एमालेबाट निकालिएका भीम रावल कम्युनिस्ट पार्टीबाट दिक्क, नयाँ पार्टी 'देशभक्त' बनाउने

एमालेबाट निकालिएका भीम रावल कम्युनिस्ट पार्टीबाट दिक्क, नयाँ पार्टी 'देशभक्त' बनाउने

काठमाडौं : एमालेबाट निष्कासित भीम रावलले अब कम्युनिस्ट विचारधारा छाड्ने भएका छन्। उनले अब नयाँ पार्टी पनि गैरकम्युनिस्ट बनाउने भएका छन्।  

रावलले बुधबार नेपाली कांग्रेसबाट निकालिएका कर्ण मल्ल र सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद तारा जोशीसँगको छलफलमा आफूले परम्परागत ढाँचाका कम्युनिस्ट पार्टी गठन नगर्ने बताए। वाम, प्रजातान्त्रिक समेटेर गैरकम्युनिस्ट पार्टी बनाउने उनको भनाई छ। 

पर्सिको पत्रकार सम्मेलनमा एमालेबाट भएको अन्यायपूर्ण व्यवहारहरूको उजागर गर्दै त्यो कुरा जनतासम्म लगिने र माघ अन्तिमसम्ममा पार्टी घोषणा गर्ने रावलको तयारी छ। 

कम्युनिस्ट पार्टी धेरै भएको र जनता पनि यसबाट सन्तुष्ट नरहेको भन्दै रावलले गैरकम्युनिष्ट पार्टी बनाउन लागेका हुन्। रावलले आज बिहान भएको भेटमा सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद जोशीसँग पनि यही भनेका थिए। 

'कम्युनिस्ट पार्टीहरू धेरै भए। काम गर्नलाई कम्युनिष्ट नाम राखिरहनु आवश्यक पर्दैन भन्ने भीम रावलको कुरा थियो, सांसद जोशीले भने।

रावलनिकट एकिन्द्र कुँवरल वाम, प्रजातान्त्रिक, प्रगतिशील र देशभक्तहरूको नयाँ पार्टी बन्ने जानकारी दिए। 

रावललाई गत पुस १० मा एमालेले संगठित सदस्यसमेत नरहने गरी कारबाही गरेका थियो। आफूलाई निष्कासन गरिनु एमाले अध्यक्ष केपी शर्मा ओलीको तानाशाही र निरंकुश प्रवृत्तिको उपज भएको रावलको दाबी छ।  

पुष १५, २०८१ सोमबार १९:५६:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।