प्रो सञ्जयको टिमलाई उपाधि

प्रो सञ्जयको टिमलाई उपाधि

काठमाडौं : प्रो सञ्जय लामाको टिमले सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत सूर्य नेपाल इस्टर्न ओपन प्रो-एमको उपाधि जितेका छन्।

शनिबार धरान गल्फ क्लबमा भएको प्रतियोगितामा प्रो सञ्जयको टिमले १६७ अंक प्राप्त गर्यो। प्रो सञ्जयले ४१ तथा एमेच्योर भुवनेश लिम्बूले ४३, विना सापकोटाले ४२ र श्याम लिम्बूले ४१ अंक बनाए।

नेपाल नम्बर एक प्रो भुवन नगरकोटीको टिम १५९ अंकसहित दोस्रो भयो। भुवनले ३९ अंक बनाउँदा एमेच्योरहरू एसएसपी भीम दाहाल, पूर्णबहादुर राई र बलबहादुर राईले समान ४०-४० अंक बनाए।

प्रो नीरज तामाङको टिम १५५ अंकसहित तेस्रो भयो। नीरजले ३८ अंक जोडे। एमेच्योरहरू दिवस तुलाधर, सिद्धान्त सापकोटा र सुष्मा सिंहले समान ३९-३९ अंक जोडे।

महिलातर्फ ४२ अंक जोडेर विना सापकोटाले उत्कृष्ट खेलाडीको पुरस्कार जितिन्। प्रतियोगितामा होल नम्बर १८ मा सञ्जीव क्षेत्रीले लंगेस्ट ड्राइभ र होल नम्बर १७ मा एसएसपी भीम दाहालले क्लोजेस्ट टु दी पिनको अवार्ड जिते।

प्रतियोगिताका विजयी खेलाडीहरूलाई नेपाल गल्फ संघका उपाध्यक्ष तिलक राई, कोशी प्रदेश गल्फ संघका उपाध्यक्ष भरत तामाङ र धरान गल्फ क्लबका सचिव देवराज राईले पुरस्कार वितरण गरे।

प्रो-एम प्रतियोगितामा १२ प्रो तथा ४८ एमेच्योर गरी कुल ६० खेलाडीले भाग लिएका थिए।

शुक्रबार सम्पन्न सूर्य नेपाल इस्टर्न ओपनमा नीरज तामाङले १७ अन्डर १९३ सहित उपाधि जितेका थिए। उनले शुक्रबहादुर राईको कुलतर्फको रेकर्ड स्कोर बराबरी गर्दै करिअरको दोस्रो उपाधि जितेका हुन्। नीरजले पहिलो दिन ८ अन्डर ६२ खेल्दै नयाँ कोर्स रेकर्ड बनाए।

विष्णुप्रसाद शर्मा ७ अन्डर २०३ स्कोरसहित दोस्रो तथा बलभद्र राई ३ अन्डर २०७ सहित तेस्रो भए। प्रतियोगिताको कुल पुरस्कार राशि आठ लाख ८२ हजार रहेको थियो।

सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत चौथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपन महिना पोखरास्थित हिमालयन गल्फ कोर्समा आयोजना हुनेछ। 

पुष १६, २०८१ मंगलबार १०:२९:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।