झापा पुगेर गिरीबन्धु जग्गा प्रकरणमा प्रधानमन्त्री ओलीकै दोष देखेका प्रचण्ड
काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरीबन्धु टि-स्टेट प्रकरणमा प्रधानमन्त्री ओलीको बदमासी रहेको दाबी गरेका छन्।
प्रधानमन्त्री ओलीको गृहजिल्ला झापामा आयोजित माओवादीको खबरदारी सभालाई सम्बोधन गर्दै उनले पहिलोपटक गिरीबन्धु प्रकरणमा प्रधानमन्त्री ओलीले बदमासी गरेको बताए। त्यसअघिसम्म उनले ठाडै गिरीबन्धुमा ओली दोषी रहेको भनेका थिएनन्।
तर, यसपटक भने भ्रष्टाचारको सुई कांग्रेस र एमालेको हेडक्वार्टरतिर सोझिएपछि आफूलाई सरकारबाट हटाएको दाबी दोहोर्याउँदै उनले गिरीबन्धु टि-स्टेटमा ओलीले गरेको बदमासीलाई पर्दाफास गरेरै छाड्ने बताए।
प्रचण्डले भने, 'उहाँ (ओली)ले जालझेल नै गरिराख्नुहुन्छ, तर गिरीबन्धु टि-स्टेटमा उहाँले गरेको बदमासीलाई पर्दाफास गरेरै छाड्छु। गिरीबन्धु ओम्नी, वाइडबडीको फाइल खोल्छु। मलाई अलोकतान्त्रिक शैलीमा हटाइयो। मेरो सुई गिरीबन्धुतिर जाँदै थियो। त्यहाँ जानु भनेको ओलीतिर जाने भनेको हो।'
उनले गिरीबन्धुका अलावा यति, ओम्नी, वाइडबडी लगायतका फाइल खोलेर छाड्ने प्रतिबद्धता दोहोर्याए।
प्रचण्डले ओली जस्ता जाली, झेली, कपटी मान्छे कोही नभएको बताए।
'अहिलेका प्रधानमन्त्री देशको जाली, झेली, कपटी, बेइमानी। मेरो लागि त यति धेरै जाली, यति धेरै झेली मान्छे उनको ठाउँमा म बोल्दै छु, प्रचण्डले ओलीलाई भने, जालझेल बाहेक उहाँको दिमागमा अरू केही छैन।'
पुष १५, २०८१ सोमबार १७:३९:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।