प्रचारप्रसारमा उत्रियो ‘कार्साङ’, झाँक्रीको शक्तिको बखान गरेरै थाकेनन् दया र जितु
काठमाडौं : टिजर र गीत सार्वजनिक गरेसँगै पुस २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कार्साङ’ले प्रचारप्रसारलाई तीव्रता दिएको छ।
सोमबार निर्माण टिमले फिल्मका मुख्य कलाकार दयाहाङ राई, जितु नेपाल र सिर्जना निङलेखुलाई भेला पारेर एक पत्रकार सम्मेलन गर्यो। पत्रकार सम्मेलनमा फिल्मले सिन्धुपाल्चोकमा एउटा शेर्पा गाउँको कथालाई उठाएको देखाउन खोजेको निर्देशक यम शेर्पाले जानकारी दिए।
टिजरमा देखाइएको आगोमा नाचेको दृश्यको बारेमा सञ्चारकर्मीले सोधेको प्रश्नमा अभिनेता दयाहाङ राईले त्यो वास्तविक दृश्य भएको बताए। धामीको शक्तिका कारण यो सम्भव भएको उनको भनाइ छ।
‘सिनेमा हो चिटिङ भइहाल्छ नि भन्नेमा म थिएँ। तर, त्यहाँ भएका धामी झाँक्रीहरूले भने आगोको ताप हाम्रो मन्त्रले मारिदिएको छ भन्नुभयो। डिरेक्टर पनि खासै केही हुँदैन भन्नुहुन्थ्यो। मलाई के गर्नु–गर्नु भयो। ट्राइ चाहिँ गर्छु भन्ने भयो। आगोमा पस्दा पोलेन। उहाँहरूसँग आगोको रापले पनि नपोल्ने ज्ञान रहेछ।’
झाँक्री विद्यालाई अन्धविश्वास भन्ने गरेकोमा असहमति जनाउँदै दयाले आफूलाई झाँक्री विद्यामा विश्वास लाग्ने बताए। उनको कुरामा जितु नेपालले पनि ‘हो मा हो’ मिलाए। सुटिङका समयमा पानी पर्न थालेपछि झाँक्रीकै शक्तिले पानी पार्न रोकेको रोचक प्रसङ्ग समेत उनले सुनाए।
यही फिल्मबाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेकी सिर्जना निङलेखुले फिल्ममा आफूले सक्दो मिहिनेत गरेको भन्दै फिल्म हेर्न आइदिन आग्रह गरिन्।
शेर्पा समुदायको सांस्कृतिक कथावस्तुमा निर्माण गरिएको फिल्ममा दयाहाङ, सिर्जना, जितु र दीयासँगै बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायतका कलाकारको अभिनय रहेको छ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको प्रस्तुति रहेको यो फिल्मलाई निर्माता पुरुषोत्तम प्रधान आफैँले खिचेका हुन्। गोविन्द बोहरा सह–निर्माता रहेको फिल्मको कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पा छन्।
पुष १६, २०८१ मंगलबार १२:४७:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।