रविसहितलाई थुनामै राख्ने कि धरौटीमा छाड्ने भन्ने बहस सकिएन, हिरासतमै फर्काइए

रविसहितलाई थुनामै राख्ने कि धरौटीमा छाड्ने भन्ने बहस सकिएन, हिरासतमै फर्काइए

काठमाडौँ : सूर्यदर्शन सहकारीको बचत ठगीका प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाड्ने भन्ने निर्णयका लागि सुरु भएको थुनछेक बहस मंगलबार सकिएन।

मंगलबार सुरु भएको बहसमा सरकारी पक्षले प्रतिवादीहरूलाई थुनामा राख्न माग गर्दै बहस गरेका थिए। मंगलबार सबै पक्षको बहस नसकिएकाले अनुसन्धानका लागि हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित सबै हिरासतमै फर्काइए।

मुद्दामा रविसँगै पूर्वडीआईजी छविलाल जोशी, जीवी राईका पार्टनर लीला पछाई, रामबहादुर खनाल, पूर्वसांसद मिना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङको बयान सकिएपछि थुनछेक बहस सुरु भएको थियो।

रवि, छवि र लिलासहितमाथि भने सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको अभियोग समेत छ।

लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच रुपैयाँ र सहकारी ठगीतर्फ तीन करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर भएको थियो।

प्रतिवादी खनालसँग १४ करोड ३० लाख ९१ हजार नौ सय ११ रुपैयाँ, जोशीसँग ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ, पछाइसँग २४ करोड ६७ लाख सात हजार २४ रुपैयाँ बिगो दाबी गरिएको थियो। 

सहकारी ठगीमा जोशीविरुद्ध पाँच करोड २६ लाख ६५ हजार रुपैयाँ र अर्का प्रतिवादी दीपेश पुनसँग दुई करोड १४ लाख आठ हजार आठ सय ४३ रुपैयाँ बिगो माग गरिएको थियो। बहस बुधवार समेत जारी रहनेछ।

पुष १६, २०८१ मंगलबार १७:४३:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।