महाअभियोग लगाइएका दक्षिण कोरियाली राष्ट्रपति युनविरुद्ध पक्राउ पुर्जी जारी

महाअभियोग लगाइएका दक्षिण कोरियाली राष्ट्रपति युनविरुद्ध पक्राउ पुर्जी जारी

एजेन्सी : दक्षिण कोरियाली अदालतले महाअभियोग लगाइएका निलम्बित राष्ट्रपति युन सुक येओल विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

अनुसन्धानकर्ताहरूका अनुसार यो पक्राउ पुर्जी देशमा सैन्य शासन लागू गर्ने उनको छोटो प्रयासको सम्बन्धमा जारी गरिएको हो।

युनले यस महिना नागरिक शासनलाई केही समयका लागि निलम्बन गरेका थिए। उनको उक्त कामपछि संसद्ले उनलाई राष्ट्रपतिको जिम्मेवारीबाट हटाएको थियो।

‘संयुक्त अनुसन्धान मुख्यालयले अनुरोध गरेबमोजिम राष्ट्रपति युन सुक येओलका लागि पक्राउ पुर्जी र खानतलासी पुर्जी आज बिहान जारी गरिएको छ’, संयुक्त अनुसन्धान मुख्यालयले एक विज्ञप्तिमा भनेको छ।

दक्षिणपन्थी नेता युनले विद्रोहको आपराधिक आरोपको सामना गरिरहेका छन्। यसको परिणाम आजीवन कारावास वा मृत्युदण्डसमेत हुनसक्छ।

निलम्बित राष्ट्रपति तेस्रो पटक सोधपुछका लागि उपस्थित हुन असफल भएपछि अनुसन्धानकर्ताहरूले सोमबार पक्राउ पुर्जीको माग गरेका थिए।

युनलाई प्रहरी चौकी वा सियोल हिरासत केन्द्रमा राख्न सकिने जानकारी दिँदै भ्रष्टाचार अनुसन्धान कार्यालय (सिआइओ)का एक अधिकारीले भने, ‘पक्राउ पुर्जी जनवरी ६ सम्म मान्य छ।’

युनका वकिलले अनुसन्धानकर्ताहरूसँग राष्ट्रपतिको जाँच गर्ने अधिकार नभएको बताउँदै महाअभियोग लगाइएका राष्ट्रपतिको पक्राउ पुर्जीलाई ‘गैरकानूनी र अमान्य’ भनेका छन्।

‘अनुसन्धान गर्ने अधिकार नभएको निकायको अनुरोधमा जारी गरिएको पक्राउ पुर्जी र खानतलासी तथा जफत पुर्जी गैरकानूनी र अमान्य छन्’, वकिल युन काब-केउनले एएफपीलाई पठाएको विज्ञप्तिमा उल्लेख छ।

पक्राउ पुर्जी जारी भए पनि अनुसन्धानकर्ताहरू र प्रहरीले यसलाई कार्यान्वयन गर्न सक्ने वा नसक्ने अस्पष्ट छ। राष्ट्रपति सुरक्षा सेवाले पहिले नै तीनवटा सर्च वारेन्टको पालना गर्न अस्वीकार गरेको थियो।

मंगलबार राष्ट्रपति सुरक्षा सेवाले स्थानीय सञ्चारमाध्यमलाई दिएको विज्ञप्तिमा भनिएको छ, ‘पुर्जीको कार्यान्वयन सम्बन्धी सुरक्षा उपायहरू कानूनी प्रक्रिया अनुसार गरिनेछ।’

तर डेमोक्रेटिक सोसाइटीका वकिलहरूका अध्यक्ष वकिल युन बोक-नामले खानतलासी पुर्जी अस्वीकार गर्न कानूनी आधार भए पनि ‘पक्राउ पुर्जीका लागि त्यस्तो कुनै प्रावधान नभएको बताए।

सम्भावित झडपहरूलाई रोक्ने प्रयासमा सियोलको केन्द्रमा रहेको युनको निवास बाहिर मंगलबार बिहानै प्रहरी परिचालन गरिएको थियो।

युनका समर्थक र उनलाई हटाउन माग गर्ने प्रदर्शनकारीहरू दुवैले उनको निवास घेरेका छन्। स्थानीय सञ्चारमाध्यमले रातभर दुई समूहबीच भएका झडपका तस्बिरहरू प्रसारण गरेका छन्।

पुष १६, २०८१ मंगलबार १३:३५:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।