ बुधबार १३:२७:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।