हरि हजुरबा : सशस्त्र द्वन्द्वले जन्माएको ‘पर्खाइको कथा’
तत्कालीन सरकारविरुद्ध २०५२ सालमा माओवादीले विद्रोह घोषणा गर्यो। देशका शासक सामन्ती भएको भन्दै तत्कालीन सरकारविरुद्धको विद्रोहले युद्धको रुप धारण गर्यो।
युद्धको समयमा आफ्नो सेना बढी देखाउन तत्कालीन विद्रोही माओवादीले विद्यालयबाट विद्यार्थीलाई उठाएर निमुखाको आवाजका लागि बन्दुक नै अन्तिम विकल्प भएको विगुल फुक्दै बन्दुक बोकायो। त्यतिबेला जनता दोहोरो मारमा थिए। विद्रोहीलाई सहयोग नगर्दा उनीहरूबाट मारिने पिर, गर्दा सरकार पक्षबाट।
युद्धका कारण सरकार र विद्रोहीसहितका करिब १७ हजार मानिस मारिए। हजारौं अपहरणमा परे अनि बेपत्ता पारिए। शान्ति वार्ता र शान्ति सम्झौता नहुन्जेलसम्म हरेक सर्वसाधारण डर अनि त्रासमै बाँचे।
जब विद्रोही भनिएको माओवादीसँग सम्झौता भयो अनि सर्वसाधारणले खोज्न थाले आफ्ना हराएका आफन्त। कति घर फर्किए कति अझै बेपत्तै छन्। युद्धकालमा अपहरणमा परेका हरि पात्रका बुवा र आमा तथा हजुरबा पात्रको नातिनी कोपिलाको खोजीको कथा हो- नाटक ‘हरि हजुरबा’
मण्डला नाटकघरमा मञ्चन भइरहेको ‘हरि हजुरबा’मा हजुरबाको पात्र अभिनेता विजय बरालले निभाउँदा हरिको पात्र भने कथाका लेखक तथा निर्देशक नाजिर हुसेनले निभाएका छन्।
‘पूर्णबहादुरको सारङ्गी’ फिल्ममा छोराको पर्खाइमा रहेका हजुरबाले ‘हरि हजुरबा’मा विद्रोहीले अपहरण गरेर जंगल लगेको नातिनी कोपिलालाई कुर्छन्। नाटकमा निर्देशक हुसेनले द्वन्द्वको अवस्था र त्यसबाट सर्वसाधारणमा पारेको प्रभावलाई शुक्ष्म ढङ्गले उठाएका छन्। त्यसमा मुख्य र सहायक कलाकारहरूले आफ्नो बेजोड अभिनयले मिठास भरेका छन्।
कथासार
आफ्नो सघंर्ष र युद्धका लागि लड्ने लडाकु नपुगेको भन्दै एसएलसी दिन लागेकी कोपिलालाई विद्रोहीले जबरजस्ती जंगल लैजान्छन्। नातिनी लगेपछि हजुरबा एउटा रुखमुनि बसेर रेडियोमा नातिनीको खबर पर्खेर बस्छन्।
यता हरिका बुवा पेशाले हुलाकी हुन्छन्। उनलाई चोक (सेना)का मान्छेले जंगलका मान्छेलाई खबर पुर्याएको आरोपमा पक्रेर लैजान्छन्। आमाले लेखेको चिठीबाट उनले चोकमा मान्छेले आमाबुवालाई लगेको थाहा पाउँछन्।
बुवालाई खोज्न भनेर हिँडेका हरिले हजुरबुवालाई भेटेपछि उनीहरूले आफन्तलाई पर्खन्छन्। नाटकले पर्खाइको कथालाई आफ्नो मुख्य विषयवस्तु बनाएको छ। चोकका मान्छेले लगेका हरिको बुवाआमा र जंगल लगिएकी हजुरबाको नातिति फर्केर आउलान् कि नआउलान् त्यो थाहा पाउन भने मण्डला नाटकघरमा नै पुग्नुपर्छ।
नाटकमा मिठास भर्न बाँसुरीको धुन र नेपाली फिल्मको पुरानो गीतको पनि सहारा लिइएको छ। नाटकको आर्टमा निर्देशक हुसेनले आफूलाई अब्बल साबित गर्ने प्रयास गरेका छन्। कोरसहरूमार्फत उनले कथा भनेका छन्। नाजिर, विजय र कोरस कलाकारहरूले नाटकको भाव मर्न दिएका छैनन्।
‘माटोबाट सुरु भयो जीवन, माटोमै सकिन्छ
गुँडमा कुर्छ बचेराले माउलाई
मान्छेले कुर्नु त एउटा सासै त रहेछ...’
नाटकमा नाजिर र विजय घरि सेना बनेका छन् त घरि बिद्रोही। उनीहरूको अभिनय अब्बल छ। अभिनयबाटै उनीहरूले कहिले दर्शकलाई भावुक बताउँछन् त कहिले हँसाउछन्। नाटक हेरिरहँदा बोर लाग्न दिँदैनन्।
ब्याकग्राउण्ड म्युजिक सुहाउँदिलो लाग्छ। नाजिर आफैँले लेखेको केहि गीत बज्छ। यहि नाटकमा हरिले हजुरबालाई हँसाउन खोज्छ। उसले युवा अवस्थाको गीत ‘गहिरो गहिरो सागर जस्तै’बाट सुनाउँदा हजुरबाले सम्झन्छन्।
हरेक घटनालाई १ घण्टा १० मिनेट लामो नाटकमा निर्देशक हुसेनले कलात्मक रूपमा (हरिहजुरबा)लाई बाँध्न सफल भएका छन्। उनको पात्र चयन पनि गज्जबको छ।
अन्तमा, नाटकमा कमि कमजोरीहरू नभएका होइनन्। लाइटले पात्रलाई गरेको फोकस पटक–पटक बिग्रिरहेको थियो। हरि र हजुरबाले विद्रोही पात्रको भूमिका निर्वाह गर्दा मजा लाग्दैन। त्यसमा फरक-फरक दुई पात्र भए अझ राम्रो हुनसक्थ्यो।
एउटै पात्र स्टेजमा एकै पटक सेना र बिद्रोही बन्दा दर्शकलाई पचाउन अलि मुस्किल पर्छ।
पुष १६, २०८१ मंगलबार १३:२१:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।