सर्लाहीमा उखु बोकेको ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
बरहथवा : सर्लाहीको नयाँरोड सडकखण्डमा उखु बोकेको ट्रयाक्टर र मोटरसाइकल गए राति आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
बरहथवा नगरपालिका-९ शान्ति चोकमा उखु बोकेर हरिवनतर्फ आउँदै गरेको ज १ त ९८७६ नम्बरको ट्रयाक्टर र नयाँरोडबाट बरहथवा जाँदै गरेको ज ४ प ३७७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको थियो।
दुर्घटनामा मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक बरहथवा-५, राजुचोकका हरिन्द्र महतो र सोही स्थानका पुरुषोत्तम दास रहेको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।
महतोको बरहथवास्थित एडभान्स सञ्जीवनी अस्पतालमा र दासको बयोधा अस्पताल वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो। घटनामा संलग्न ट्रयाक्टर, चालक र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए।
पुष १६, २०८१ मंगलबार ०८:१६:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।