घाटु र सोरठी नाच्दै सर्प वर्गको स्वागतमा रमाए गुरुङ समुदाय

घाटु र सोरठी नाच्दै सर्प वर्गको स्वागतमा रमाए गुरुङ समुदाय

काठमाडौँ : आज सोमबार, तमु (गुरुङ) समुदायको ल्होसार अर्थात् नयाँ वर्ष। देशैभर गुरुङ समुदायको बाहुल्यता भएको क्षेत्र सँगै अन्यत्र पनि धूमधामका साथ मनाईदैछ यो पर्व।

देशका विभिन्न भागबाट आएर काठमाडौँमा बसोबास गरिरहेका तमु समुदायले सोमबार आफ्नो मौलिक तथा परम्परागत भेसभुसामा सजिएर सांस्कृतिक झाँकीसहितको र्याली निकालेका थिए।

वसन्तपुरबाट सुरु भएको र्याली टुँडिखेलमा आएर औपचारिक कार्यक्रममा बदलिएको थियो। टुँडिखेलमा जम्मा भएका तमु समुदायले आफ्ना परम्परागत घाटु, सोरठी, मारुनी, चुड्का जस्ता मौलिक नाच नाचेर ल्होसार मनाए।

विक्रम संवत् अनुसार प्रत्येक वर्ष पुसको १५ मा यो पर्व मनाउने गरिन्छ। ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु हो। अर्थात् तमु समुदायले आज मुप्री ल्हो (गरुड वर्ग) को बिदाइ र सप्री ल्हो (सर्प वर्ग) को स्वागत गरेर नयाँ वर्ष (तमु ल्होसार) मनाए।

गुरुङ समुदायले विभिन्न चराचुरुङ्गी र जनावरको नाम अनुसार १२ महिनालाई १२ वर्गको रूपमा मान्ने र गणना गर्छन्।

च्ह्यू ल्हो (मुसा वर्ग) बाट सुरु हुने गणना लों ल्हो (गाई वर्ग), तो ल्हो (बाघ वर्ग), ह्यू ल्हो (बिरालो वर्ग), मुप्री ल्हो (गरुड वर्ग), सप्री ल्हो (सर्प वर्ग), त ल्हो (घोडा वर्ग), ल्हु ल्हो (भेडा वर्ग), प्र ल्हो (बाँदर वर्ग), च्ह्या ल्हो ( चरा वर्ग), खी ल्हो (कुकुर वर्ग) र फो ल्हो (मृग वर्ग) गरी १२ वर्गमा गणना गरिन्छ।

तमु पात्रो अनुसार तमु ल्होसार २०८१ सर्प वर्ग अर्थ सप्री-ल्हो को वर्ष हो।

ल्होसारको अघिल्लो १४ गरेको साँझ नै आउँदो वर्ष सबैको लागि शुभ होस् भन्दै गुरुङ पुरोहित (खेगी) बाट विधिपूर्वक  पूजापाठ गरी १५ गते बिहानको झुल्के घाममा नयाँ वर्गको स्वागत गरी नयाँ वर्षको स्वागत गरिन्छ।

ल्होसारको दिन भने पारिवारिक भेटघाट, शुभकामना तथा आशीष आदानप्रदान, ढोग-भेट, भोज खुवाएर मनाइन्छ। 

पुष १५, २०८१ सोमबार १७:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।