छुटिन नसक्ने र सँगै रहन पनि नसक्ने जोडीको प्रेम कथामा ‘कुस्ती’ बनाउँदै बुद्धि तामाङ

छुटिन नसक्ने र सँगै रहन पनि नसक्ने जोडीको प्रेम कथामा ‘कुस्ती’ बनाउँदै बुद्धि तामाङ

काठमाडौं : तमु ल्होसारको अवसर पारेर कलाकार बुद्धि तामाङको निर्माण रहने फिल्म ‘कुस्ती’ घोषणा गरिएको छ। अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार हुने फिल्मको सार्वजनिक पोस्टरमा धीरज मगर र मिरुना मगर फिचर्ड छन्। यसपटक पोस्टरमा लाइट ग्रीन र लाइट पिङकको प्रयोग गरिएको छ। 

पोस्टरमा धीरज मगरले लाइट पिङ्क ड्रेस लगाएका छन् भने मिरुना मगरले लाइट ग्रीन ड्रेसमा देखिएका छन्। धीरजको स्वभाव लाइट पिङ्क जस्तै छ। उ जेन्टल छ, केयरिङ छ, रोमान्टिक छ र सफ्ट छ। यस्तै, मिरुना लाइट ग्रीन कलरझैं प्रगतिशील सम्बन्ध जोड्ने, हरेक कुरामा पर्फेक्ट खोज्ने स्वभावकी छिन् । फिल्ममा धीरज र मिरुनासँगै बुद्धि तामाङको पनि अभिनय रहने छ। 

अनुषा सिनेमावुड पिक्चर्स प्रालीको व्यानरमा बन्ने फिल्म ‘कुस्ती’मा सम्बन्धमा रहेको एक जोडीको प्रेम कथा देखाइने निर्देशक योञ्जनले बताए। 

उनले भने, ‘उनीहरू एक अर्कालाई धेरै माया गर्छन् तर आ-आफ्नो स्वभावले गर्दा एकसाथ रहन कठिनाइको सामना गरिरहेका छन्।’

कलाकार बुद्धि तामाङले कथावस्तु र टिमका कारण आफू निर्माणमा आएको बताए। उनले भने, ‘म यसै क्षेत्रमा छु। यसपटक कथावस्तु मन पर्नुका साथै टिम अनुभवी रहेकाले निर्माताको रुपमा अगाडि आएको छु।’ 

उनले छुटिन नसक्ने र सँगै रहन पनि नसक्ने जोडीको प्रेम कथा हो ‘कुस्ती’ रहेको बताए। काठमाडौं रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट, मोफसल एफडी कम्पनीले प्रदर्शनका लागि वितरण गर्ने फिल्म आउँदो वर्ष २०८२ को भाद्रमा प्रदर्शन हुनेछ। 

पोस्टरमा उमङग शाहीको फोटोग्राफी र राकेश दाहालको पोस्टर डिजाइन रहेको छ।  

पुष १५, २०८१ सोमबार १७:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।