अभिनेता दयाहाङको तर्क : व्यवस्था बदलिएकैले कबड्डी, जारी र कार्साङ जस्ता फिल्म बन्न सके

अभिनेता दयाहाङको तर्क : व्यवस्था बदलिएकैले कबड्डी, जारी र कार्साङ जस्ता फिल्म बन्न सके

काठमाडौँ : एक दशक अघि एउटा धारमा कुदिरहेको नेपाली फिल्मको लहरमा अहिले जातीय संस्कार र संस्कृती विषयको दबदबा बढिरहेको छ। हिजो च्यारिटीको भर पर्नुपर्ने फिल्मका विषयहरू अहिले हिट बनिरहेका छन्। त्यसको कारण फिल्म निर्माण, निर्देशन अनि अभिनयमा त्यही समुदायका सदस्यहरूको बढ्दो प्रभाव देखिन्छ।

हिजोका दिनमा समाज र राज्य प्रणालीसँगै फिल्ममा पनि सीमित वर्गको प्रभाव थियो। जातीय विषयमा बन्ने फिल्म त्यही भाषामा सीमित थियो।

तामाङ संस्कार र संस्कृतिबारे फिल्म तामाङ भाषामा बन्थे। लिम्बु जातीको संस्कार र संस्कृतिबारे त्यही भाषामा फिल्म बन्थे। जातीय भाषामा बन्ने फिल्मको विषयवस्तु बलिया भए पनि सम्पर्क भाषाको रूपमा स्थापित नेपाली भाषामा फिल्म नबन्दा त्यसको प्रभाव पनि कम पर्ने नै भयो। फिल्म पनि च्यारिटी र चन्दाको भरमा टिक्थे।

फिल्म निर्माण गर्ने र अभिनय गर्ने दुबैमा हालीमुहाली रहेको वर्गलाई नयाँ फिल्म निर्माता, निर्देशक अनि कलाकारले चुनौती दिन थाले। त्यसमा राई, लिम्बु,मगर समुदायका निर्माता, निर्देशक अनि कलाकारहरूले साथ दिए।

अनि स्थानीय भाषामा बनिरहेका फिल्मका विषयहरू राष्ट्रिय भाषामा बदलिए। राई,लिम्बू,मगर समुदायका कथाहरू ठुला पर्दामा आउन थाले। फिल्म ‘कबड्डी’लिम्बू समुदायको कथामा बन्यो। ‘जारी’,मगर समुदायको कथामा बनेको फिल्म हो। ‘घर ज्वाइँ’ पनि मगर जातिकै संस्कार र संस्कृति वरपर घुमेको फिल्म हो।

यी फिल्म चल्न चन्दा र च्यारिटीको भर पर्नु परेन। आर्थिक रूपमा सफल भए। निर्माताले मनग्गे कमाए। निर्देशकहरू सफल निर्देशकमा दरिए। कलाकारहरू हिटको सूचीमा चढे। जातीय कला, सामाजिक संस्कार र परम्पराको कथामा बनेका फिल्मको निर्माता बदलिएका छन्। निर्देशक पनि फरक फरक छन्।

अधिकांशमा मुख्य कलाकार भने एकैको वर्चस्व देखिन्छ, दयाहाङ। शेर्पा जातिको परम्परामा आधारित फिल्म कार्साङ रिलिजको तयारीमा छ। यसमा पनि उनै दयाहाङ नै छन्। निर्देशक याम शेर्पा र अभिनेत्री सिर्जना निङलेखु छन् यसमा।

जातीय संस्कार र परम्परामा आधारित फिल्म बन्नुको कारण बदलिएको  राज्य व्यवस्था रहेको दयाहाङको मत छ। हिजो नेपालमा राजतन्त्र थियो। देश हिन्दु धर्ममा आधारित। त्यो बेलामा एकल जाति, एकल भाषा र एकल धर्मको हालीमुहाली थियो। भिन्न भाषाभाषीले स्थान पाएनन्। अहिले शासन प्रणाली बदलिएर गणतन्त्र आयो। एकल भाषाको वर्चस्व छैन अहिले। अनि धार्मिक रूपमा राज्य निरपेक्ष छ।

‘देशमा परिवर्तन र राज्य व्यवस्था परिवर्तनले गर्दा नै जातजातिको फिल्मलाई फिल्म मानिएको हो’ कार्साङको प्रमोसनका लागि आयोजित कार्यक्रममा दयाहाङले भने ‘यदि यो परिवर्तन नभएको यस्ता फिल्म बन्दैनथे।’

उनले पछिल्लो समय बढेको चेतनाले ‘ए हामीले पनि हाम्रो चिज भन्दाखेरि हुँदो रहेछ’भन्ने महसुस गर्न थालेपछि यस्ता विषयमा फिल्म बन्न थालेको बताए। उनले व्यवस्था परिवर्तन नभइदिएको भए यो यस्ता फिल्म बन्थे या बन्दैनथे भन्न नसकिने बताए।

पुष १६, २०८१ मंगलबार १६:२४:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।