उकेरा टप फाइभ : राहदानीको टेन्डरमा बदनियतदेखि २९ वटा फिल्मका कलाकारलाई मेकअप गरेकी उर्मिलाको अनुभवसम्म
काठमाडौं : साई स्वागत सहकारीमा बचतकर्ताको रकम ठगी भएको काठमाडौं महानगरपालिकाको प्रतिवेदनको आधारमा पक्राउ परेका सहकारीका पूर्व अध्यक्ष भरत जङ्गम र कोषाध्यक्ष लुमन दाहाल रिहा भएका छन्। पीडित बचतकर्ताको पैसा फिर्ता गर्ने सहमतिपछि उनलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। उनीहरू बचतकर्ताको करिब पाँच करोड रकम हिनामिनाको अनुसन्धानकोक्रममा पुष ७ मा पक्राउ परेका थिए।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशकै जाली र कपटी व्यक्ति भनेका छन्। प्रधानमन्त्री ओलीको गृहजिल्ला झापामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘अहिलेका प्रधानमन्त्री देशको जाली, झेली, कपटी, बेइमानी। मेरो लागि त यति धेरै जाली, यति धेरै झेली मान्छे उनको ठाउँमा म बोल्दै छु। जालझेल बाहेक उहाँको दिमागमा अरू केही छैन।’ गिरीबन्धु, यति, ओम्नी, वाइडबडी लगायतका फाइल खोलेर छाड्ने उनको दाबी छ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभा सदस्य वामदेव गौतमलाई वरिष्ठ नेता बन्न प्रस्ताव गरेका छन्। तर, गौतमले भने त्यसलाई अस्विकार गरेका छन्। सोमबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा पार्टी एकताबारेको छलफलमा गौतमले भने सक्रिय भूमिकाको माग राखेका छन्। गौतमले भने, 'उहाँले मलाई वरिष्ठ नेता बन्नुस् भन्ने प्रस्ताव गर्नुभयो। मलाई यस्तो किसिमको जिम्मेवारी हुनुपर्छ। केही न केही गरेको हुनुपर्छ।'
एमालेबाट निष्कासित भीम रावलले अब कम्युनिस्ट विचारधारा छाड्ने भएका छन्। उनले अब नयाँ पार्टी पनि गैरकम्युनिस्ट बनाउने भएका छन्। रावलले बुधबार नेपाली कांग्रेसबाट निकालिएका कर्ण मल्ल र सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद तारा जोशीसँगको छलफलमा आफूले परम्परागत ढाँचाका कम्युनिस्ट पार्टी गठन नगर्ने बताए। वाम, प्रजातान्त्रिक समेटेर गैरकम्युनिस्ट पार्टी बनाउने उनको भनाई छ।
संयुक्त राष्ट्रसंघले सोमबार जलवायु परिवर्तनले सन् २०२४ मा चरम मौसम र रेकर्ड तापक्रम ल्याएको भन्दै विश्वलाई ‘विनाशको बाटोबाट’ पछि हट्न आग्रह गरेको छ। राष्ट्रसंघीय मौसम र जलवायु एजेन्सीले एक दशकको अभूतपूर्व गर्मीलाई समेट्दै बिदा हुन लागेको यो वर्ष अहिलेसम्मकै सबैभन्दा तातो वर्षका रूपमा रेकर्ड हुने भएको बताएको छ।
अब आज उकेरामा प्रकाशित टप पाँच समाचार
राहदानी विभागले स्वार्थ समूहको प्रभावमा निश्चित कम्पनीलाई प्रतिष्पर्धामा सहज हुने सर्त राखेर ६४ लाख ई-राहदानी छपाइका लागि नयाँ टेन्डर आह्वान गरेको खुलेको छ। विभागले यस अगाडि गरेको खरिद सम्झौता अनुसार टेन्डर सकिएपछि पुरानो कम्पनीले सोर्सकोडसहितको सफ्टवेयर विभागलाई बुझाउनुपर्ने सर्त रहे पनि करिब दुई अर्ब थप खर्च हुने गरी १० अर्बमा टेन्डर आव्हान गरेको हो।
२०२० डिसेम्बर २० मा विभागले फ्रान्सको ‘आईडीईएमआईए आइडिन्टी एन्ड सेक्युरिटी’ सँग २० लाख थान ई–राहदानी छपाइका लागि दुई अर्ब ४८ करोड रुपैयाँमा सम्झौता गरेको थियो। बिचमा भेरियसनको भरमा उसैले २८ लाख ई राहदानी छपाइको काम पायो। अहिले निकालिएको टेन्डर पनि उसैलाई सहज हुने गरी निर्माण गरेको देखिन्छ।
पूरा समाचार: राहदानीको टेन्डरमा बदनियत, आफ्नो लगानी भएको सफ्टवेयर नलिई नयाँ बनाउन २ अर्ब खर्च गर्दै, फ्रान्सेली कम्पनीलाई ठेक्का दिन प्याकेज सर्त
३७ वर्षअघि ओखलढुंगामा जन्मिएकी उर्मिला लामा पेसाले मेकअप आर्टिस्ट हुन्। २०५७ सालमा उनी घर परिवारको सल्लाहबिनै काठमाडौं भागेर आएकी थिइन्। अनि फुपूको रेस्टुरेन्टमा काम गरिन्। २०५८ सालमा बौद्धमा सानो चिया पसल खोलिन्। त्यसबेला उनको उमेर १४ बर्षको थियो। केही समय बौद्धमा चिया पसल गरेपछि उनी कालो पुल सरिन्। त्यहाँ चिया खानका लागि त्यति बेलाका चल्तीका कलाकारहरू आउने-जाने गर्थे। त्यहीबेला शर्मिलालाई पनि काम परिवर्तन गर्न मन लागेको थियो। त्यसपछि कलाकारहरूकै सल्लाहमा मेकअप आर्टिस्टको काम सिकेर फिल्म क्षेत्रमा लागेको सम्झिन्छिन् उनी।
उनले २०६५ देखी २०७५ सम्म चलेका कलाकारहरूलाई सिंगारिसकेकी छिन्। जुन क्रम अहिले पनि रोकिएको छैन। ‘मैले नीर शाहदेखि सन्दीप क्षेत्रीसम्मको अनुहार मेकअप गरिसकेको छु। यी अनुहारलाई राम्रो बनाउन धेरै मेहनत लाग्ने गरेको मेरो अनुभव छ। तर, धिरेन शाक्य र दिलिप दाइलाई भने सजिलो तरिकाले सिंगार्न सकिन्थ्यो,’ उनले भनिन्।
पूरा समाचार: नीर शाहदेखि सन्दीप क्षेत्रीसम्मको मेकअप गरेकी उर्मिलाको अनुभव : धिरेन शाक्य र दिलिप रायमाझीबाहेक अरूलाई सिंगार्न गाह्रो
आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी समस्या समाधानका लागि तुरुन्त प्रारम्भ हुने गरी अध्यादेश मार्फत ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरे। समस्याग्रस्त घोषणा भएको सहकारी संस्थाको सदस्यले जम्मा गरेको पाँच लाखसम्मको बचत पहिलो प्राथमिकतामा राखी भुक्तानी गर्नुपर्ने व्यवस्था अध्यादेशमा राखिएको छ। अध्यादेशमार्फत राष्ट्रिय सहकारी विकास बोर्ड ऐन, २०४९ खारेज गरिएको छ। अध्यादेशमा अरू के हटाइए, के थपिए?
पूरा समाचार: सहकारी अध्यादेश : के हटाइयो, के थपियो?
आज सोमबार, तमु (गुरुङ) समुदायको ल्होसार अर्थात् नयाँ वर्ष। देशैभर गुरुङ समुदायको बाहुल्यता भएको क्षेत्र सँगै अन्यत्र पनि धुमधामका साथ मनाइँदैछ यो पर्व। देशका विभिन्न भागबाट आएर काठमाडौंमा बसोबास गरिरहेका तमु समुदायले सोमबार आफ्नो मौलिक तथा परम्परागत भेषभुषामा सजिएर सांस्कृतिक झाँकीसहितको र्याली निकालेका थिए। प्रस्तुत छ उकेराको फोटो कथा।
पूरा समाचार: घाटु र सोरठी नाच्दै सर्प वर्गको स्वागतमा रमाए गुरुङ समुदाय
अफगानिस्तानमा तालिबान सरकारले महिलाहरू देखिने सम्भावित घरेलु भवनका सम्भावित स्थानमा झ्यालहरू बनाउन प्रतिबन्ध लगाउने आदेश जारी गरेको छ। अश्लीलता रोक्नका लागि यस्तो गरिएको तालिबानको तर्क छ।
तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले शनिबार जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘नयाँ भवनहरूमा आँगन, भान्सा, छिमेकीको इनार र महिलाहरूले प्रयोग गर्ने अन्य ठाउँहरू देख्ने झ्यालहरू हुनुहुँदैन।’
पूरा समाचार: महिला देखिने ठाउँमा झ्याल राख्न तालिबान सरकारको प्रतिबन्ध, बनेका झ्यालमा पर्खाल लगाउन निर्देशन
पुष १५, २०८१ सोमबार २१:४३:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।