नीर शाहदेखि सन्दीप क्षेत्रीसम्मको मेकअप गरेकी उर्मिला भन्छिन्- धिरेन र दिलिपबाहेक अरूलाई सिंगार्न गाह्रो
३७ वर्षअघि ओखलढुंगामा जन्मिएकी उर्मिला लामा पेसाले मेकअप आर्टिस्ट हुन्। ८ जनाको परिवारमा ३ जना दिदीबहिनी, ३ जना भाइहरूमा उनी माइली सन्तान हुन्। घरको आर्थिक अवस्था राम्रो नभएपछि उनले ८ कक्षा भन्दा माथि पढ्न पाइनन्। पढाइमा अल्पविराम लागेपछि सुन्दर भविष्यको खोजीमा काठमाडौं आइन् २०५७ सालमा।
उनी घर परिवारको सल्लाहबिनै काठमाडौं भागेर आएकी थिइन्। अनि फुपूको रेस्टुरेन्टमा काम गरिन्। काम चाहिँ भाडा माझ्नेदेखी खाजा बनाउनेसम्मको थियो।
‘१३ बर्षको उमेरमा घरबाट भागेर आएको। सुरूमा आउँदा काँ बस्ने, काँ खाने भन्ने नै थिएन। मात्रै काठमाडौं जान पाए हुन्थ्यो भन्ने थियो। अनि काठमाडौं आएपछि आफन्तको रेस्टुरेन्टमा भाडा माझ्ने, खाना-खाजा बनाउने गरें,’ उनले सम्झिन्।
छोरी मान्छे भएर रेस्टुरेन्टमा काम गरेको भन्दै उनका काकाले घर फर्किन सल्लाह दिए। घर फर्किए बापत उनलाई एक तोला सुनसमेत किनिदिने लोभ देखाए। त्यो बेला सुनको मूल्य मात्रै ७ हजार थियो।
तर, काठमाडौंमा केही गर्न भनेर आएकी उर्मिलालाई घर फर्किने मनै थिएन। त्यसैले काकालाई घर नफिर्किने बरू सुनको साटो पैसा दिन आग्रह गरिन्।
‘रेस्टुरेन्टमा काम गरेको घरमा राम्रो मान्नु भएन। काकाले सुन किनिदिने लोभ देखाउनु भयो। तर, म घर गइँन। बरू त्यही पैसाले केही गर्छु भनेपछि ७ हजार काकाले दिनुभयो,’ उनले सुनाइन्।
त्यसबेलादेखि अहिलेसम्म उर्मिला एक पटक मात्रै घर गएकी छिन्, त्यो पनि नागरिकता बनाउन। अहिले भने उनका भाइ बुहारी भक्तपुरमा बस्छन्। आमा पनि काठमाडौंतिरै छिन्। अनि परिवारसँग पनि कुराकानी भइरहेको हुन्छ।
000
१४ हजार लगानीमा चिया पसल
काकाले ७ हजार रूपियाँ दिएपछि रेस्टुरेन्टको काममै मात्र अल्झेर हुँदैन भन्ने लाग्यो उर्मिलालाई। त्यसपछि काकाले दिएको त्यो ७ हजारमा थप ७ हजार सापटी मागेर उनले २०५८ सालमा बौद्धमा सानो चिया पसल खोलिन्। त्यसबेला उनको उमेर १४ बर्षको थियो।
केही समय बौद्धमा चिया पसल गरेपछि उनी कालो पुल सरिन्। त्यहाँ चिया खानका लागि त्यति बेलाका चल्तीका कलाकारहरू आउने-जाने गर्थे। त्यहीबेला शर्मिलालाई पनि काम परिवर्तन गर्न मन लागेको थियो। त्यसपछि कलाकारहरूकै सल्लाहमा मेकअप आर्टिस्टको काम सिकेर फिल्म क्षेत्रमा लागेको सम्झिन्छिन् उनी।
‘मेरो चिया पसलमा पुरानो कलाकारहरू आउनु हुन्थ्यो। सात बर्ष चिया पसल चलाएँ। पछि कलाकारहरूसँग चिनजान हुन थाल्यो। उनीहरूकै सल्लाहमा मलाई पनि मेकअप आर्टिस्टमा काम गर्ने इच्छा लाग्यो। त्यतिबेला महिला मेकअप आर्टिस्ट धेरै नभएपछि राम्रो हुन्छ भन्नुभएको थियो,’ उनी सम्झिन्छिन्।
२१ बर्षको उमेरमा फिल्म क्षेत्रमा जाने निर्णय गरेकी उनलाई कसरी काम गर्ने भन्ने जानकारी थिएन। संयोगले, उनलाई मेकअप आर्टिस्टको रुपमा चिनाउन उनको चिया पसलकै नजिक रहेको ब्युटीपार्लरले सहयोग गर्यो। चिया पुर्याउने क्रममा के कसरी काम गरिँदो रहेछ भनेर उनले हेर्न थालिन् अनि त्यहीबाट उनले मेकअपको काम सिकिन्।
‘पसल अगाडि ब्युटीपार्लर भएकोले त्यहाँ चिया पुर्याउन जाँदा उनीहरुले गरेको काम हेर्न थालें। अनुहारमा लगाउने सामानको नाम पनि टिप्दै सिकेको हो मैले,’ उनले भनिन्।
'धिरेन शाक्य र दिलिप दाइलाई सजिलो तरिकाले सिंगार्न सकिन्थ्यो'
उर्मिलाले मेकअप क्षेत्रमा काम गरेकै अहिले साढे १९ बर्ष भएको उनको अनुमान छ। उनलाई आफूले ठ्याक्कै कहिलेबाट काम गरेको भन्ने जानकारी भने छैन। तरपनि उनले २०६५ देखी २०७५ सम्म चलेका कलाकारहरूलाई सिंगारिसकेकी छिन्। जुन क्रम अहिले पनि रोकिएको छैन।
कामकै दौरान उनले सिंगारेका कलाकारहरूमध्ये पनि धिरेन शाक्य र दिलिप रायमाझीलाई सिंगार्न भने सजिलो रहेको उनी बताउँछिन्।
‘मैले नीर शाहदेखि सन्दीप क्षेत्रीसम्मको अनुहार मेकअप गरिसकेको छु। यी अनुहारलाई राम्रो बनाउन धेरै मेहनत लाग्ने गरेको मेरो अनुभव छ। तर, धिरेन शाक्य र दिलिप दाइलाई भने सजिलो तरिकाले सिंगार्न सकिन्थ्यो,’ उनले भनिन्।
उर्मिलाले अहिलेसम्म करिब २९ वटा फिल्मका हिरो, हिरोइनहरूलाई सिंगारिसकेकी छिन् भने थारू, मैथिली, नेपाली र कैयन् म्युजिक भिडियोका कलाकारहरूलाई पनि सिंगारिसकेकी छिन्। तर पछिल्ला चल्तीका कलाकारहरूसँग भने उनले धेरै काम गरेकी छैनन्।
पछिल्लो समय डिजिटल माध्यमको कारणले पनि अहिले पहिलाको तुलनामा काम पाउन छाडेको उनको अनुभूति छ।
‘पहिला अहिलेको जस्तो डिजिटल थिएन, त्यसैले हाम्रो काम धेरै हुन्थ्यो। अब अहिले डिजिटलको कारणले काम कम आउने गरेको छ। त्यही भएर पनि पछिल्लो समय मैले केही म्युजिक भिडियो र फिल्महरूमा सीमित कलाकार मात्रै सिंगारेको छु,’ उनले भनिन्।
त्यसैगरी उनले विगतमा मेकअप आर्टिस्टको सम्मान र अहिलेमा भिन्न महसुस गरेकी छन्। कुनै समय फिल्म क्षेत्रमा मेकअप आर्टिस्टको लागि बस्ने कुर्सी समेत हुनेमा अहिले खाना खायो/खाएन भनेर सोध्ने व्यक्ति पनि नहुने उनको गुनासो छ।
‘पहिला हामी बस्ने ठाउँ नै छुट्टै हुन्थ्यो। कुर्सीमै मेकअप भनेर लेखेको हुन्थ्यो, त्यही गएर हामी बस्थियौं तर, अहिले त खाना खाएको/नखाएको समेत सोध्दैनन्’ उनले गुनासो पोखिन्।
उर्मिलाका अनुसार पछिल्लो समय धेरै म्युजिक भिडियो हुने भएपनि काम भने जोखिम छ। कोभिड अघिसम्म प्रशस्त काम पाउने भएपनि कोभिड पछि भने सन्तुष्ट हुने खाल्को काम नआएको उनी बताउँछिन्।
‘कोभिड अघिसम्म राम्रो काम थियो। अहिले म्युजिक भिडियोको काम नआएको होइन। तरपनि आफूलाई सन्तुष्ट हुने काम आएको छैन। यो सबै डिजिटल माध्यमको विकासले पनि हुन सक्छ,’ उनले भनिन्।
यसका बाबजुद पनि उनलाई पेशा परिवर्तन गरेर अन्तै जाउँ जस्तो भने लाग्दैन। काम गर्दा कैयन् निर्देशकले विदेश जान सुझाए पनि उनी आफूले गरिरहेको काम परिवर्तन गर्ने विचारमा छैनन्।
‘विदेश जान भन्छन्। तर मेरो अहिलेसम्म त्यस्तो विचार नै आएको छैन। जे हुन्छ त्यही गर्ने भनेर बसेको छु। काम आए गर्दै जाउ भन्ने छ। यति वर्षसम्म गर्छु भन्ने छैन,’ उनी भन्छिन्।
पुष १५, २०८१ सोमबार १९:०५:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।