'नक्कली भुटानी शरणार्थी काण्डमा आरजुलाई बचाउन देउवाले ओलीलाई प्रधानमन्त्री खानुस् भनेर अफर गरे'
काठमाडौं : माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान सरकार जनताको चाहना पूरा गर्न भन्दा पनि बिचौलिया, भ्रष्टाचारी र सुशासनका बाधकहरूको रूचि अनुसार बनेको भन्दै जनतन्त्रका मुद्दालाई नजरअन्दाज गरेमा सरकारविरूद्ध सडकमा उत्रने चेतावनी दिएका छन्।
माओवादी केन्द्र प्यूठान जिल्ला, नौबाहिनी गाउँपालिकाको तेस्रो अधिवेशनमा बोल्दै उनले नक्कली भुटानी शरणार्थी काण्डमा कांग्रेस सभापति शेरबहादुर देउवाले पत्नी आरजु राणालाई बचाउन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री किस्तीमा दिएको आरोप लगाए।
उनले भने, ‘देउवा बालकोट पुगेर नक्कली भुटानी शरणार्थी काण्डमा ‘जसरी हुन्छ बचाउनुस्, प्रधानमन्त्री खानुस् भनेर ओलीलाई अफर गरे, बेचन झाहरू पक्राउ परेपछि जसरी हुन्छ हामीलाई बचाउनु प्रधानमन्त्री लिनु भन्ने अफर भयो। बालकोटमा पनि एउटा तरंग भइरहेको थियो। त्यसपछि रातारात गठबन्धन बन्यो। सुशासनको अभियान कमजोर बनाउन, बिचौलियाहरूको डिजाइनमा सरकार बनाए।’
उपमहासचिव पुनले सरकार छोड्दा आफूहरूलाई कुनै चिन्ता नभएको र ८४ सालसम्म माओवादी सरकारमा पनि नजाने बताए।
‘कतिपयले हामीलाई सरकार छोड्दाको पीडा पनि भने। तर होइन। नक्कली भुटानी शरणार्थी, गिरीबन्धु, बाँसबारी छाला जुत्ता जस्ता कुराको छानबिन गर्न थालेपछि सरकार ढालियो,’ उनले भने।
सुशासनको विपक्षमा गठबन्धन र सरकार बनाएकै कारण उपनिर्वाचनमा जनताले कांग्रेस-एमालेलाई दण्डित गरेको र आगामी चुनावमा यो अझ बढ्ने उनको दाबी छ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक पूर्वाग्रह राखेको बताए।
‘रवि लामिछानेमाथि छानबिन गर्ने कुरामा हाम्रो भन्नु केही छैन,’ उनले भने, ‘प्रक्रिया नपुर्याइ मध्यरातमा उठाएर हिँडाउने कुरा नागरिक अधिकार विपरितको कुरा हो।’
पुष १५, २०८१ सोमबार २०:२२:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।