सर्टिफिकेट लिन पैसा तिर्ने लाइन बस्दैमा बित्छ दिन, त्रिविको बहाना ‘सफ्टवेयर बन्दैछ’

सर्टिफिकेट लिन पैसा तिर्ने लाइन बस्दैमा बित्छ दिन, त्रिविको बहाना ‘सफ्टवेयर बन्दैछ’

काठमाडौँ : मंगलबार उकेराकर्मी त्रिविको परीक्षा नियन्त्रण कार्यालय, प्रशासन शाखा जाँदा बिहान १० बज्न नपाउँदै लाइन बस्न विद्यार्थीहरूको चाप बढिसकेको थियो। सर्टिफिकेट लिन हरेक दिन कार्यालय परिसर पुग्नेहरूको जम्काभेट पट्यारलाग्दो लाइनसँगै हुन्छ।

अनलाइन बैङ्किङ प्रणालीको प्रयोग बढिरहेको छ। तर त्रिविको परीक्षा नियन्त्रण कार्यालय अझैँ पुरानै ढर्रामा चलेको छ। कागजपत्र रुजु गराऊ, भौचर भरेर लाइनमा बस, पैसा तिरेको भौचर लिएर लेखामा बुझाउन पुन लाइनमा बस। सामान्य कामका लागि एक दिन पुरै बित्छ त्रिविको परीक्षा नियन्त्रण कार्यालयमै।

त्रिभुवन विश्वविद्यालय, रत्नराज्यलक्ष्मी क्याम्पसको पास आउट विद्यार्थी सन्ध्या दुलालले ट्रान्सक्रिप्ट लिन घटौँ लाइन बस्नुपर्ने बाध्यता रहेको र प्रविधिको विकासले समेत समाधान नगरेको भन्दै चित्त दुखाइन्।

‘मोबाइल बैँकिङ्ग मार्फत तिर्न सकिने व्यवस्था गरेको भए तिरेको बिल देखाएर बाँकी काम गर्न सजिलो हुन्थ्यो। तर त्यस्तो सुविधा नै छैन। लाइन नै बस्नुपर्छ, ठेलमठेल छ। यति पैसा मात्रै तिर्न पाए त अरू ठाउँमा त्यति झन्झट छैन’ उनले भनिन्।

त्यस्तै, व्रिलियन्ट मल्टिपल कलेजको पास आउट विद्यार्थी लक्ष्मी तामाङ्गले पनि त्रिविको व्यवस्थापन पक्ष नै कमजोर भएकोले विद्यार्थीले दुख पाइरहेको बताइन।

‘सर्टिफिकेट लिनलाई दिनभरि छुट्टाउनु पर्छ। कामबाटै छुट्टी लिएर मात्रै त्रिवि आए हुन्छ नत्र त सारै दुख पाइन्छ। पहिलो कुरा त भौचर लिनलाई नै लाइन बस्नु पर्ने। त्यसपछि फेरी बैङ्कमा पैसा तिर्नलाई नै लाइन बस्नु पर्ने सारै दुख छ त्रिविमा सर्टिफिकेट लिनलाई’ उनले उकेरासँग भनिन्।

पुस १४ मा त्रिभुवन विश्वविद्यालयले ५० औँ वार्षिक उत्सव मनायो। दीक्षान्त समारोहमा निकै भिड भएको भन्दै अब आउने वर्षदेखि दीक्षान्त कार्यक्रम मोडिलाटी परिवर्तन गर्न लागिसकेको छ।

त्रिविका रेक्टर खडक केसीले आउँदो बर्सहरूमा दीक्षान्त समारोहको मोडिलाटी परिवर्तन गरेर विषय अनुसार डिनको कार्यालयले दीक्षान्त समारोहको कार्यक्रम गर्ने बताए।

‘हामीले दीक्षान्त समारोहको मोडिलाटी परिवर्तन गर्न लागेका हौँ। अब त्रिवि अन्तर्गतका विषय अनुसार दीक्षान्त समारोह हुन्छ। यसको जिम्मा डिनको कार्यालयले लिन्छ’ उनले भने

एक दिनको लागि विद्यार्थीको चाप देखेर दीक्षान्त समारोहको मोडिलाटी परिवर्तनमा लागेको त्रिवि प्रशासनले बर्सेदेखि ट्रान्सक्रिप्ट लिनकै लागि  बल्खुमा धर्ना समान बस्नुपर्ने बाध्यताको अन्त्य भने अहिलेसम्म गरेको छैन। 

यस विषयमा त्रिभुवन विश्वविद्यालयका रेक्टर केसीले आउँदो माघ महिनामा अनलाइन माध्यमबाट भुक्तानीको तयारी गरेको बताए।

‘माघबाट अनलाइन माध्यमबाट बैङ्कको भौचर काट्नकै लागि लाइन बस्नुपर्ने बाध्यता अन्त्य गर्न लागि परेका छौँ। अहिले सफ्टवेयरको काम भइरहेको छ। माघबाट यो समस्या हल हुन्छ’ उनले उकेरासँग भने।  

पुष १६, २०८१ मंगलबार १७:३३:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।