ब्राड पिट र जोलीको आठ वर्ष लामो सम्बन्ध विच्छेद विवाद टुंगियो

ब्राड पिट र जोलीको आठ वर्ष लामो सम्बन्ध विच्छेद विवाद टुंगियो

एजेन्सी : प्रख्यात हलिउड जोडी ब्राड पिट र एन्जेलिना जोलीको आठ वर्ष लामो सम्बन्ध विच्छेद विवाद टुङ्गिएको छ। सम्बन्ध विच्छेदको सर्तहरू भने गोप्य राखिएको छ।

दुवैबीच सन् २०१४ मा विवाह भएको थियो। दुवैको ६ जना सन्तान छन्। सन् २०१६ मा जोलीले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी थिइन्।

जोलीकी कानुनी प्रतिनिधि जेम्स साइमनले पिपल पत्रिकालाई दिएको जानकारी अनुसार जोली अहिले परिवारको शान्ति र स्वास्थ्यमा केन्द्रित छिन्।

‘यो लामो प्रक्रियाको एउटा अंश मात्र हो,’ साइमनले भने, ‘एन्जेलिना थकित भए पनि यो चरण सकिएकोमा सन्तुष्ट छिन्।’

सन् २०१६ मा छुट्टिने निर्णय सार्वजनिक गर्दा दुवै पक्षले यसलाई निजी राख्ने बताएका थिए। तर पछिल्ला वर्षहरूमा विभिन्न अदालती कागजातहरूमा देखिएका विवरणले यो विवाद निकै कटुतापूर्ण रहेको देखाउँछ।

विशेष गरी फ्रान्सको शातो मिरावल वाइन उद्योगको विषयमा दुवै पक्षबीच विवाद देखिएको छ। सन् २००८ मा करिब २५ मिलियन युरोमा किनिएको यो सम्पत्तिमा जोलीले आफ्नो हिस्सा रुसी व्यवसायी युरी शेफलरलाई बेचेको विषयमा पिटले मुद्दा हालेका छन्।

 यसैबीच जोलीले एक निजी विमान यात्राका क्रममा पिटले आफू र बच्चाहरूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी छिन्। पिटले भने यी आरोपहरूको खण्डन गरेका छन्। सन् २०२१ मा अदालतले बच्चाहरूको संयुक्त अभिभावकत्व पिटलाई दिने निर्णय गरेको थियो।

हालै उनीहरूको तेस्री सन्तान शिलोहले आफ्नो नामबाट 'पिट' हटाउन अदालतमा निवेदन दिएकी छिन्। अन्य दुई सन्तानले पनि पिटको थर प्रयोग गर्न छाडेको जनाइएको छ।

पुष १६, २०८१ मंगलबार १८:०८:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।