गरे हुन्छ त : विद्यार्थी नपाएर मर्ज हुने अवस्थामा पुगेको भगवती मावि १० वर्षमै बन्दैछ ‘मेगा विद्यालय’
काठमाडौं : पुराना र जीर्ण भवन। भाँचिएका डेस्कबेन्च अनि सरकारी शैलीको पठनपाठन। अव्यवस्थित शौचालय। कक्षा १२ सम्मको विद्यालयमा जम्मा दुई सय जना मात्रै विद्यार्थी।
शंखरापुर नगरपालिकाको साँखु बजारमा अवस्थित भगवती माविको १० वर्षअघिको अवस्था हो यो। यस अवधिमा विद्यालयमा विद्यार्थी संख्या यसरी घटे कि विद्यालय मर्ज नै हुने हो कि भन्ने अवस्थासम्म पुग्यो।
तर आज दश वर्षपछि सो विद्यालयको अवस्था फेरिएको छ। नयाँ डेस्क बेन्च, सभाहल, व्यवस्थित शौचालय, तीन कोठाको विज्ञान प्रयोगशाला, कम्प्युटर कोठा, पुस्तकालय, अडियो भिडियो कोठा, म्युजिक कोठा, किचेन कोठा सहितको प्राथमिक तहको र माध्यमिक तहको छुट्टा-छुट्टै भवन।
२०७२ सालको भूकम्पपछि विदेशी संस्था ‘युएसएड’ले विद्यालयको भौतिक स्वरूप फेरियो। भौतिक संरचना फेरिनुअघि २०७० सालमा प्रशासन र विद्यालयको नेतृत्व पनि फेरियो। नयाँ प्रधानाध्यापक बनेर आए अनुप श्रेष्ठ। उनको नेतृत्वमा विद्यालयको भौतिकसँगै शैक्षिक गुणस्तर परिवर्तन भयो।
यो परिवर्तनको लागि सानोतिनो मिहिनेत छैन। त्यसका लागि प्रधानाध्यापक र व्यवस्थापन समितिको योजना र अथक परिश्रम छ। त्यही परिश्रमका कारण अहिले यो विद्यालय पालिकाकै सबैभन्दा उत्कृष्ट विद्यालय बनेको छ। पालिकाभर रहेका २३ सामुदायिक र १३ संस्थागत विद्यालयबाट नगरपालिकाले नै यसलाई ‘उत्कृष्ट’ विद्यालय भनेर छानेको छ।
फराकिलो क्षेत्रसँगै विद्यार्थी संख्या पनि धेरै भएकाले नगरपालिका यस विद्यालयलाई ‘मेगा विद्यालय’ घोषणा गर्ने तयारीमा छ। नगरपालिकाले शिशु तहदेखि १२ कक्षासम्म साढे सात सय विद्यार्थीलाई अध्यापन गराइरहेको विद्यालयमा एक हजार विद्यार्थी संख्या पुगेपछि ‘मेगा विद्यालय’ घोषणा गर्ने तयारी गरेको छ।
‘मेगा विद्यालय’को अवधारणासँगै शिक्षक-विद्यार्थी संख्यामा सन्तुलित बनाएर अघि बढ्नुपर्ने चुनौती आउनसक्ने देखिन्छ। विद्यालयमा अहिले निजी श्रोत र दरबन्दी गरेर जम्मा २२ जना शिक्षक यहाँ कार्यरत छन्।
भगवती मावि नजिकै आधा दर्जन अन्य विद्यालय छन्। ती विद्यालयका बीचमा ‘राम्रो विद्यालय’को छवि बनाइराख्न चुनौतीपूर्ण रहेको श्रेष्ठ बताउँछन्।
‘हामीले चाहेर पनि विद्यार्थीहरू भर्ना गर्न सकिरहेका छैनौँ। साँखुमा यत्तिको राम्रो विद्यालय छैन भन्दै अभिभावकहरू आउनुहुन्छ,’ प्रअ श्रेष्ठले भने, ‘साँखुका प्राय: विद्यालयहरूको भौतिक संरचना त अहिले भव्य नै छ। तर, शैक्षिक गुणस्तरको सवाल पनि उठ्छ। त्यसमा हामी अगाडि छौँ। तत्कालको लागि सिटभन्दा बढी भर्ना लिन सक्ने अवस्थानै छैन।’
उनका अनुसार विद्यालयमा अहिले २० प्रतिशत स्थानीय बालबालिकाहरू पढिरहेका छन्। बाँकी नगरकोटदेखि सिन्धुपाल्चोकसम्मका विद्यार्थीहरू आउने गरेका छन्। शैक्षिक गुणस्तरसँगै विद्यालयको भौतिक अवस्था पनि सुध्रिएपछि अभिभावकमा विद्यालयप्रति आकर्षण बढेको उनको भनाइ छ।
‘हाम्रो यहाँको भगवती मावि काठमाडौं महानगरपालिकाको विश्व निकेतन बराबरकै छ। विद्यार्थीहरू भर्ना नपाएर फर्किन परेको रेकर्ड छ,’ नगरपालिका शिक्षा शाखा प्रमुख रवि शर्मा भन्छन्, ‘भौगोलिक हिसाबले पनि हाम्रो क्षेत्र दुर्गम भएकाले गाउँतिर भन्दा बजारको विद्यालयहरूमा विद्यार्थीको चाप बढी नै छ।’
विद्यार्थीसँगै थपिएका चुनौती
तत्कालीन इपाटोल पुखुलाछी गाविस हुँदा विद्यालयले १४ रोपनी जग्गा चर्चेको भए पनि सार्वजनिक जग्गामा विवाद भएपछि अहिले भगवती मावि १० रोपनी जग्गामा छ। २८ वर्षदेखि यही विद्यालयमा पढाइरहेका श्रेष्ठले प्रधानाध्यापकको जिम्मेवारी सम्हालेको २०७० सालदेखि हो।
आफू प्रधानाध्यापक हुँदा विद्यालयमा जम्मा दुई सय मात्रै विद्यार्थी भएको श्रेष्ठ स्मरण गर्छन्। सोही बेलादेखि प्रत्येक वर्ष दश प्रतिशत विद्यार्थी संख्या बढाउने हिसाबले विद्यालयको भवन डिजाइन गरेको उनी बताउँछन्।
‘हामीले अझै विद्यार्थी संख्या बढाएर गुणस्तरीय शिक्षा दिन सक्छौँ। नगरपालिकाले फर्निचरमा मात्र सहयोग गर्यो भने पनि हामीलाई धेरै राहत हुन्थ्यो’, उनी भन्छन्, ‘विद्यार्थीलाई विद्यालयमा मात्र हैन पढाइमा नै आकर्षित गर्नु पनि अहिले हाम्रो चुनौती हो।’
बजारमै भए पनि विद्यालय परिसरमा कुनै व्यापारिक भवन नभएको कारण आम्दानी नभएको प्रधानाध्यापक श्रेष्ठको गुनासो छ। स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार देशैभरका सामुदायिक विद्यालय स्थानीय तह मातहत अन्तर्गत पर्यो। तर, प्रअ श्रेष्ठका अनुसार यस विद्यालयले भने स्थानीय सरकारबाट पाउनुपर्ने अनुदान नै पाएको छैन।
‘प्रदेश सरकारले बरु राम्रो गरिरहेको भनेर बजेट दिएको छ। तर नगरपालिकाले त बजेट हाल्ने बेलामा किन चाहियो तपाईंहरूलाई बजेट भन्छ,’ उनले भने, ‘नतिजा पनि शत प्रतिशत नै सकारात्मक छ। आन्तरिक आम्दानी कम हुँदा पर्याप्त शिक्षकको व्यवस्था गर्न सकेका छैनौँ। जसले गर्दा अभिभावकबाट सहयोग उठाउनुपर्ने बाध्यता छ।’
‘सरकारी पाठ्यपुस्तकको मात्र भर पर्दैनौँ’
२०६४ सालदेखि दश जोड दुईमा समेत पढाउने अनुमति पाएको विद्यालयमा अहिले दुई सय ५० विद्यार्थी छन्। विद्यालयले पालना गरेका नियम र अभिभावकसँगको सहकार्यका कारण विद्यार्थीहरू बढिरहेको प्रधानाध्यापक श्रेष्ठ बताउँछन्।
अभिभावकलाई अपनत्व बोध गराउन विद्यालयले विद्यार्थीबारे सम्पूर्ण जानकारी दिने र दिने गरेको छ। त्यस्तै सरकारी पाठ्य पुस्तकभन्दा बाहिरका किताबमा पनि विद्यालयले जोड दिने गरेको देखियो। सरकारी पाठ्य पुस्तकको मात्र भर पर्दा विद्यार्थीको क्षमतामा खास फरक नआउने उनको भनाइ छ।
‘सरकारी पाठ्यपुस्तक समयमै आए पनि त्यहाँभित्रका कन्टेन्ट हामीलाई पर्याप्त नै हुँदैन। बिचमा अंग्रेजी मिडियम भन्ने होडबाजी गरिए पनि पछि एकीकृत पाठ्यक्रम लागू भएपछि किताबमा फेरबदल भयो। अनि हामीले सरकारी किताबमा मात्र भर पर्ने अवस्था नै रहेन’, उनले भने।
११ र १२ कक्षाको लागि भने स्तरीय पाठ्यपुस्तक नभएको बताउँदै विद्यालयले सरकारी पाठ्यपुस्तक पढाउनै छाडेको छ।
घर नजिकै बालबालिका पढाउन खोलिएको विद्यालयको इतिहास
आफ्नो बालबालिकालाई नजिकै पढाउने भन्दै तत्कालीन गाविसका वडा नम्बर वडा नम्बर ६, ७, ८ र ९ का स्थानीयले २०३९ सालमा यस विद्यालय सञ्चालन गरेका थिए। सुरूमा मणिचूड पुस्तकालयमा प्राथमिक तहको विद्यालय स्थापना भएको थियो।
भवन नभएकाले स्थानीय पाटीमा पढाइन्थ्यो। तर, त्यतिबेला पनि विद्यार्थीको चाप ९६ जना भएको प्रअ श्रेष्ठ बताउँछन्। २०३९ सालदेखि नै स्थान परिवर्तन हुँदै सञ्चालन भएको विद्यालयले २०५५ सालमा बल्ल आफ्नो भवन बनाउन सक्यो।
अहिले भव्य संरचना र विद्यार्थीको चाप अत्यधिक भए पनि समुदायका स्थानीय विद्यार्थी र अभिभावकको रोजाइमा भने निजी तथा संस्थागत विद्यालय नै परेको देखिन्छ।
‘सरकारी विद्यालय भनेर छाती फुलाएर कुरा गर्न सक्ने अवस्था आएकै छैन। सायद राम्रो गर्न नसकेको सामुदायिक विद्यालयको कारण राम्रो गर्ने सामुदायिक विद्यालय पनि छायाँमा परेको हो कि!,’ प्रअ श्रेष्ठ बताउँछन्, ‘हाम्रो विद्यालयलाई स्थानीय सबले राम्रो नै भन्ने हो। तर आफ्नो बालबालिका पढाउने बेलामा चैँ बोर्डिंग नै लानुहुन्छ। अहिले त आफ्नो बालबालिकालाई महँगो स्कुलमा पढाउने विषय पनि इज्जतसँग जोडिन थालेको छ।’
यस्तो अवस्थामा स्थानीय सरकारले नीति नै बनाएर अघि बढ्यो भने सबै सामुदायिक विद्यालयको गुणस्तर बढ्ने र स्थानीय बालबालिकालाई पनि आकर्षण गर्ने सकिने उनको भनाइ छ।
पुष १७, २०८१ बुधबार ११:४३:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।