उड्डयन प्राधिकरणका महानिर्देशक र पर्यटनमन्त्री पाण्डेको सम्बन्ध : विमान दुर्घटनाको बेलामा आक्रामक, अहिले फिस्स
काठमाडौँ : कानुन बनाउने कर्मचारीले हैन। तर नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नचाहँदा प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायका रूपमा विभाजन गर्ने कानुन बनाउने प्रयास सफल हुन सकेको छैन।
नेपालका वायुसेवा इयुको कालोसूचीमा कायम रहँदा पनि प्राधिकरणका विवादित अधिकारी अधिकार विभाजित गर्ने पक्षमा छैनन्। उनी दुवै अधिकार आफैँमा राख्न शक्तिकेन्द्र रिझाउन सक्रिय छन्।
बद्री पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएपछि उनले कानुन निर्माणको कामलाई गति दिने प्रयास गरेका थिए। निरन्तर भएको हवाई दुर्घटनादेखि लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अनियमिततासम्मका घटनामा अधिकारी जोडिएकाले उनलाई हटाउने प्रयास पनि नभएको हैन। तर अन्तमा मन्त्री पाण्डे आफैँ निरीह भए।
मंगलबार मन्त्री पाण्डे प्राधिकरणको वार्षिकोत्सवमा अधिकारीलाई फकाउने मुडमा प्रस्तुत भए। उनले कार्यक्रममा नियामक र सेवा प्रदायक अलग गर्दा नेपाली आकाश अझै सुरक्षित र भरपर्दो भन्दै सम्झाउने प्रयास गरे।
मंगलबार प्राधिकरणको २६औँ वार्षिकोत्सवमा मन्त्री पाण्डेले विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत भएको र संसदबाट कानुनका रूपमा निर्माण गरेपछि नेपाली आकाश अझै सुरक्षित र भरपर्दो हुने तर्क गरे।
उनले निर्देशक हैन, फकाउने शैलीमा विधेयकमाथि छलफल हुँदा प्राधिकरण कर्मचारीका कुरा समेत समावेश गरिने बताए। उनले कानुन निर्माण गर्दा कुनै कुरामा शङ्का नगर्न समेत आग्रह गरिरहेका थिए।
विमान दुर्घटनामा आक्रामक, अहिले फिस्स
पोखरा उडेको यति एयरलाइन्सको विमान दुर्घटनाको मुख्य कारण विमानस्थल निर्माण गर्दाको प्राविधिक त्रुटि देखिएपछि महानिर्देशक अधिकारी विवादमा तानिएका थिए।
उनी सो विमानस्थल निर्माणमा देखिएको अनियमिततामा समेत छानबिनको दायरामा छन्। उनीसहितका जिम्मेवार पदाधिकारीसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान समेत लिइसकेको छ।
त्रिभुवन विमानस्थलको परिसर भित्रै उडे लगत्तै सौर्य एयरलाइन्सको विमान दुर्घटनामा पर्यो। यसमा पनि अधिकारी विवादमा तानिएका थिए।
उनलाई राज्य व्यवस्था समिति लगायतका संसदीय समितिले बोलाएर प्राधिकरणको कमजोर व्यवस्थापन र अधिकारीको नेतृत्वबारे तीव्र आलोचना भयो। कारबाहीसम्मको माग उठेका थिए।
तर मन्त्री पाण्डे अगाडि बढ्न सकेनन्। सरकारले उनीमाथि सुरु गरेको कारबाहीको तयारी बिचैमा तुहियो। अहिले आएर मन्त्री पाण्डे अधिकारीलाई निर्देशन हैन फकाउने तहमा पुगेको मंगलबार देखियो।
पुष १६, २०८१ मंगलबार १९:१९:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।